नाल्मा गाउँको बेग्लै रामायण
लमजुङ, नाल्मा गाउँका आइतमान बिकले गाएर सुनाएको रामायणको कथाका कतिपय पात्र र चरित्र वाल्मीकि रामायणसँग पटक्कै मेल खाँदैनन्। वानर सेना, मन्थराको उपस्थिती नभएको बरु शिवजी भेटिएको रामायणको रचना किन र कसरी सम्भव भयो त ?
नेपालमा थुप्रै समुदायमा रामायण र महाभारत जस्ता मिथकका बारे गीत गाउने चलन रहेको छ। लोकसाहित्य र मिथकका भारतीय अध्येता एके रामानुजनले यस्ता मिथकलाई ‘लोक पुराण’ भनेका छन्। उनले बताएका कन्नाडा लोक पुराणका विशेषताहरू नेपालका लोक पुराण परम्परासँग पनि मिल्न आउँछन्।
रामानुजन भन्छन्, “त्यस्ता लोक पुराण कुनै एक देवताप्रति समर्पित समूहका मानिसले रीतपूर्वक सिकेका हुन्छन्, र विशेष धार्मिक दिनमा मञ्चन गर्ने गर्दछन्। त्यस्तो प्रस्तुतिका लागि विशेष बाजा प्रयोग गरिन्छ, प्रयोग नगरिएका बेला ती बाजालाई पूजा गरेर राखिन्छ। त्यस्ता पुराण अक्सर संसारको सृष्टिको मिथकबाट शुरू हुन्छन्।”
यस्ता ‘लोक पुराण’ नेपालमा पनि थुप्रै भेटिन्छन्, अनि हरेक समुदायका गीतमा समाज र आफूलाई हेर्ने दृष्टिकोण फरक देखिन्छ। लोक विश्वासमा आधारित त्यस्ता पुराण संस्कृतको मूलपाठ भन्दा फरक पनि हुन सक्छन्। रामानुजन त लोक पुराणले संस्कृत मूल पाठलाई नै चुनौती दिइरहेको तर्क गर्छन्। “लोक पुराणले मूल पाठकै जस्तो पात्र र घटनाक्रम प्रयोग गर्न सक्छन्, तर त्यसको अर्थ भने उल्टो लगाउन सक्छन्”, उनी भन्छन्।
के त्यस्ता लोक पुराणमध्ये पनि दलित समुदायमा पाइने पुराण अझै फरक हुन्छन् ? के तिनका छुट्टै विशेषता हुन्छन् जसका माध्यमबाट तिनीहरूको पहिचान गर्न सकिन्छ? तिनीहरूले कसरी मूलधारमा प्रचलित वा संस्कृतको मूलपाठमा भेटिने मिथकको अर्थ बदलिन्छन्? यो अध्ययनकै विषय बन्नसक्छ।
लमजुङको नाल्मा गाउँका गायक आइतमान बिकले यो पंक्तिकारलाई रामायणको एउटा फरक संस्करण सुनाए। उनका अनुसार, पहिलेपहिले वर्षको चार–पाँच पटकसम्म गाउँका धार्मिक समारोह, विवाह, व्रतबन्ध आदिमा रामायण गाउन जाने गरेको तर अहिले भने वर्षको एकपटक पनि विरलै हुने गरेको छ। “हामी बाजाहरू लिएर गाउने, बजाउने, नाच्ने टोली नै लिएर गाउँ गाउँ जान्थ्यौं”, उनले गत वर्ष मलाई भेट्दा मलाई बताएका थिए।
गीत सुन्ने र उनीबाट सिक्ने कम हुँदै जाँदा बिकले आफ्ना भतिजाको सहयोगमा त्यो रामायणको संस्करण लेखेर राखेका रहेछन्। त्यो कापी हेर्दै उनले मलाई गीतका केही चरण गाएर सुनाएका थिए, जुन श्रवणकुमारबाट शुरू हुन्छ।
