‘सगरमाथाको उँचाइमा अब कसैले प्रश्न उठाउन सक्दैन’
“नेपालको हिमालमा यो सफलता एउटा कोसेढुङ्गा नै हो। संसारले हामीले गरेका काममा ‘कमेन्ट’ गर्न नसक्ने सफलताको कार्य पनि सर्भेयर आफैं चुचुरोमा पुगेर सगरमाथाको मापन गर्नु नै हो। जसले गर्दा यसबाट आएको तथ्य पनि संसारले प्रश्न उठाउन नसक्ने र आधिकारिक आएको हो।”
सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधिक जनशक्तिबाट सर्वोच्च शिखर सगरमाथाको उँचाइ मापन गरेको छ। वर्षौंदेखि सगरमाथाको उँचाइ ८८४८ मिटर मानिएको थियो। जसलाई विदेशीले मापन गरेका थिए। पछिल्लोपटक वि.सं २०७२ को विनाशकारी भूकम्प, भौगर्भिक हलचल, वातावरणीय प्रभावसहितको प्राकृतिक कारणले सगरमाथाको उँचाइमा परिवर्तन आएको आकलन गरियो। अनि, सरकार आफैंले सगरमाथाको उँचाइ मापन गर्ने निर्णय गर्यो। र, सरकारी प्रयासले हालै सार्थकता पनि पाएको छ। सगरमाथाको उँचाइ मापन टोलीको नेतृत्व नापी विभागका प्रमुख नापी अधिकृत (उपसचिव) खिमलाल गौतमले गरेका थिए। गौतम संयोजकत्वको टोलीले पाएको सफलतासँगै सरकारले २३ मंसीर २०७७ देखि सगरमाथाको उँचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर पुगेको औपचारिक घोषणा गर्यो। सगरमाथाको उँचाइ मापन र चुनौतीका विषयमा केन्द्रित रहेर हिमालखबरका राजु बास्कोटाले गौतमसँग गरेको कुराकानीः
सगरमाथाको मापन कसरी सम्भव भयो ?
मैले यसभन्दा अगाडि २०६८ सालमै निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्यका रूपमा सर्वोच्च शिखरको आरोहण गरिसकेको थिएँ। मापन सम्बन्धी विषयको प्राविधिक विज्ञसमेत भएको हिसाबले नापी विभागले मेरो नेतृत्वमा सगरमाथाको चुचुरोमा पुगेर प्राविधिक तथ्यांक ल्याउने जिम्मा दिएको थियो। त्यही अनुसार उँचाइ मापनको मिसनमा आवश्यक प्राविधिक तालिमसहित विभिन्न चुनौती पार गरेर सरकारले दिएको जिम्मेवारी पूरा गर्ने काम गरिएको हो।
सगरमाथा मापन गर्ने जिम्मा सफलतापूर्वक निर्वाह गर्नुभएको हो नि?
हामीलाई दिएको जिम्मेवारी पूरा भएको हो। म एक्लैलाई दिएको जिम्मेवारी नभएर सामूहिक कामको लागि दिइएको हो। हाम्रो टोलीमा ८० जना भन्दा बढी प्राविधिक साथीहरू थिए। हामीले विभिन्न प्रकारको प्राविधिक काम गरेका छौं। नेपाल भूपरिवेष्टित मुलुक भएकोले हामीसँग समुद्र सतह छैन। हामीले लिने आधार बङ्गालको खाडी हो। यसका लागि काम गर्न अर्को टोली खटिएको थियो।
प्राविधिक रूपमा फिल्डमा खटिएर काम गर्ने एउटा टोली मसँग थियो। कार्यालयभित्र बसेर काम गर्ने अर्को ठूलो टोली पनि खटिएको थियो। मेरो टोलीले गर्ने कामको लागि सबैभन्दा चुनाैतीपूर्ण काम सगरमाथाको चुचुरोमा पुगेर त्यहाँको प्राविधिक तथ्यांक ल्याउनु थियो। त्यो काम मेरो नेतृत्वको टोलीले गर्यो। चुचुरोमा पुगेका कारण र कठिन काम गरेकाले बढी चर्चा आरोहण गर्नेको भएको भए पनि काम भने सबैले गर्ने सामूहिक तथा प्राविधिक नै थियो।
मापन विधि कस्तो रह्यो?
