‘संसदीय समितिका निर्देशन सरकारले पालना गर्नैपर्छ’
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी छन्।
समितिले दिएको निर्देशन विपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताएकी हुन्।
सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निर्देशनहरू पालना गर्नुपर्ने बताइन्। समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ।
पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि समितिले दिएका निर्देशनहरू सरकारले पालाना गरे नगरेको भन्ने सम्बन्धमा समिति आफैलें कार्यप्रगति मूल्याङ्कन गरी संसदसमक्ष पेश गरी छलफल गराउन सक्नुपर्ने बताउँछन्।
तर, सरकारले कुनै निर्देशन कार्यान्वयन नगरेमा समितिका सभापतिहरू विभिन्न मिडियामा कुरा उठाउने तर, नियमावलीले दिएको प्रावधान अनुसार कार्यप्रगति मूल्याङ्कन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरूलाई सरकारले बेवास्ता गरिरहेको उनले बताए। कुनैपनि निर्देशन कार्यान्वयनमा नगए तत्काल समितिको बैठक बोलाएर छलफल चलाउन सक्नुपर्ने पनि पूर्वसचिव शर्माले बताए।
समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गत बुधबार निर्देशन दिएको थियो। गृहमन्त्री थापालाई निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।
समितिको बैठकमा अधिकांश सांसदहरूले गलत विधिबाट निर्णय भएको भन्दै खारेज गर्न निर्देशन दिनुपर्ने बताएपछि कार्यान्वन गर्न समितिले निर्देशन दिएको थियो।