निरर्थक भाषणमा समय स्वाहा !
हाम्रा नेता र नीति निर्माताको धेरैजसो समय सभा–समारोह, भाषण र जनसम्पर्कमा बित्छ, अनि किन नहोस् त महत्वपूर्ण विकास–आयोजनाको दुर्गति ?
हाम्रा निर्णायक तहका मानिसको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ। जसले गर्दा निर्णायक तहमा आसीन मानिस महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ।
निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ। विकास–आयोजनाको दुर्गति हुन्छ। जब निर्णय गर्नुपर्ने अधिकारी नै विषयप्रति छ्याङ्ङ हुँदैनन्, त्यस्ता परियोजना कार्यान्वयनमा आउने सम्भावना नै हुँदैन।
कतिपय आयोजना त काम सम्पन्न भइसक्नुपर्ने समयमा पनि शुरु नै नहुने रहेछन्। उदाहरणका लागि पश्चिम सेती, बूढीगण्डकी परियोजना। नाम राष्ट्रिय गौरवका आयोजना राखिए पनि त्यस अनुसारको प्राथमिकतामा नपर्दा यिनको बिजोग देखिन्छ। निर्णय गर्नुपूर्व ती परियोजनाबारे सम्पूर्ण रुपमा बुझेर र व्यवस्थापन गर्न सकेको भए यस्तो स्थिति आउने थिएन। परियोजना निर्माण अगाडि बढ्थ्यो।
यस्तो स्थितिको उपयुक्त उपचार के त भन्ने प्रश्न उठ्छ। निर्णायक तह अझ अन्तिम निर्णयकर्ताले निर्णय गर्नुपूर्व परियोजनाबारे सहजता र जटिलता बुझ्ने। त्यसका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ। समय व्यवस्थापन गर्ने उपाय हो, सभा समारोहमा जाने समय कटौती। अनुत्पादक रुपमा विभिन्न नामका कार्यक्रममा बित्ने समय विकास र परियोजनाहरूमा दिनु उपयुक्त हुन्छ।
हाम्रा नेताहरूको धेरैजसो समय जनसम्पर्क र कार्यक्रममा खर्च हुँदा सोच्ने, पढ्ने र योजना तथा विकासमा ध्यान पुगेन। जनस्तरबाट आयोजना हुने कार्यक्रम तथा सभा समारोहमा जाँदै नगएर पनि भएन। लोकतन्त्रमा जनतालाई अत्यधिक समय दिनैपर्छ। उनीहरूका कुरा सुन्नैपर्छ। यसका लागि प्रधानमन्त्री त्यस्ता कार्यक्रममा सकेसम्म जाने तर मुख देखाएर फर्कने गर्नुपर्छ। ती कार्यक्रममा एक जना सल्लाहकार भने छोड्ने व्यवस्था मिलाउनुपर्छ, जो दक्ष र कुशल हुनैपर्छ। त्यहाँ उठेका सम्पूर्ण सरोकारवाला विषयको रिपोर्ट प्रधानमन्त्रीको कार्यालयमा दुरुस्त हस्तान्तरण गर्नुपर्छ। जसले गर्दा सबै कुराको जानकारी प्रधानमन्त्रीलाई होस्।
त्यति बेला प्रधानमन्त्री थिए, लोकेन्द्रबहादुर चन्द। मेरो विचार चन्दको कानसम्म पुर्याएँ। उनले ‘साह्रै राम्रो आइडिया’ भने रे। तर कार्यान्वयन शुरु गराउन सकिएन।
सभा समारोहमा सहभागी हुनेले त्यहाँ उठाइएका सवालहरू टिपोट गरेर मुख्य मानिसकहाँ लगेर सम्भव भए प्रत्यक्ष रुपमा सुनाउने गर्नुपर्छ। मुख्य मान्छेले त्यो टिपोट गम्भीर भएर पढ्ने र गाँठी कुरा थाहा पाउनुपर्छ। यसो गरेमा राज्य सञ्चालन प्रभावकारी बनाउन मद्दत पुग्नेछ। अन्यथा हाम्रा निर्णायक तहका मानिस कहाँ अलमलिने भए कहाँ!
