किन टिक्न सक्तैनन् पर्वतीय पर्यटनमा महिला ?
पर्वतीय पर्यटनमा महिलालाई प्रोत्साहन दिने प्रयास हुँदै आए पनि जोखिमको क्षेत्र, पारिवारिक र व्यावहारिक असहजता जस्ता कारण पेशागत रुपमा लागेर टिक्नेको संख्या थोरै छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्व पर्यटनमा संलग्न कुल जनशक्तिमध्ये ४६ प्रतिशत महिला रहेको अनुमान गरेको छ। नेपालसहित बढी पर्यटक भित्रने विश्वका ५० प्रतिशतभन्दा बढी देशको आधारमा गरिएको अध्ययनले पर्यटनमा पूर्णकालीन वा आंशिक समय काम गर्ने महिलाहरूको संख्या पुरुषकै हाराहारीमा पुगिसकेको देखाउँछ।
समग्र पर्यटन क्षेत्रमा क्रियाशील महिला उल्लेख्य भए पनि पर्वतीय पर्यटनमा भने न्यून संख्यामा मात्रै सक्रिय छन्। नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) ले पर्यटनमा महिला सहभागिता बढाउन तालिम, पर्यटनमा रोजगारी सिर्जना गर्ने, अवसर दिने, निजी क्षेत्रसँग साझेदारी गर्नेदेखि पुरस्कारसम्मको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।
साहसिक पर्यटन तथा पर्वतारोहणमा महिलाको प्रवेश सन् १९७५ मा भएको हो। जापानी आरोही जुन्को तावेईले १६ मे १९७५ मा पहिलो पटक सगरमाथाको आरोहण गरेपछि पर्वतीय पर्यटनमा महिलाको आकर्षण र हिम्मत विस्तारै बढ्दै गएको हो। तावेईले आरोहण गरेको तीन वर्षपछि पोल्याण्डकी वान्दा रुट्कीबीचले दोस्रो महिला आरोहीको रूपमा सर्वोच्च शिखरमा पाइला टेकेयता हालसम्म ४७१ महिलाले सगरमाथा आरोहण गरिसकेका छन्।
नेपालको पहिलो महिला पर्वतारोहीका रूपमा भने २२ अप्रिल १९९३ मा पासाङल्हामु शेर्पाले सगरमाथाको आरोहण गरेकी हुन्। पहिलो नेपाली महिलाले सगरमाथा आरोहण गर्नुअघि विश्वभरका ४२१ पुरुषले शिखर चुमिसकेका थिए।
पेशामा क्रियाशीलता थोरै
पर्वतारोहणमा नेपाली महिलाको प्रवेश पछिल्लो एक दशकदेखि बढेको छ। महिला पर्वतारोहीलाई प्रोत्साहन पनि भइरहेको पर्यटन विभागको तथ्यांकले देखाउँछ। तर पेशागत रुपमा पर्वतीय पर्यटनमा लाग्ने महिलाको संख्या थोरै छ।
पर्वतीय पर्यटन जोखिमपूर्ण हुने, घर बाहिर धेरै दिन बस्नुपर्ने भएकाले परिवारको स्वीकृति चाहिने लगायतका कारण पर्यटनको अन्य क्षेत्रको तुलनामा यसमा महिलाको संख्या कम छ। पितृसत्तात्मक सोचकै कारण महिलाले घरव्यवहार बाहिरको काममा खुलेर लाग्ने स्वतन्त्रता र पारिवारिक सहयोग नपाउने भएकाले पनि पर्वतीय पर्यटनमा महिलाको आबद्धता कम रहेको यस क्षेत्रका जानकारहरूको बुझाइ छ।
पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् २०१८ मा ५० महिला र २०१९ मा ६५ जना महिलाले सगरमाथाको सफल आरोहण गरेका छन्। पासाङल्हामुले सगरमाथा आरोहण गरेयता हालसम्म ५३ जना नेपाली महिलाले सर्वोच्च शिखर चुमिसकेका छन्। तथ्यांक अुनसार हालसम्म सगरमाथामा ६ हजार ५०७ मानव पाइला पुगिसकेको छ।
पर्यटन विभागको तथ्यांक अनुसार हालसम्म नेपालमा खुला भएका ४१४ हिमालमध्ये सबैजसोमा पहिलो पाइला पुरुषकै परेको छ। आरोहण सहज हुँदै जाँदा पर्वतीय पर्यटन प्रवर्द्धन हुन थाल्यो। त्यसपछि गाइडको रुपमा जान थालेसँगै पर्वतीय पर्यटनमा महिलाको रुचि बढेको हो।
पर्यटन विभागकी प्रवक्ता मीरा आचार्य पुरुष र महिलालाई आरोहण गतिविधिमा फरक व्यवहार गर्ने कुनै व्यवस्था छैन। आचार्य भन्छिन्, “पर्वतीय पर्यटनमा महिलालाई पुरुषसरह अवसर दिइएको छ, तर पर्वतारोहणमा जाने र शिखर नै चुम्ने महिलाको संख्या भने थोरै देखिन्छ।”
विभागबाट अनुमति लिएर पर्वतीय पर्यटनमा जाने हाइ अल्टिच्यूड गाइड करीब १० हजार जना छन्। यसमा महिला र पुरुषको तथ्यांक अलग गरिएको छैन।
महिला सहभागिता वृद्धि चुनौतीपूर्ण
