चिनौं नेपाली हिमाल
हिमालय शृङ्खला कश्मीरदेखि असमसम्म १५०० माइल लामो लस्कर भएर उभिएको छ र त्यसमध्ये ५०० माइल जति नेपाल सरहदभित्र पर्दछ। हिमाल नेपालको चिनारी हो। नेपालको हिमाललाई सबभन्दा अग्ला हिउँचुलीहरूले सिंगारेका छन्। विश्वका दश प्रमुख पर्वतहरूमध्ये नौ नेपालमा पर्दछन् र यसबाहेक अन्दाजी २४० चुलीहरू २० हजार फिटभन्दा बढी उँचाइका छन्।
नेपालका हिमालको भौगोलिक व्याख्या गर्नुभन्दा अघि पहाड, लेक र हिमाल आदि चिनारी नाउँहरूको परिभाषा केलाउनु वेश होला।
‘पहाड’ भन्नाले हिउँ नपर्ने होचा डाँडाहरू जस्तै, चुरेपहाड तथा ७००० फिटभन्दा कम उँचाइका डाँडाहरूलाई जनाउँछ। हिउँदमा मात्र हिउँ पर्ने अग्ला डाँडाहरू जस्तै; महाभारत लेक र अन्य अग्लो भागलाई ‘लेक’ भनिन्छ। संस्कृतको ‘हिमालय’ शब्दको नेपाली रूपान्तरण ‘हिमाल’ शब्दले सदावर्त हिउँले ढाकिने पर्वतमालाहरूलाई औंल्याउँछ।
नेपालमा हिउँरेखा (Snow-line) अन्दाजी १७ हजार फिटभन्दा माथि रहेको हुनाले हिमालहरू अधिराज्यको उत्तरी भेकमा मात्र पाइन्छन्। फेरि हिमालहरू धेरैजसो भोट प्रदेशमा अवस्थित भएका हुनाले तिनीहरूको नामकरणमा तिब्बती भाषाको प्रभाव रहेको पाइन्छ। जस्तै, ‘गाङ’ वा ‘काङ’ (पवर्त तथा श्रेणी) ‘जे’ (चुली) आदि।
हिमालयको लस्कर मूल रूपमा पूर्व–पश्चिम दिशामा उभिएको भए पनि विभिन्न दिशामा फैलिएका धेरै हाँगाहरूले हिमाल र लेकहरूका रूप लिएका छन्। पश्चिमी र मध्यनेपालको उत्तरी क्षेत्रमा प्रमुख हिमाल लस्करभन्दा १५–२० माइल उत्तरतर्फ एउटा हाँगोले नेपाल र चीनको सिमाना छुट्याएको छ। भौगर्भिक रूपमा यस उत्तरी हाँगोलाई लद्दाख श्रेणी भनिन्छ, तर नेपालमा यसलाई प्रादेशिक नामहरू दिइएका छन्।
पश्चिम नेपालमा नालाकंकर, चण्डी, डाँफे तथा गौतम हिमाल र मध्यनेपालमा लुगुला, पेरी, श्रृङ्गी हिमाल भनिन्छ। हुम्ला, मुस्ताङ, मनाङ, लार्के र श्यारभोटहरू यस्ता सीमावर्ती हिमाल र दक्षिणका प्रमुख हिमालबीचको भागमा पर्दछन्। तर पूर्व नेपालमा भने लद्दाख श्रेणी तिब्बतमा पर्ने र नेपाल–चीन सिमानालाई प्रमुख हिमालले निर्धारित गरेको हुनाले रोल्वालिङ, खुम्बु, वालुङ जस्ता प्रदेशहरू हिमालको दक्षिण भेकमा पर्दछन्।
प्रमुख हिमालको शृङ्खला एउटा सिङ्गै पर्खालका रूपमा रहेको छैन, यसलाई ठाउँठाउँमा ठूला नदीहरूले रेटेर बेग्लाबेग्लै भागहरूमा छुट्याएका छन्। नेपालमा प्रमुख नदी र हिमालहरूको बीच निम्न प्रकारको आलोपालो पाइन्छ:
१. पश्चिम नेपाल
हिमाल: व्यासऋषि, कान्जिरोबा, धौलागिरि
नदी: महाकाली, कर्णाली, भेरी
२. मध्यनेपाल
हिमाल: अन्नपूर्णा, मनास्लु, गणेश, लाङटाङ
नदी: कालीगण्डकी, मस्र्याङ्दी, बूढीगण्डकी, त्रिशूली
३. पूर्व नेपाल
हिमाल: चोबाभवरे, महालङ्गुर, उम्बक, कञ्चनजङ्घा
नदी: भोटेकोशी, तामाकोशी, अरुण, तमोर।
माथिको क्रमअनुसार नेपालको हिमाली भागलाई तीन प्रमुख प्रदेशहरूमा विभाजन गर्न सकिन्छ। सर्वप्रथम पश्चिममा महाकालीदेखि कालीगण्डकीसम्मको भागलाई ‘कर्णाली प्रदेश’, फेरि मध्यभागमा कालीगण्डकीदेखि भोटेकोशीसम्मको भागलाई ‘गण्डकी प्रदेश’ र पूर्वमा भोटेकोशीदेखि कञ्चनजङ्घासम्म ‘कोशी प्रदेश’ मा सामेल गर्न सक्छौं। हुनत यी तीन प्रदेशहरू कर्णाली, गण्डकी र कोशी जलाधार क्षेत्रहरूसित मेल खाँदैनन् तर हिमालहरूको विश्लेषण निमित्त प्रस्तावित प्रादेशिक विभाजन नै उपयुक्त देखिन्छ।
कर्णाली प्रदेश नेपालको पश्चिमी खण्डमा पर्ने कर्णाली प्रदेशका हिमालहरू विशिष्ट रूपले अग्ला नभए पनि धेरै विस्तृत रूपमा फैलिएका छन्। यस प्रदेशको गल्फा क्षेत्रमा कर्णाली नदीले प्रमुख हिमालको जुरोलाई बेपत्ता होच्याएको छ र यहाँनेर प्रमुख हिमालको उत्तरी हाँगो (हुम्ला) र दक्षिणी हाँगो (ठाकुरजी) अग्ला भएर फिंजिएका छन्।
पश्चिमी सिमानाको महाकाली नदी र सेती नदीको शिरमा व्यासऋषि हिमाल पर्दछ र यसका प्रमुख चुलीहरू अपि (२३,३९९ फिट) र नम्पा (२२१६२ फिट) हुन्। व्यासऋषि हिमालको उत्तरी हाँगो गाँस हिमाल, लिपुधरा हिमाल (२१,२९९ फिट) भई उराई भन्ज्याङमा निहुरेर फेरि दक्षिण लाग्छ। यहाँ सेती नदी र हुम्ला–कर्णालीको बीचमा एकलौटो सैपाल (२३,०८० फिट) चुली उभिएको छ।
हुम्ला र मुगु–कर्णालीको उत्तर नेपाल–चीन सिमानामा नालाकंकार (२१७६८ फिट), चण्डी (२१,७५० फिट) र गोरख (२२,०३२ फिट) हिमाल रहेका छन्। मुगु–कर्णाली र लाँगुखोलाको बीच गोरख हिमालको पूर्वमा कान्ति हिमाल पनि नेपाल–चीन सिमानामा पर्दछ र यसका मूल टाकुरा डाँफेशैल (२१,४७६ फिट) हो। कान्ति हिमालको पूर्व र छार्काभोटका उत्तरमा अरनिको चुली (२१,५९४ फिट) रहेको गौतम हिमाल मुस्ताङको सिरानमा मानशैल (२१,२४५ फिट) सम्म पुग्छ।