हामीले प्रयोगमा ल्याउने दुई प्रकारका विधि छन्। एउटा परम्परागत र अर्को आधुनिक। नापी विभागले दुवै विधि अवलम्बन गरेको थियो। परम्परागतमा त्रिकोणमितीय र आधुनिकमा ग्लोबल न्याभिगेशन स्याटेलाइट सिस्टम (जीएनएसएस) प्रयोग गरिएको छ। मापन स्याटेलाइट सिस्टमबाट गरिने भएकोले वास्तविक र संसारभर प्रचलनमा रहेकै जीएनएसएस विधिबाट गरिएको हो।
दुवै विधिको प्रयोगबाट उपर्युक्त तथ्य निस्किएको हो?
दुवै विधि प्रयोग गरिएको हो। तर, वास्तविक उँचाइ भनेको चाहिं आधुनिक विधिबाटै लिइएको हो। हाम्रो सर्भेइङ म्यापिङमा विभिन्न सिद्धान्तहरू हुन्छन्। त्यसमध्ये स्वतन्त्र जाँच पर्ताल गर्ने काम गर्नुपर्छ। त्यसका लागि हामीले स्वतन्त्र परीक्षण गर्न मात्रै परम्परागत विधि लिएका हौं। हाम्रो मापन विधि त आधुनिक नै हो। ग्राउन्ड पेनिटेडिङ राडार (जीपीआर) विधिबाट हिउँ र चट्टानी तह कहाँ छ भनेर पत्ता लगाउने गरी तथ्यांक पनि लिएर आएका थियौं। बाँकी तथ्यांक प्रशोधन इकाइले गर्ने काम हो।
हामीले अहिले निकालेको उँचाइको तथ्यांक आधुनिक विधिबाट हो। यस भन्दा पहिले इटाली, अमेरिका, चीनसहितले आधुनिक विधि नै प्रयोग पनि गरेका थिए। तर, त्यसमा सर्भेयर आफैं गएका भने थिएनन्।
यसअघि पनि फरक–फरक विधिको प्रयोग र पटक–पटक मापन भएको थियो। यो पटकको मापन चाहिं पहिलेभन्दा आधिकारिक कसरी भयो त?
इतिहास हेर्ने हो भने सगरमाथा विभिन्न देशले पटकौंपटक नापिसकेका छन्। सन् १९८० को दशकभन्दा अगाडि परम्परागत विधिबाटै मापन कार्य गर्ने गरिन्थ्यो। त्यसपछि भने संसारमा स्पेस जियोडेसी प्रयोगबाट मापन गर्ने प्रचलन आयो। मूलतः यसको आधार भनेको स्याटेलाइटको पोजिसन भन्ने नै हो।
आकाशमा भूउपग्रहले पृथ्वीलाई घेरिरहेका हुन्छन्। त्यसको पोजिसनिङको कुरा हुन्छ। हामीसँग यस्तो डिभाइस हुन्छ त्यसमा भूउपग्रहहरू कुन ठाउँबाट कति देखिन्छन् भनेर त्यसको पोजिसनिङ ट्रयाक गर्नुपर्छ। भूउपग्रहको आधारमा हामीले लगेको मेसिनले त्यसको पोजिसन, एटोमिक क्लक टाइमसहितको त्रिआयामिक भ्यालुलाई कोअर्डिनेट गर्ने काम गरेको छ। त्यसको आधारमा स्टमेट भएको पोजिसनको पनि त्रिआयामिक पोजिसन हिसाब गरिन्छ। यो आधुनिक तर जटिल विधि हो। यसलाई सरल तरिकाले बताउन पनि मुस्किल हुन्छ।