जम्मा दुई जनाबाट सराहना
नीति निर्माताको समय परिणाममुखी काममा लगाउने र राज्य सञ्चालन प्रभावकारी बनाउने यो कुरा नेपाल वातावरण पत्रकार समूहमा रहँदा मैले धेरै वर्षअघि धेरै ठाउँमा धेरैका अगाडि राखें। तर, यसको पक्षमा दुई जना मात्र पाएँ। ती हुन्, होटेल द्वारिकाकी मालिक अम्बिका श्रेष्ठ र लोकेन्द्रबहादुर चन्द। अम्बिकासामु कुरा राख्दा उनले चाख दिएर सुनिन् र उत्साहित हुँदै भनिन्, “लौ यो त नगरी भएन।”
त्यति बेला प्रधानमन्त्री थिए, लोकेन्द्रबहादुर चन्द। मेरो विचार चन्दको कानसम्म पुर्याएँ। उनले ‘साह्रै राम्रो आइडिया’ भने रे। तर कार्यान्वयन शुरु गराउन सकिएन।
बीसौं शताब्दीको पुनरावृत्ति
अहिले झन् नेताहरूको भाषण मोह असाध्यै बढेको छ। प्रजातन्त्र पुनस्थापना हुँदै गणतन्त्र प्राप्तिसम्म आउँदा नेताहरूले जनतालाई केही दिएका छन् भने त्यो भाषण मात्र हो। भाषणमै उनीहरूले आफ्नो लामो राजनीतिक जीवन बिताइदिएका छन्, अझै त्यही निरर्थक भाषणको खोलोमा समय बगाउँदैछन्। आजका कतिपय मान्छेसँग पैसा छ, समय छैन। तर हाम्रा राजनीतिक नेताहरू पैसा छैन भन्छन्, समय छैन भन्दैनन्।
अहिले त प्रधानमन्त्री केपी शर्मा ओलीले नै लामो भाषण गर्न धेरै अभिरुचि राखेको देखिन्छ। कोरोना संक्रमण महामारीको फरक परिस्थितिमा भर्चुअल रुपमा जूम बैठकहरू हुने गरेका छन्। प्रधानमन्त्री ओली आफूलाई सर्वज्ञ र अरुलाई अल्पज्ञ ठान्छन्। मानसिकता नै यस्तो भएपछि भाषण लामो हुने नै भयो। भाषणमा धेरै समय भाषणमा अनुत्पादक रूपमा खर्च भएपछि ठोस कामका लागि समय हुने कुरै भएन।
त्यसैले अनुत्पादक रूपमा बित्ने समय बचाएर देश र जनताको लागि महत्वपूर्ण काममा खर्चने विधि अहिले झनै सान्दर्भिक देखिन्छ।
व्यवस्था जतिसुकै राम्रो र जनमुखी आओस्, हाम्रा नेताहरूमा भने पुरानै सोचको धङधङी कायमै छ। हाम्रा अहिलेका सबैजसो नेताहरू राजसंस्थाको बेला जन्मिएका हुन्, नजानिंदो रुपमा त्यही विलासी जीवनशैली, ठालु सोच, आत्मकेन्द्रित चिन्तन जस्ता बैगुन उनीहरूमा छ। सामन्तवादको अवशेष यत्र तत्र सर्वत्र छ, जुन प्रगतिशीलता जस्ता विभिन्न नामको बुइ चढेर सबैलाई मूर्ख पारेर रजाइँ गरिरहेको छ।
सभापति भन्दा पहिले मञ्चमा एउटा मान्छे उभिन्छ, धन्यवादको फेहरिस्त लिएर। धन्यवादको नाममा लामो बकवास गरेर ऊ त्यहाँ उपस्थित पाहुना र सहभागीहरूको समय खाइदिन्छ। बल्लबल्ल मञ्चमा उभिन पाए झैं दंग परेर जिब्रो चपाउँदै बोलिरहन्छ।
हाम्रा सामाजिक र सार्वजनिक संस्थाहरू अझै पनि पुरानै समय सम्झाउँछन्। कतिसम्म भने, कार्यक्रमका आयोजकहरू नै समयमा आइपुग्दैनन्। बल्ल आयोजक संस्थाको कोही मान्छे आउँछ र भित्तामा संस्थाको ब्यानर टाँस्ने तर्खर गर्छ। जुत्ता लगाएरै टेबुलमा चढ्छ र ब्यानर झुण्ड्याउँछ। आसनमा बसिसकेका पाहुनालाई फेरि आसन ग्रहण गराइन्छ। बीसौं शताब्दीमै पुरानो भैसकेको चलन पछ्याएर ब्याच वितरण, माला, खादा पहिर्याइदिन्छ।
जूम बैठकमा समेत आसन ग्रहण गराइन्छ रे। यो प्रवृत्तिले हामी कुन अलमलमा हराइरहेका छौं भन्ने ऐना देखाउँछ। अनावश्यक औपचारिकता देखाउने भुलभुलैयामा लाग्दा हामीले गर्नैपर्ने काम भने छुटाइरहेका छौं। आजको महँगो समय यस्तै नचाहिंदा काममा खर्च हुन्छ। समय खाने यो औपचारिक रीत अब हटाउनुपर्छ।
धन्यवाद भाषणमा बकवास
कार्यक्रम र समारोहहरू छरितो किसिमले सञ्चालन गरिएको विरलै देखिन्छ। अधिकांश कार्यक्रम वाहियात किसिमले चलाइन्छ।
सभापति भन्दा पहिले मञ्चमा एउटा मान्छे उभिन्छ, धन्यवादको फेहरिस्त लिएर। धन्यवादको नाममा लामो बकवास गरेर ऊ त्यहाँ उपस्थित पाहुना र सहभागीहरूको समय खाइदिन्छ। बल्लबल्ल मञ्चमा उभिन पाए झैं दंग परेर जिब्रो चपाउँदै बोलिरहन्छ।
उता प्रमुख अतिथि जलपान गर्न प्रतीक्षा गरिरहेका हुन्छन्। विकास र नीति निर्माणमा घोत्लिनुपर्ने मान्छे प्रायः यस्ता कार्यक्रममा धेरै समय दिन्छन्, जो न्यायसंगत ठहर्दैन। प्रमुख अतिथिको भाषणले कार्यक्रमको विषय र क्षेत्रभित्र पर्ने/नपर्ने सारा कुरा छताछुल्ल पार्छ। जनता यस्ता भाषण पनि चाख मानेर सुन्छन्। ठूला नेता सहभागी हुने सभाहरूमा नेताको भाषणलाई कार्यकर्ताको थपडीले छोप्छ।