लैजाउ हो रे बालै हो काशीको तीरैमा
काशीको तीरैमा तिरिथैमा होला
दाहिनुमा काँध यान्दा बावैं काँध यान्दी
पानीको लायो पियास मेरो बालै पानीको लायो पियास
वाल्मीकि रामायण रामको कथाबाट शुरू हुन्छ जहाँ श्रवणकुमार सहायक पात्र हुन्। बिकले सुनाएको रामायणको कथा भने श्रवणकुमारको तीर्थयात्रा र उनका बाबुआमाको बढ्दो प्यासमा केन्द्रित छ।
बाबुआमालाई एक ठाउँमा राखेर श्रवणकुमार पानी लिन जान्छन्, तर दशरथको बाण लागेर उनको मृत्यु हुन्छ। उनका बाबुआमा उनलाई पर्खिरहेका हुन्छन्।
बालै मेरो सरिवन कता हुनु गयो
हामी यान्दा यान्दीको कौनो गती भयो
कि त खायो सिंगए राजाले कि त हा¥यो दशरथले
पुत्रको सोगले धुरुमा धुरु रोए बिना पुत्र बालै कैसोमा सोग
बिकले सुनाएको रामायण कथा र रामायणको परिचित संस्करणमा बिस्तारै निकै फरक देखा पर्दै जान्छ। कथामा श्रवणकुमारकी आमा दशरथकी दिदी हुन्छिन्।
श्रवणकुमार मरिसकेपछि दशरथले उनीहरूलाई जंगलमा भेटेर पानी खाने आग्रह गर्न थाल्छन्। तर उनीहरू श्रवणकुमार नआई पानी नखाने जिद्दी गर्छन्। दशरथले श्रवणकुमार मरिसकेको कुरा बताउँछन्, र आफ्नो भानिजलाई मारेर पाप गरेको भन्दै आफूलाई श्राप दिन आग्रह गर्छन्।
पानी खाउ न दिदै पानी खाउ न पछि आउँछन् सरिवन पानी खाउ न
जइले उ आउला सरिवन पुत्र उइलेइ खाउँला पानी
सिव सिव ए हो रमये राम भानिजलाई बाणै पो लाग्यो
एकरो तुम्बा गुतुमा गुतु दोसरोमा छोडिलैसु बाण
मिर्गै काँ नेरो पसो भानिजलाई बाणै पो लाग्यो
सरापै देउन मलाई मेरो दिदी सरापै देउ न
श्रवणकुमारका बाबुआमाले भने पहिले आफूलाई काशी लैजानुपर्ने अनि मात्रै श्राप दिने बताउँछन्। त्यहाँ पुगिसकेपछि भने दशरथको मन फेरिन्छ। उनी भन्छन्, “मैले तिमीहरूलाई यहाँसम्म ल्याइसकें, अब के को श्राप ?”
उता श्रवणकुमारलाई जुन बाण लागेको हुन्छ, त्यो बाणलाई दशरथले घोटी घोटी पानीमा बगाउँछन्। बग्दै जाँदा एउटा सहर जातको माछाले त्यो बाणलाई खान्छ।
अयोध्यामा त्यो माछालाई एकजना मछुवाराले भेटेर दशरथको दरबारमा लान्छन्। दशरथले त्यो माछा खाँदै गर्दा माछाको काँडाले उनलाई बिझाउँछ, र उनीलाई विष लाग्छ। उनी रातभरि सुत्न सक्दैनन्। कुनै पनि वैद्यले उनलाई निको पार्न सक्दैन।
यो कथामा कैकेयीलाई बोक्सी अर्थात् टुनामुना जान्ने भनिएको छ। कैकेयीले भरतलाई राजा बनाउने वाचा गरेमा काँडा झिकिदिने प्रस्ताव गर्छिन्। प्रस्ताव स्वीकारेपछि दशरथ निको हुन्छन्।
रामलाई वनवासको खबर उनले वा कैकेयीले दिंदैनन्, बरु दशरथले त्यो कुरा लेखिदिन्छन्।