लाँगुखोलाको दक्षिणपट्टि कान्जिरोबा, जाग्दुला, पत्रासी हिमालहरूको बथान पर्दछ। मुख्य कान्जिरोबा (२२,५८३ फिट) लाई पूर्वतर्फ कागमारा (१९,७१० फिट), दक्षिणतर्फ जाग्दुला (२०,९५१ फिट) र पश्चिमतर्फ पत्रासी (२१,७४२ फिट) हिमालहरूले घेरा हालेका छन्। पत्रासी हिमालको पश्चिम दिशामा सिस्ने र चिमात तथा रारादह नजिकको घुर्ची लेक छन्। कागमाराभन्दा पूर्वपट्टि फोकसुम्दो ताल पर्दछ र यसको पूर्व भेरीको मुहानमा मुकुट हिमाल (२२,२११ फिट) का प्रशस्त साना चुलीहरू छन्।
मुकुट हिमालको उत्तरी हाँगो अरनिको चुलीमा मिसिन्छ र दक्षिण धौलागिरितिर अग्लिंदै जान्छ। धौलागिरि हिमाल भेरी र कालीगण्डकीबीच झन्डै ३२ माइल लामो ठडिएको छ र यहाँ धेरै अग्ला हिउँचुलीहरू छन्। पश्चिमदेखि केलाउँदा यी चुलीहरूको नाउँ पुथा हिउँचुली (२३,७७४ फिट), चुरेन हिमाल (२४,१८४ फिट), धौलागिरि छैटौं (२३,८४६ फिट), गुर्जा हिमाल (२३,५९९ फिट), धौलागिरि तेस्रो (२५,१३३ फिट), धौलागिरि पाँचौं (२४,००२ फिट), धौलागिरि चौथो २४,९९२ फिट), धौलागिरि दोस्रो २५,४२९ फिट), धम्पुसचुली (२२,३०९ फिट), टुक्चेचुली (२२,७०३ फिट) र धौलागिरि प्रथम २६,७६५ फिट) हुन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका हिमालहरूको थालनी कालीगण्डकीको पूर्व अन्नपूर्णादेखि भएर काठमाडौंको उत्तर जुगल हिमालमा टुङ्गिन्छ। सर्वप्रथम कालीगण्डकी र मस्र्याङ्दीको बीचमा अन्नपूर्णा हिमालको लस्कर पोखराबाट प्रष्ट देखिन्छ। यस श्रेणीमा चुलीहरूको जन्ती पश्चिमबाट पूर्व यस प्रकार हातेमालो गरी उभिएका छन् – अन्नपूर्णा दक्षिण (२३,६८३ फिट), ‘दाहे्र’ (२५,०८९ फिट), अन्नपूर्णा प्रथम (२६,५४५ फिट), Glacier Dome वा हिउँथुम्को २३,१९१ फिट), गङ्गापूर्ण (२४,४५७ फिट), अन्नपूर्णा तेस्रो (२४,७८७ फिट), अन्नपूर्णा चौथो (२४,६८८ फिट), अन्नपूर्णा दोस्रो (२६,०४१ फिट) र लमजुङ हिमाल (२२,९१० फिट)। अन्नपूर्णादेखि सोझै दक्षिण हानिने एउटा हाँगालाई माछापुच्छे« (२२,९४२ फिट) ले सिंगारेको छ।
अन्नपूर्णा प्रथम र हिउँथुम्कोबीच एउटा हाँगा उत्तरतर्फ तिलिजोचुली (२३,४०७ फिट) हुँदै दुई भागमा बाँडिन्छ। एक भाग दक्षिणतर्फ मिरिस्ती खोलाको दाहिने किनार पर्ने नीलगिरि हिमाल (२३,१६६ फिट) हो र उत्तरतर्फ दामोदर (२०,९९७ फिट) हिमाल चीन सिमाना जोड्ने भृकुटी–शैल (२२,०८० फिट) पुग्छ। भृकुटी–शैलभन्दा उत्तरतर्फको गौगिरि (२२,३४२ फिट) पनि सिमानामा नै पर्दछ र दक्षिणपट्टि लुगुला र पेरी हिमालले मनाङलाई तिब्बतबाट छेकेको छ। सीमावर्ती पेरी हिमालका अग्ला चुलीहरू रत्नचुली (२३,३८० फिट), चेवचुली (२२,३५० फिट), मनाङ भोटका दुई टाकुरा २१,७५३ फिट) र काङ्गुरु (२२,९९७ फिट) नारखोला वारि–पारि पर्दछ।