हामीले अहिले निकालेको उँचाइको तथ्यांक आधुनिक विधिबाट हो। यस भन्दा पहिले इटाली, अमेरिका, चीनसहितले आधुनिक विधि नै प्रयोग पनि गरेका थिए। तर, त्यसमा सर्भेयर आफैं गएका भने थिएनन्। यसपालि सर्भेयर आफैं गएकोले बढी विश्वसनीय छ। यसमा नेपालको आफ्नै ऐतिहासिक रेकर्ड बनेको पनि छ। नेपालले राखेको यस्तो रेकर्डमा मापन विज्ञानसँग ज्ञान भएको र सोही विषय अध्ययन गरेको सर्भेयरलाई सरकारले चुचुरोमा पुर्याएको हो। इतिहासमा पहिलोपटक सर्भेयरहरूको पाइला सगरमाथामा परेको पनि नेपालीकै हो।
यो परिघटना नेपालको नाप नक्साको इतिहासमा एउटा सफलताको कोसेढुङ्गा नै हो। संसारले हामीले गरेका कार्यमा ‘कमेन्ट’ गर्न नसक्ने सफलताको कार्य पनि सर्भेयर आफैं चुचुरोमा पुगेर सगरमाथाको मापन गर्नु नै हो। जसले गर्दा यसबाट आएको तथ्य पनि संसारले प्रश्न उठाउन नसक्ने र आधिकारिक आएको हो।
सर्भेयर अफैं पुगेकोले बढी विश्वसनीय हुन पुगेको हो कि आधुनिक विधिको प्रयोगले?
पहिलो आधिकारिकता नै सर्भेयर आफैं पुगेर मापन भएकोले हो। यो प्रयास संसारले गरेकोभन्दा फरक र पहिलो पनि हो। पहिले परम्परागत विधिमा सर्भेयर आफैं चुचुरोमा पुग्नुपर्ने थिएन। त्रिकोणमितीय विधिमा टाढैबाट नाप्ने गरिन्थ्यो। आधुनिक विधिमा यसअघि क्लाइम्बिङ गाइड पुगेर जीएनएसएस एन्टेना राखेर त गरिन्थ्याे। तर, सर्भेयर आफैं गएपछि भने थप विश्वसनीय भएको हो।
यसभन्दा अगाडि धेरैले आधुनिक विधि नै प्रयोग गरेर नापेको भनेका छन्। हाम्रो मापन नै अन्तिम र आधिकारिक कसरी हुन पुग्यो?
मापनमा सधैँ एउटै भ्यालु एकुरेट भन्ने हुँदैन। भूकम्प, भौगर्भिक हलचल, वातावरणीय परिवर्तनसहतिको प्राकृतिक कारणले गर्दा हिमालको उँचाइमा नगन्य मात्रामा परिवर्तन भइरहेको हुन सक्छ। हामीले नापेको आधिकारिक भनेकै सर्भेयर आफैं पुगेर निश्चित प्रक्रिया पूरा गरेर गरिएको मापनकै कारण हो। यसभन्दा अगाडि भएको अमेरिकनको टोलीले प्रयास गरेको भएपनि सर्भेयरहरुलाई चुचुरोमा पठाउन र सर्भेयर आफैं जान सकेनन्।
नापी विभागले आफ्ना सर्भेयरहरु नै चुचुरोमा पठाएपछि सन् २०२० मा चीनले पनि सर्भेयरलाई आफैं चुचुरोमा पुर्याएर मापन गरेको छ।यसका लागि दुवै देशकले एउटै विधि अपनाएका हुन्। भूकम्पपछि भने नेपालले अग्रसरता लिएको हो। सगरमाथाभन्दा उत्तरतर्फको भाग चीनतर्फ पर्छ। उत्तरतर्फको क्षेत्र चीनको अधिकार क्षेत्रभित्र पर्ने भएकोले हामीले कार्यक्रम अगाडि बढाएपछि चीनले पनि सगरमाथा मापन गर्ने कार्य गरेको हो। नेपाल र चीन दुवै देशले सगरमाथा मापन गरेर र संयुक्त रूपमा उँचाइ घोषणा गरेका हुन्।
दुवैतिरबाट नाप्दा ठ्याक्कै एउटै हुन सक्छ त ?