हात लियो खरिपाटी बाबा दशरथले लेख्यो
बाबा दशरथले बनिबास लेख्यो
हेर दाजै सँघारैमा लेख्यो बनिबास हेर दाजै
कैसेमा गरी पीर सहनी यजुदेमा कैसेमा गरी
हात लियो खरिपाटी बाबा दशरथले लेख्यो
बाबा दशरथले बनिबास लेख्यो
निकैबेर यो बुबाको लेखाइमाथि दुःखमनाउ गरेपछि राम, सीता र लक्ष्मण वनवास लाग्छन्। भरतले रामका खराउ माग्छन्।
जंगलमा सुनौलो हरिणको रूपमा मारिच नभएर रावण आफैं आउँछन्। रामलाई कतै झुक्याएर उनी सीतालाई लिन आइपुग्छन्। लक्ष्मणले सीतालाई भष्मको रेखी नकाट्नु भन्ने चेतावनी दिएका हुन्छन्। तर रावणले सीतालाई चुनौती दिन्छन्, रामप्रति तिमी इमानदार छौ भने तिमीले यो रेखा काट्न डराउनुपर्दैन। रामको अपमान सहन नसकेर सीताले रेखा काट्छिन्, र अपहरित हुन्छिन्।
यो बिन्दुमा आएर यो गीत सकिन्छ। आफ्ना पुर्खाबाट यो कथा यत्ति नै सिकेको बिक बताउँछन्। तर रामायणको कथा त यत्तिमा सकिंदैन। यसपछिको कथा भने बिकले उनले गाएर होइन बोलेर सुनाएका थिए।
यो कथाको एउटा प्रमुख विशेषता के हो भने, यसमा सुग्रीव र वानर सेना छैनन्। बरु, रामले सीताको खोजीमा हिंड्दै गर्दा एउटा बगैंचा देख्छन्, र लक्ष्मणलाई त्यहाँबाट फल ल्याउन भन्छन्। त्यो बगैंचा शिवजीको हुन्छ, र हनुमानले त्यसको रक्षा गरिरहेका हुन्छन्। लक्ष्मण र हनुमानको युद्ध हुन्छ, दुवै बेहोश हुन्छन्।
पछि रामले लक्ष्मणलाई र शिवले हनुमानलाई जगाउँछन्। शिवलाई पनि कुष्ठरोग लागेको हुन्छ, र रामले छोएमा निको हुने बताइएको हुन्छ। रामको स्पर्शले निको भएपछि उनले बल्ल रामलाई चिन्छन्, र हनुमानलाई रामको मद्दत गर्न पठाउँछन्।
हनुमान माहुरीको रूपमा लंका पुग्छन्, र सीतालाई अशोकवाटिकामा भेट्छन्। लंकाबाट फर्किने बेला उनले रावणलाई आफूलाई दूधमा डुबाइदिन भन्छन्। तर उनले त्यो दूध सबै पिइदिन्छन्।
त्यसपछि रावणको सेनाले उनको पुच्छरमा आगो लगाउँछ। आगो जे गरे पनि निभ्दैन, समुद्रमा डुबाउँदा पनि निभ्दैन। अन्त्यमा उनी भाउजू सीताकोमा जान्छन्, र सीताको काखमा टाउको राखेर सीतालाई एक थोपा आँसु खसाल्न भन्छन्। सीताको आँसुले हनुमानको पुच्छरको आगो निभाइदिन्छ, र उनी फर्किन्छन्।
पछि समुद्रपार गर्ने पुल बनाउने वानर सेना नहुँदा रामले नै आफ्ना बाणहरूको पुल बनाउँछन्, रावणलाई मार्छन्, र सीतालाई फिर्ता ल्याउँछन्। कथाको यो भागमा भने बिकसँग धेरै विवरण थिएनन्।
यो कथा रामायणको मूल पाठभन्दा धेरै अलग देखिन्छ। त्यसका केही अंशले यो संस्करण दलित समुदायको हो भन्ने इंगित गर्छन्।