मनाङ र लार्केभोटको दोसाँधमा पेरी हिमालको एउटा हाँगा दक्षिण हानिएको र यसमा क्रमशः मनास्लु (२६,७६० फिट), डाकुरा (२४,६५२ फिट), हिमालचुली (२५,८९७ फिट) र बौद्ध (२१,८९० फिट) चुलीहरू छन्। बूढीगण्डकी सिरानमा पर्ने लार्के र श्यारभोटलाई कुताङ (२०,७९५ फिट) र श्रृङ्गी २३,५४५ फिट) हिमालले तिब्बतबाट छुट्याएका छन्।
श्यारखोलालाई पूर्वमा यान्डोल, पासबो र लामो हिमालहरू र दक्षिणमा गणेश हिमालले छेकेका छन्। गणेश हिमाल बूढीगण्डकी र त्रिशूली–गण्डकीको बीचमा रहेको छ र यहाँ गणेश (२४,२९९ फिट), पाबिल (२३,३०० फिट) र पाल्दोर (१९,४५९ फिट) चुलीहरू छन्।
त्रिशूली–गण्डकी पूर्व र काठमाडौं उत्तर लाङटाङ र जुगल हिमालको लस्कर जोडिएको छ। लाङटाङ हिमाल तिब्बतको अग्लो शिसपाङमा (२६,२९१ फिट) को हाँगो हो। यस हिमालको गाङचेन लेद्रुब (२३,७७१ फिट), शान्डुब (२१,४६७ फिट), द्राग्पोछे (२१,४६३ फिट) र फुलराङचेन (२२,७७० फिट) टाकुराहरू लाङटाङखोलाको उत्तरपट्टि पर्दछन्।
लाङटाङखोला दक्षिणपट्टि गोसाइँकुण्डको लेक पूर्वमा लाङ्पो (२३,२४० फिट) मा मिसिएर जुगल हिमालको रूप लिन्छ। ल्योङपोगाङ पश्चिम पर्ने जुगल हिमालको भागमा गाङछेम्पो (२०,९९१ फिट) दोर्जेलाक्पा (२२,९३० फिट) भन्दा पूर्वपट्टि नेपाल–चीन सिमाना पूर्वीच्याचू (२१,२४४ फिट) र खरानेटिप्पा (१८,५२७ फिट) छन्। खरानेटिप्पाको फेदीमा कोदारी छ र यहाँको भोटेकोशीबाट पूर्व कोशी प्रदेश पर्दछ।
कोशी प्रदेश
कोदारीदेखि पूर्व कञ्चनजङ्घा श्रेणीसम्मका हिमालहरू कोशी प्रदेशमा पर्दछन्। यस प्रदेशमा सगरमाथा भएको महालङ्गुर हिमाल र कञ्चनजङ्घा नै मुख्य हिमाल हुन्। भोटेकोशी र तामाकोशीबीचको भागमा धेरै अग्ला हिमालहरू छैनन् र यहाँको मूल टाकुरा (चोवाभमरे २०,७०६ फिट) मात्र छ।
तामाकोशीको पूर्वपट्टि नेपाल–चीन सिमानामा रोल्वालिङ हिमालको गौरीशङ्कर (२३,४४२ फिट) र तिब्बतको मेनलुङजे (२३,५६० फिट) पर्दछ। रोल्वालिङ र खुम्बुको दोसाँधमा पर्ने तेसीलाप्चा भन्ज्याङ (१९,१०० फिट) को दक्षिणमा पनियो टुप्पा (२१,८५० फिट) क्वाङदे (२०,३०० फिट), नुम्बुर (२२,८१७ फिट) र कायोलुङ (२१,९२० फिट) चुलीहरूबाट ओखलढुङ्गामाथिको लेक बनेको छ। रोल्वालिङ र खुम्बुको दोसाँधबाट उत्तरतर्फ फन्को लगाएर महालङ्गुर हिमाल पूर्वमा ह्लोजेसम्म पुग्दछ।
