‘भर्चुअल किम्फले दर्शकको दायरा बढायो’
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौं संस्करण ‘भर्चुअल’ रूपमा चलिरहेको छ। बिहीबारदेखि शुरू भएको महोत्सव २९ मंसीरसम्म चल्नेछ।
कोरोना महामारीका कारण यसवर्ष किम्फ भर्चुअल गरियो। फेस्टिभलमा १५ मुलुकका १८ वटा चलचित्रहरू प्रदर्शनका लागि छानिएका छन्। त्यसबाहेक ‘नेपाल पानोरामा’ अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू देखाइनेछन्।
फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित ‘भर्चुअल’ अन्तरक्रिया र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन गरिने यी फिल्महरू भिमिओमा किम्फको वेबसाइटमार्फत हेर्न सकिनेछ।
भर्चुअल फेस्टिभलले दर्शको दायरा बढाएको किम्फका अध्यक्ष बसन्त थापाले बताएका छन्। उनका अनुसार हरेक दिन प्रदर्शन भएका फिल्म किम्फको वेबसाइटमा पाँच दिनसम्म हेर्न सकिनेछ।
फेस्टिभलको दोस्रो दिन शुक्रबार बाटो, द ग्रेट माइलस्टोन, हुन्जा स्की एण्ड कल्चर इन पाकिस्तान, अ नेपाली शर्ट फिल्म गाइड फर फिल्म फेस्टिभल, अ पेपर प्लेन, बेअर ट्रिज इन द मिस्ट, समय, संकुल र सङ अफ क्लाउडस् प्रदर्शन गरिएको छ।
यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन्।
निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनोट गर्नेछ।
अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः रू. २ लाख, रू. १ लाख ५० हजार र रू. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशि क्रमशः रू. १ लाख र रू. ७५ हजार रहेको छ।
यस वर्ष धेरै मुलुकका माउन्टेन फिल्म फेस्टिभलहरूले कोभिड–१९ का कारण भर्चुअल फेस्टिभलहरू गरिरहेका छन्। नेपालमा पनि पहिलोपटक भर्चुअल किम्फ गरियो। भर्चुअल किम्फ गर्दाको अनुभव र सिकाइबारे किम्फका अध्यक्ष बसन्त थापाले हिमालखबरसँग यसो भनेः
आज दोस्रो दिनसम्म आइपुग्दा प्रतिक्रिया राम्रै आइरहेको छ। हाम्रा लागि पनि नयाँ अनुभव थियो यो। डिजिटलमा आधारित भर्चुअल महोत्सव पहिलोपटक गरिएको हुनाले आफ्नै किसिमको धपेडी र व्यवस्थापन भयो। प्रविधिले धोका दिन्छ कि भन्ने पनि थियो। पहिलो दिन केही समस्या पनि भयो। तर, एककिसिमले अलि होलो पनि भएको छ, हामीलाई। धेपडी र दौडधुप कम नै भएको छ। तर, भौतिक रूपमा गर्दा जुन किसिमको माहोल र वातावरण हुन्थ्यो त्यो चाहिँ ‘मिस’ गरेका छौं। भौतिक उपस्थितिसहित हुँदा महोत्वसका रूपमा मान्छेहरूसँग भेटघाट हुन्थ्यो। हामीले फोटो प्रदर्शनी लगायतका अरु गतिविधि पनि राख्थ्यौं। चित्रकला, किताब प्रदर्शनी, हस्तकला र प्रतिस्थापन कलाका सामग्री राख्थ्यौं। यसले एक किसिमले किम्फमा मेला, पर्व वा महोत्सवको वातावरण सिर्जना हुन्थ्यो।
तर, कोरोना महामारीबीच पनि हामीले किम्फालाई निरन्तरता दिएका छौं। कतिले चाहिँ किम्फले कति राम्रो गर्यो भनेर प्रशंसा पनि गरिरहनुभएको छ। केही न केही त गर्यो, चुप लागेर बसेन भनेर ढाडस दिइरहनुभएको छ। निराश भएर, हरेश खाएर बसेन भनेर भन्नुभएको छ। यो निकै उत्साहवर्द्धक कुरा हो। यसले हामीलाई हौसला मिलेको छ। अर्को कुरा के हो भने यसले हामीलाई एउटा नयाँ सम्भावनातिर पनि निर्देश गरेको छ। हामीले फिल्महरू अपलोड भएको पाँच दिनसम्म हेर्न मिल्ने व्यवस्था मिलाएका छौं। यस हिसाबले अन्तिम दिनको फिल्म १९ तारेखसम्म हेर्न मिल्नेछ।
आउँदा दिनमा हामीले फिजिकल इभेन्ट गरेपनि साथसाथै भर्चुअल पनि गरे भैहाल्यो नि भन्ने भएको छ। भौतिक रूपमा उपस्थित भएर गरिने कार्यक्रम हलभित्र मात्र बसेर हेर्न पाइन्थ्यो। यो त दर्शकले जहाँ बसेर पनि हेर्न पाउने भए। यसरी हाम्रो दर्शक काठमाडौंमा मात्र भएनन्, विश्वभरी नै हुने भए। हामीले आफ्नो सन्देश, समाचार र सूचना राम्ररी प्रसार गर्न सक्यौं भने त सैद्दान्तिक रूपमा दर्शकहरूको संख्या अथाह हुने भयो। हामीले कति पहुँच पुर्याउन सक्छौं त्यो अर्को कुरा हो। तर, यो पनि सम्भावना देखाएको छ। भविष्यमा अवस्था सामान्य होला र पहिलेझैं भौतिक रूपमै कार्यक्रम गर्छौं। त्यसको सँगसँगै भर्चुअल संस्करण पनि सँगै गर्न सकिने रहेछ भन्ने हामीलाई बोध भएको छ। समग्रमा भन्दा यसले हामीलाई सकारात्मक ऊर्जा नै प्रदान गरेको छ।