एउटै विधि प्रयोग गरेको र दुवै देशका सर्भेयर नै चुचुरोमा पुगेर गरिएको मापन भएको हुँदा र गणितीय कार्य विधि मिल्ने हुँदा एउटै आएको हो। विधि र प्रक्रिया मिलेपछि एउटै नआउने भन्ने पनि हुँदैन। यसमा दुवै देशले गरेको मापनबाट एउटै तथ्य आएकोले दुई देशबीचको सहमतिमा संयुक्त रूपमा उँचाइ घोषणा भएको हुन सक्छ।
चुचुरोमा पुगेर सर्भे गर्ने कार्य कत्तिको सहज थियो?
चुनौती नै चुनौतीको पर्खाल थियो। सगरमाथा आरोहण गर्नु आफैंमा चुनौतीपूर्ण हो। आरोहण गरेर, प्राविधिक सामान पनि लगेर घन्टौं चुचुरोमा बसेर काम गर्नु अझै चुनौती मात्रै नभएर महाचुनौती हो। संसारलाई हामीले हाम्रो हिमाल नाप्न सक्छौं भनेर दिएको हाम्रो सामर्थ्यको सन्देश पनि हो।
संसारभर एउटै उँचाइको सन्देश दिने र योसँगै देशको उँचाइ बढ्यो भन्ने पनि हो। हाम्रा देशका प्राविधिक विश्वभरसँग तुलना गर्न लायक छन्। नेपालका प्राविधिक पनि स्रोत साधन प्रयोग गरेर चुनौतीपूर्ण र वैज्ञानिक काम गर्न सक्छौं भन्ने हो। यसले नयाँ मानक पनि स्थापित गरेको छ।
वर्षौंदेखि नेपालले मान्यता दिएको उँचाइ हुँदाहुँदै फेरि मापन गर्नुपर्ने आवश्यकता चाहिं किन ?
हाम्रो देशभित्र रहेको सगरमाथा अहिलेसम्म ननापिएकोले सगरमाथाको उँचाइ हामी आफैंले नाप्नुपर्छ भनेर कार्यक्रम अगाडि आएको हो। भूकम्पपछि सगरमाथाको उँचाइको बारेमा संसारभर प्रश्न उठेकाले त्यसको वैज्ञानिक जवाफ दिन पनि नापी विभागले पुनः उँचाइ मापनको कार्यक्रम अगाडि सारेको हो। हामी सर्वेक्षकहरुले चुचुरोमै पुगी वास्तविक उँचाइ मापन गर्न लिएको जोखिम नै त्यसैको लागि थियो। नेपालका लागि यो ऐतिहासिक काम पनि हो।
अब वर्षौंदेखिको उँचाइ विवाद अन्त्य भएको हो ?
अन्त्य हुनैपर्ने थियो। र, अब भयो होला पनि। यसको जवाफ नापी विभागले उँचाइ सार्वजनिक गरेर दिइसकेकाे छ। वर्षौंदेखिको सगरमाथाको उँचाइ विवाद पक्कै पनि अब अन्त्य भएको छ। दुवै देशले गरेको संयुक्त घोषणा पनि यही विवाद अन्त्यको प्रयास हो जस्तो लाग्छ। यसमा नेपाल सफल भएको छ।
संयुक्त रूपमा सार्वजनिकको आवश्यकता किन पर्यो ?
यो विषय दुई देशबीचको कूटनीतिक विषय पनि हुन सक्छ। यो विषय मसँग सम्बन्धित होइन। दुई देशको मित्रताको प्रतीक भन्ने गरिएको छ।
सगरमाथाको नयाँ उँचाइको अर्थ चाहिं ?
नेपालका प्राविधिकहरुले आफ्नै स्रोतसाधन प्रयोग गरेर चुनौतीपूर्ण र वैज्ञानिक काम गर्न सक्छन् भन्ने अर्थ नै नयाँ उँचाइको अर्थ हो भन्ने लाग्छ। यसले नयाँ मानक पनि स्थापित गरेको छ।