लेखाको शाब्दिक अर्थ
भाग्यलाई हामीले अनौपचारिक रूपमा भावीको वा छैटीको लेखा पनि भन्ने गर्छौं। वाल्मीकि रामायणमा राम वनवास पठाइनु उनको दुर्भाग्य हो, त्यसमा उनको केही गल्ती छैन।
भनौं, उनको भाग्यको लेखा हो। तर यहाँ भने खरिपाटी नै उठाएर रामका बुवाले वनवास लेखेका हुन्छन्, र कोठाभित्र पस्दा रामले त्यो लेखाइ देख्छन्। भाग्यको लेखाको विम्बलाई यहाँ प्रतीकात्मक रूपमा नभएर प्रत्यक्ष देखाइएको जस्तो लाग्छ।
लोकनायक हनुमान
बिकले सुनाएको कथामा हनुमानले लंका गएर वाल्मीकि रामायणमा भन्दा बढी बदमासी गरेको देखिन्छः आफूलाई डुबाउन राखेको दूध सबै पिइदिने, आदि इत्यादि। यसबाट हनुमानको चरित्र यो समाजमा निकै लोकप्रिय रहेको, उनी बारे अनेक किस्सा बनेका र उनी मिथकबाट निस्केर लोकनायक बनिसकेको देखिन्छ।
सीतासँगको उनको निकट सम्बन्ध पनि वाल्मीकि रामायण भन्दा केही फरक छः देवीप्रतिको भक्ति जस्तो नभएर दुई सामान्य मानिसबीचको स्नेहपूर्ण सम्बन्ध जस्तो देखिन्छ। हनुमान सीताको काखमा गएर सुत्नु र सीताको एक थोपा आँसुले उनको आगो निभ्नुले उनीहरूको प्रेमपूर्ण सम्बन्ध देखिन्छ, जबकि अन्यत्र हनुमानको सीताप्रति आदर र सम्मानभाव बढी देखिन्छ।
पौराणिक घटनाक्रमको फरक अर्थ
वाल्मीकि रामायणमा जस्तै यहाँ पनि रामलाई रोगव्याधि वा श्रापबाट मुक्ति दिने देवतुल्य मानिसका रूपमा चित्रण गरिएको छ। वाल्मीकि रामायणमा पत्थर बनेर बसेकी अहिल्यालाई रामले मुक्ति दिन्छन् भने यहाँ कुष्ठरोग (बिकको शब्दमा कोढी) लागेका भगवान शिवलाई रामले निको पार्छन्।
शिवमाथि पनि रामको प्रभुत्व देखाउने यो संस्करण रामका भक्त सम्प्रदायमा वा रामभक्ति निकै प्रभावशाली भइसकेको समाजमा रचिएको देखिन्छ। रामानुजनले भनेजस्तै ‘पौराणिक घटनाक्रम लिएर त्यसको अर्कै अर्थ निकाल्ने काम’ यहाँ भएको देखिन्छ। रामायणको अहिल्या काण्डको घटनाक्रम यहाँ स्पष्ट देखिन्छ, तर यसको प्रयोग भने नारीलाई बदचलन देखाउनका लागि होइन कि रामलाई अर्का देवता भन्दा श्रेष्ठ र बढी शक्तिशाली देखाउनका लागि प्रयोग गरिएको छ।
सीताको चरित्रचित्रण
वाल्मीकि रामायणमा लक्ष्मणरेखा छैन, तर त्यसपछि रामायणका संस्करणले कथामा लक्ष्मणरेखाको थप एउटा पत्र थपिदिएका छन्। लाग्छ, घटनाक्रमका लागि सीतालाई दोष लगाउनका निम्ति मात्रै लक्ष्मणरेखा थपिएको हो, किनकि आफू एक्लै हुँदा रावणले अपहरण गरेर लानुमा सीताको कुनै दोष देखिंदैन, तर रेखा नाघेर जानुमा सीताको दोष देखिन्छ।
