कैलाश र मनाङ हेलिकप्टरलाई कोभिडका बिरामी बोक्न अनुमति
कैलाश हेलिकप्टर सार्भिसेस र मनाङ हेलिकप्टर प्रालिले नेपालका जुनसुकै स्थानबाट कोरोनाभाइरस संक्रमित (कोभिड–१९ का बिरामी)लाई उपचारार्थ आवश्यक उद्धार उडानको सेवा दिने भएका छन्।
यी हेलिकप्टरले कोभिडका बिरामी बोक्ने गरी नेपाल नागिरक उड्डयन प्राधिकरणबाट शुक्रबार (२६ मंसीरमा) अनुमति पाएका हुन्। अब शनिबारदेखि नै काेभिडका बिरामीलाई सेवा दिने दुवै कम्पनीले जनाएका छन्।
स्वास्थ तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ संगठनको आवश्यक नीति निर्देशनको पालना गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उद्धार उडानको अनुमति पाएको कैलाश हेलिकप्टरले जानकारी दिएको छ।
कोभिडका बिरामीलाई स्वास्थ सुरक्षा निर्देशनको पूर्ण पालना गर्दै आवश्यक उपचार गर्न तोकिएको अस्पतालसम्म लैजान पाउने गरी चार्टर्डको सेवा दिनेछन्।
प्रतिष्ठित अस्पतालको स्वास्थ विज्ञहरूको टोली, कोभिड बिरामी बोक्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त कम्पनीद्वारा निर्मित प्यासेन्ट आइसोलेसन युनिट तथा आवश्यक स्वास्थ समाग्री सहित संक्रमित कोभिडका बिरामीहरूलाई सेवा दिने हेलिकप्टर कम्पनीले जनाएका छन्।