पर्वतीय पर्यटनमा ८० प्रतिशत हिस्सा रहेको पुरुषको संख्या घटाउँदै महिलाको हिस्सा बढाउने चुनौती वर्षेनी बढिरहेको यस क्षेत्रमा क्रियाशील महिलाहरू बताउँछन्।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानकी अध्यक्ष लाक्पाफूटी शेर्पा पर्वतीय पर्यटनमा महिला सहभागिता बढाउने गरी वार्षिक ६०/७० जनालाई तालिम दिइरहेको बताउँछिन्। उनका अनुसार, सात वर्षमा करीब ४०० महिलालाई पर्वतीय पर्यटनको तालिम दिइएको छ।
पर्वतीय पर्यटनमा ८० प्रतिशत हिस्सा रहेको पुरुषको संख्या घटाउँदै महिलाको हिस्सा बढाउने चुनौती वर्षेनी बढिरहेको यस क्षेत्रमा क्रियाशील महिलाहरू बताउँछन्।
पुरुषको तुलनामा महिला गाइड उत्पादन गर्न चुनौती रहेको शेर्पाको अनुभव छ। उनका अनुसार, पहिलो कुरा त पर्वतीय पर्यटनको तालिममा महिलाहरू सजिलै गरी आउँदैनन्। “महिला गाइड उत्पादन भइसकेपछि पनि सक्रिय रुपमा काममा लाग्नेको संख्या कम हुन्छ” उनी भन्छिन्, “सबैलाई व्यावहारिक सहजता नहुने भएकाले पेशामा लाग्न कठिन भइदिन्छ।”
हप्तौं घर बाहिर बस्नुपर्ने, कठिन यात्रा हुने लगायतका कारण व्यावहारिक झमेला र जोखिमका कारण महिलालाई यस क्षेत्रमा ल्याएर टिकाउन चुनौती रहेको उनको भनाइ छ।
पर्वतीय पर्यटनसँग सम्बन्धित होटल र रेष्टुरेन्टमा भने महिलाको संख्या उल्लेखनीय छ। तर, पर्वतीय पर्यटनमा भने कैयौं महिला तालिम लिएर पेशागत रुपमा लाग्न व्यावहारिक सहजता नभएपछि घरमा बस्ने गरेका छन्।
नेपाल पर्वतारोहण संघले महिला र पुरुषलाई पर्वतीय पर्यटनको तालिम दिंदै आएको छ। संघकी द्वितीय उपाध्यक्ष माया शेर्पा तालिम लिएर घरमै बस्ने महिलाभन्दा काममा निस्कने पुरुषलाई दृष्टिगत गरेर प्रोत्साहन गरिएको बताउँछन्। संघले वर्षेनी आधारभूत तहदेखि विशिष्ट तहसम्मको तालिम दिँदै आएको छ।
पर्वतीय पर्यटनमा महिलाको संख्या त कम छ नै, पदयात्रा चलाएर बस्ने महिला पनि एक प्रतिशत मात्रै रहेको अनुमान गरिन्छ। यो आँकडा ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) मा आबद्ध दुई हजार एजेन्सीको संख्यामध्यै न्यून हो। महिला गाइड अझ कम छन्।
पर्वतीय पर्यटन विज्ञ तथा पूर्व मन्त्री याङ्किला शेर्पा भन्छिन्, “सामाजिक रीतिरिवाज, पारिवारिक जीवनका कारण यो क्षेत्रमा महिलाको संख्या कम देखिन्छ।”
'प्रोत्साहन र सहजीकरणको खाँचो'
महिलालाई पनि पुरुष जस्तै पटकपटक सगरमाथा आरोहण गर्ने रुचि भए हुने गरे विभिन्न व्यवधानका कारण रहर मारेर बस्नुपर्ने बाध्यता रहेको याङ्किला बताउँछिन्। आफूले पनि पदयात्रामा क्रियाशील हुँदा निकै संघर्ष गरेर मात्र स्थापित भएको उनको भनाइ छ।
हाल एक जना मात्रै आरोही दावा याङ्जुम शेर्पा अन्तर्राष्ट्रिय महिला गाइडका रूपमा काम गरिरहेकी छिन्। उनी सन् २०१८ देखि अन्तर्राष्ट्रिय स्तरमा पर्वतारोहण गाइडको रूपमा क्रियाशील छन्। उनी बाहेक नेपालमा अरु चार पाँच जना महिला मात्रै गाइड पेशामा क्रियाशील छन्।
“महिलालाई गाइडको तालिम दिएर मात्रै हुँदैन, उनीहरू यस क्षेत्रमा क्रियाशील हुन नसक्नुको समस्या पहिचान गर्नुपर्छ”, उनी भन्छिन्, “पर्वतीय पर्यटनमा लाग्न चाहने महिलालाई प्रोत्साहन र सहजीकरण गर्नुपर्छ।” पर्वतीय पर्यटनको क्षेत्र र यस सम्बन्धी व्यवसायका लागि सरकारले सहुलियत ऋण दिएर प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ।
सगरमाथा आरोही संघकी अध्यक्ष समेत रहेकी माया शेर्पाका अनुसार, अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाको क्षमता विकास गर्न र नेपाललाई चिनाउन आरोहीको भूमिका हुने भएकाले महिला आरोहीको विशेष महत्व हुन्छ।
उनी भन्छिन्, “हाल सगरमाथा आरोही महिला विभिन्न मुलुकमा आफ्नो क्षमता र साहसिक छविकै कारण स्थापित हुन सकेका छन्।” एक पटक आरोही भए पनि उनीहरु सक्रिय हुने गाइडकै रूपमा हो।
आरोही दावा याङ्जुम शेर्पाले अन्तर्राष्ट्रिय महिला गाइडका रूपमा काम गरिरहेकी छिन्। उनी सन् २०१८ देखि अन्तर्राष्ट्रियस्तरमा पर्वतारोहण गाइडको रूपमा क्रियाशील छन्। उनी बाहेक नेपालमा अरु चार–पाँच जना महिला मात्रै गाइड पेशामा क्रियाशील छन्।