यस गीतले भने अर्को एक पत्र थपेर सीतालाई त्यो दोषारोपणबाट बचाएको छ। रावणले उनलाई रामको नाम लिएर चुनौती दिएपछि उनले रेखा नकाटी धर पाउँदिनन्। यस अर्थमा यो संस्करण रामायणका थुप्रै संस्करण भन्दा सीताप्रति बढी नरम छ।
वानरको अभाव
यो रामायणको कथामा वानर सेनाको प्रसंग नै छैन। हुन त एके रामानुजनले ‘थ्री हण्ड्रेड रामायणाज’ शीर्षकको निबन्धमा रामायणका निकै फरक फरक संस्करण भेटिएको उल्लेख गरेका छन्, तर यस किसिमको, सुग्रीव, बाली र वानर सेना विनाको रामायण अन्त कतै भेटिएको छ, छैन ? अनुसन्धानकै विषय हो।
वानर सेना नहुँदा रामायणको कथामा केही फरक देखापर्छ। समुद्र तर्ने पुल बनाउने वानर सेना नहुँदा राम आफैंले बाणको पुल बनाउँछन्। त्यसैले यो कथामा ‘रामको नाम लेखेपछि ढुंगा पनि पानीमा तैरिन्छ’ भन्ने अविश्वसनीय अवधारणा छँदैछैन।
कैकेयीको चरित्र चित्रण
वाल्मीकि रामायणमा कैकेयी बहादुर र अबोध महिला जस्ती देखिन्छन्। युद्धमा दशरथको ज्यान बचाएपछि दशरथले उनलाई दुईवटा वर दिने प्रस्ताव गर्छन्, तर उनी चाहिएको बेला माग्छु भन्दै त्यसलाई पछि सार्छिन्। पछि मन्थराको कुरा सुनेर उनी वरदानको उपयोग गर्छिन्। र उनको वरदानले श्रवणकुमारका बाबु आमाको श्राप पूरा गर्ने भूमिका खेल्छ।
यो कथामा भने कैकेयी निकै चलाख देखिन्छिन्। दशरथ विषले छटपटाइ रहँदा उनले वर माग्ने मौका छोप्छिन्। भरतलाई राज्य दिने शर्तमा उनी दशरथको हातमा गढेको काँडा झिकिदिन्छिन्।
यहाँ कैकेयीका कदम बारे कुनै पूर्वाभास छैन। न यो पछिल्लो समयमा दिइएको वरदानको फल हो, न त यसले श्रवणकुमारका बाबुआमाको श्राप पूरा गरिदिने भूमिका खेल्छ। उनले नितान्त आफ्नै निर्णयमा यो कदम चालेकी हुन्।
वाल्मीकि रामायणमा भन्दा यो संस्करणमा एक महत्वाकांक्षी महिलाको यथार्थपरक चित्रण देखिन्छ, र उनको व्यवहारको औचित्य पुष्टि गर्न विभिन्न ‘प्लट टुल्स’ को प्रयोग गरेर उनलाई सकारात्मक देखाउने प्रयास गरिएको छैन।
मन्थराको अभाव
मैले आइतमान बिकलाई यो कथामा मन्थराको भूमिका बारे सोधेकी थिएँ। तर बिकले त मन्थराको नाम समेत पनि सुनेका रहेनछन्। रामायणका विभिन्न संस्करणमा के छ मात्रै होइन, के छैन भन्ने कुराले पनि त्यसको विशेषता देखाउँछ।
अधिकांश रामायणमा मन्थरालाई कैकेयीलाई रामलाई वनवास पठाउन उक्साएकोमा नकारात्मक चित्रण गरिन्छ। रामको वनवास र त्यसपछि पुत्र वियोगमा भएको दशरथको देहान्तका लागि अक्सर मन्थरालाई दोष लगाइन्छ।
