कोरोना खोपबारे उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरूसँग छलफल
उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रीहरूसँग छलफल गरेका छन्।
शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग उपप्रधानमन्त्री पोखरेलले सामूहिक छलफल गरेका हुन्।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोना खोप ल्याउने सम्बन्धमा भइरहेको प्रगतिबारेमा जानकारी दिए। उनले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सीसीएमसीमा आवद्ध मन्त्रीहरूसँग सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिका बारेमा छलफल गरेका हुन्।
“समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो”, उपप्रधानन्त्री पोखरेलको भनाइ उदृत गर्दै उनका प्रेस सहयोगी लोकेन्द्र केसीले भने, “त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल गर्यौं।”
बैठकले कोभिड नियन्त्रण सम्बन्धित कामहरूको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय गरेको छ।
सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ती चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो।
साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका केही व्यवहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको छ। कोभिड कोषको खर्च विवरण जनतासमक्ष सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।