मन्थरा दलित पात्र हुन्, र यो गीत दलित गाउँमा भेटिएको हो। मलाई लाग्छ, यहाँ मन्थराको अभाव हुनु संयोग मात्र होइन। हरेक समुदायका साहित्यमा आफूलाई सकारात्मक देखाउने, र नकारात्मकता अरू पात्रमा सार्ने प्रयास गरिन्छ।
अभिजात्य समाजहरूमा प्रचलित रामायणमा स्वाभाविक रूपमा राजा र रानीको दुष्कर्मको भार दलित पात्र मन्थरालाई बोकाइएको छ। यता दलित समुदायमा प्रचलित रामायणमा मन्थराको पात्र नै नहुनु, र रामायणका भएजति नकारात्मकता अर्थात् रामको वनवास र पुत्र वियोगमा दशरथको देहान्तका लागि राजारानी आफैं जिम्मेवार देखाइनु निकै रोचक छ।
भाग्य र कर्मको प्रश्न
रामायणको मूल पाठमा दशरथले एक दुर्घटनाको सजाय भोग्न पुगेका हुन्छन्। उनले श्रवणकुमारलाई झुक्किएर प्रहार गर्छन्। तर पनि श्रवणकुमारका बाबुआमाले उनलाई पुत्र वियोग सहनुपर्ने श्राप दिन्छन्।
यो कथामा भने दशरथले आफ्नै कारणले दुःख पाएका छन्। उनले अफ्नो गल्तीको लागि क्षमा मागेर श्राप पनि मागिसकेका हुन्छन्, तर पछि फेरि त्यसबाट तर्किन खोज्छन्। भानिजलाई लागेको बाण नदीमा बगाइदिन्छन्, र दिदी भिनाजुलाई काशी पुर्याएर ‘केको श्राप ?’ भन्दै उनी भाग्छन्।
यस संस्करणमा कर्मको अवधारणालाई मूल पाठमा भन्दा अझ राम्रोसँग प्रयोग गरिएको देखिन्छ। वाल्मीकि रामायणमा दशरथले बेकारमा सजाय पाउँदा न्यायोचित लाग्दैन। तर यहाँ भने उनी आफ्नै निष्ठुर व्यवहारका कारण सजाय पाउँछन्। कर्मको फल अवश्य पाइन्छ भन्ने सन्देश यहाँ देखिन्छ। कैकेयीले त त्यसको फाइदा मात्र उठाउँछिन् र मन्थरा छँदै छैनन्।
पूर्वाभास र नियति
वाल्मीकि रामायणमा कथा सीधै, क्रमिक रूपले अघि बढ्छ भने रामायणको यो संस्करणमा पात्रहरूलाई धेरै कुराको पूर्वाभास भइसकेको हुन्छ। रामायणका धेरै लोक संस्करणमा यस्ता पूर्वाभास वा भविष्यबाणी थपिएका पाइन्छन्।
उदाहरणका लागि, श्रवणकुमारले पानी खोज्दै जाँदा सूत्रधारले दर्शकलाई भन्छन्, “जहाँ होला दशरथ उहीं होला पानी।” अर्थात्, पानीको छेउमा दशरथसँग उनको भेट हुने कुराको पूर्वाभास यहाँ पाइन्छ।
श्रवणकुमारका बाबुआमाले उनी कहाँ होलान् भनेर सोध्दै गर्दा उनीहरूलाई श्रवणकुमार मरिसकेको थाहा भइसकेको जस्तो देखिन्छ, “कि त खायो सिंगए राजाले, कि त हा¥यो दशरथ राजाले।” अर्थात्, छोरोलाई कि त सिंहले खायो, कि त सिंहसँग हारेका दशरथ राजाले उनको प्राण लिए। लाग्छ कि दशरथ त्यतैतिर शिकार खेल्दैछन् र उनको बाण छोराको लागि घातक हुनसक्छ भनेर उनीहरूलाई पहिल्यै थाहा छ।
हरिणको खोजीमा हिंडेका दाइको पछि लक्ष्मण लाग्दा उनी सीतालाई चेतावनी दिन्छन्–भष्मैको रेखीमा टेकी जोगियालाई भिख नदिनू। अर्थात् भष्मको रेखी नाघ्न लगाउने जोगी आउँछ भन्ने उनलाई पहिल्यै थाहा छ।
यति धेरै पूर्वाभास भए तापनि पात्रहरूले अन्त्यमा कस्तो फल पाउँछन् भन्ने कुरा उनीहरूको भाग्यमा नभएर कर्ममै भर परेको देखिन्छ। भाग्य त छँदैछ, तर आफ्नै निर्णय अनुसार पात्रहरूले चालेका कदमले नै भाग्यलाई चरितार्थ गराउँछन्।
रामायणका थुप्रै संस्करणले पात्रहरूको नकारात्मक कामहरूलाई ‘भाग्य’ वा ‘लेखान्त’ वा ‘भगवानको लीला’ भनेर तिनीहरूको सकारात्मक चित्रण गर्ने प्रयास गरेका हुन्छन्। जस्तै, रामलाई सीता नचाहिएको भए किन युद्ध लड्नुपर्यो ? वा हनुमानसँगै लंकाबाट सीता किन फर्किनन् ? भन्ने प्रश्नहरूको जवाफमा ‘किनकि रावणको विनाश गरेर धर्तीबाट पाप हटाउनु थियो’ जस्ता उत्तरहरू भेटिन्छन्। अर्थात् कथाको पछाडि आउने किस्साको प्रयोग गरेर अगाडिका घटनाको औचित्य पुष्टि गरिन्छ, र पात्रका कमी–कमजोरी लुकाउने वा सकारात्मक छवि दिने कोशिश गरिन्छ।
भक्तिभावपूर्ण भएका मानिसलाई यस्ता स्पष्टीकरणले चित्त बुझाउन सक्छन्, तर सामान्य उत्सुकता भएको मानिसलाई, वा यो कथालाई ईश्वरले रचेको शाश्वत सत्य नमानेर समाज दर्शाउने कथाका रूपमा बुझ्न खोज्नेलाई भने यस्ता व्याख्या अपुरो लाग्छन्।
तर बिकको यो संस्करणमा भने त्यस्तो प्रयास वा औचित्य पुष्टि गर्ने प्रयास गरिएको छैन। त्यसैले यहाँ हामीले यथार्थसँग नजिक पात्रहरू भेट्छौं, वास्तविक भावना र केही मात्रामा जीवनमा हुनसक्ने सम्भाव्य घटनाहरू देख्छौं। भाग्य, ईश्वरको लीला वा नियति भन्दा पनि कर्म नै प्रमुख देखिएको यो संस्करणले मानिसको आफ्नै निर्णय क्षमता, विवेक र सत्कर्ममा जोड दिन्छ।
नाल्माको देन !
लमजुङको नाल्मा गाउँमा भेटिएको रामायणको यो संस्करण नेपालमा वा नेपाल बाहिर अन्त पनि गाइन्छ ? के ती अझै भेटिन्छन् ?
वानर सेनाको अभाव, शिवजीको उपस्थिति जस्ता पात्र र कथानक समेटिएका रामायणका गीत अझैं बाँकी छन् कि छैनन ? ति गीतले हामीलाई गीत रचना गर्ने समाजका बारेमा के बताउन सक्छन् ?
के विश्वका रामायणहरूको अध्ययनमा नाल्माको रामायण नेपालको विशिष्ट देन हुनेछ ? यी सबै प्रश्न र खुल्दुलीको उत्तर कुनै दिन पाइएला भन्ने आशासम्म भने गर्न सकिन्छ।
आइतमान बिकले सुनाएको रामायणको पूर्ण पाठ
उतपन्न भयो हाइ धरती
धरती पछि उतापन्न भयो दशुरथ राजा
ओ दशुरथ राजैको याजुदेमा दरिबार
दशुरथ राजैका दिदी र भेना यान्दा र यान्दी पो होलान् कि?
बीज बीज वनैमा जलै पोखरी खनाए
पोखरी सो खनीमा खनी सुनै मौलाको बन्यो कि
लैजाउ हो रे बालै हो काशीको तिरैमा
काशीको तिरैमा तिरिथैमा होला
दाहिनुमा काँध यान्दा बावैं काँध यान्दी
पानीको लायो पियास मेरो बालै पानीको लायो पियास
धरतीमा राखौं सिँगले खाला
याकाशए राखौं जटायु पंखीले खाला
काँ होला लोकै हो पानीको पोखरी
जहाँ होला दशरथ उहीँ होला पानी
बालै मेरो सरिवन कता हुनु गयो
हामी यान्दा यान्दीको कौनो गती भयो
कि त खायो सिंगए राजाले कि त हार्यो दशरथले
पुत्रको शोकले धुरुमा धुरु रोए बिना पुत्र बालै कैसो नसोग
गर रायो गरानी बिज रयो हरनी माझ रयो पँधेरी
पानी खाउ न दिदै पानी खाउ न पछि आउँछन् सरिवन पानी खाउ न
जइले उ आउला सरिवन पुत्र उइलेइ खाउँला पानी
सिव सिव ए हो रमये राम भानिजलाई बाणै पो लाग्यो
एकरो तुम्बा गुतुमा गुतु दोसरोमा छोडिलैसु बाण
मिर्गै कानेरो पसो भानिजलाई बाणै पो लाग्यो
सरापै देउन मलाई मेरो दिदी सरापै देउ न
दाइनो काँध यान्दा बायैं काँध यान्दी राखेर
सरिवन पुगे तीनजनालाई काँसी पुर्याउ तबो दिम्ला सराप
काँसीको तिरैमा आइपुग्यो दिदी केको सराप मलाई केको सराप
सुइरोमा बाण घोटीमा घोटी नदीमा बगायो
चरण जाला खेलानी हो जलहरी हो सहरै माछा भेट्यो कि
जाल खेल्ने जल्यानी मछ्यौडीको व्यापार
सहरै माछा मारी ल्यायो राजै दरिबार सुहायो
सहरै माछा आङैमा चिरी अंगुली बाण बिझ्यो
मोरनुभयो बालै मोरनुभयो अंगुलीको पीरैले मोरनुभयो
ओखती र विखती घोटीमा घोटी लगाइदिए देवर गोसाइँ
वैद्य बोलाई लेउ रामै वैद्य बोलाई लेउ
जाउ न बालै रामैजी हो वैद्य बोलाई लेउ
पहिलीको पार सुमिन्द्राको शेष
रातीको नीदरये दिउँसैको भोकले सकिन मैले
दोसरये पार कौशिलाको शेष
रातीको नीदरये दिउँसैको भोकले सकिन मैले
तीसरये पार केकयीको शेष
रातीको नीदरये दिउँसैको भोकले सकिन मैले
भरतलाई देउन राजै मेरो प्रभुज्यू भरतलाई देउन राजै
एकाली वाचा बाँधीमा सक्यो
दुइताली वाचा बाँध्यो
तीनै ताली वाचै बाँध्यो
भितरै पस्यो रामैचँदरै लछुमनले देख्यो
हात लियो खरिपाटी बाबा दशरथले लेख्यो
बाबा दशरथले बनिबास लेख्यो
हेर दाजै सँघारैमा लेख्यो बनिबास हेर दाजै
कैसेमा गरी पीर सहनी यजुदेमा कैसेमा गरी
हात लियो खरिपाटी बाबा दशरथले लेख्यो
बाबा दशरथले बनिबास लेख्यो
माथैको पगरी यजुदेमा राखी जानै लागे रामैजी
तिमी त दाजै गए पनि तिम्रो कठपाउ छोडिराख न
धिरामा धिरा चले रामै लछुमन
पुर्वमा जाउँ भने सूर्यको ताप
पश्चिम जाउँ भने अञ्जनी माइको सराप
ओ सोह्र कोषे फुलबारी सुनै हरिनले खायो
न त डाँठै खावइला न त रसा खावइला
भषमको रेखीमा टेकी जोगियालाई भीग नदिनु
हाँसुले र पाँडुले दोनो कुत्ता लिइ सुनै हरिनको शिकार खेल्न गए
तिमी त आय देवर गोसाइँ दाजै रामलाई कहाँ छोड्यो
दाजै त गए हरिनको पछि हामी त घरैको रखुबारमा
यानारूपको जोगी आयो घरैघरै भिगिया मागनु लायो
लंकाको रामुन्ने जोगियाको रूप धरी भीग मागनु लायो
देउ न अमा ए हो चामुल भिगिया देउ न माइ
सुवर्णको थालीमा मुगामाथि अछेता
ए हो थाप जोगी भिगिया सुवर्णको थालीमा
जाउ वीरा हनुमान लंकाको रमिता हेरी अउनु
अशोकाको वनैमा शीशवनको फेदैमा
एहो राछेसनीले घेरेर सीताजीलाई राखेको