महालङ्गुर हिमालको पश्चिम भागमा काङगुरु (२०,५५० फिट) र नाङपा (१९,०५० फिट) भन्ज्याङ छ। नाङपालाको पूर्वमा ङपाइगोसुम (२४,४०० फिट), चोओयु (२६,७५० फिट), ग्याचुङकाङ (२५,९९० फिट) र पुमोरी (२३,४४२ फिट) आदि नेपाल–चीन सिमानामा पर्दछन्। पुमोरीको पूर्व विश्वको सबभन्दा अग्लो चुली सगरमाथाको दक्षिणपट्टि नूपजे (२५,८५० फिट) र ह्लोजे (२७,८९० फिट) र ह्लोजेशार (२७,५०४ फिट) पर्दछ।
ह्लोजेशारभन्दा पूर्वमा एउटा धारेभिर नेपाल–चीन सिमाना निर्धारण गर्दै मकालु हिमालमा मिसिन्छ र अर्को श्रेणी दक्षिणपट्टि बरुण (२३,६८८ फिट) को वरपर विस्तृत हाँगाहरूमा विभाजित हुन्छन्। दूधकोशी र अरुण कोशीको बीच पर्ने बरुणका विभिन्न भागहरूमा आमादब्लम (२२,४९४ फिट), काङ्तेगा (२२,३४० फिट) र चाम्लाङ (२४,०१२ फिट) मुख्य चुलीहरू हुन्। त्यसपछि चागो (२२,५९० फिट), कान्चुङ्जे (२५,१३० फिट) र मकालु (२७,७९० फिट) सीमावर्ती टाकुराहरू छन्।
अरुण खोंचको पूर्वपट्टि उम्बक हिमाल (२०,४५० फिट) र यसको दक्षिणी हाँगा लुम्बासुम्बाले अरुण र तमोरनदीको जलाधारको रूप लिएको छ। उम्बक हिमालपछि जनक हिमाल ताप्लेजुङ जिल्ला र चीनको सिमाना हुँदै सिक्किमको सिमाना पुग्छ। जनक हिमालमा नुपचु (२३,०५८ फिट), ज्ञानेचुली (२२,०१० फिट), जोङसङ (२४,४७२ फिट), द्रोमो (२२,९६९ फिट) र ताङकोङमा (२०,३६८ फिट) तमोरखोलाको शिरमा पर्दछन्।
नेपालीहरूका लागि हिमाल केवल धार्मिक गीतको प्रेरणा र हिउँको तगारो मात्र रहिआएको छ। हामी हिमाललाई हेरेर मक्ख हुन्छौं। मक्ख पर्छौं सन् १८९४ मा हर्कवीर थापा, करवीर बुढाथोकीले स्वीट्जरल्यान्डका पर्वतहरू आरोहण गरेको कथा सुनेर। हामी हाम्रो हिमाल विषयमा भने अनभिज्ञ छौं।
नेपाल, चीन र सिक्किमको सिमाना त्रिकोणबाट कञ्चनजङ्घा हिमाल दक्षिणतर्फ हानिएको छ। कञ्चनजङ्घा प्रमुख (२८,२०८ फिट) र कञ्चनजङ्घा दक्षिणचुली (२७,८०३ फिट) नेपाल–सिक्किम सिमानामा पर्दछ र अर्को अग्लो चुली यालुङकाङ (२७,६२५ फिट) कञ्चनजङ्घा प्रमुखको चार माइल पश्चिम पर्दछ। कञ्चनजङ्घा प्रमुखलाई उत्तरतिर जनक हिमालसित जोड्ने शृङ्खलामा ‘ट्विन्स’ वा जुम्ल्याहाचुली (२४,११७ फिट), नेपालचुली (२३,५०० फिट), ‘टेन्ट’ वा पालचुली (२४,१६४ फिट) र पिरामिडचुली (२३,३२२ फिट) आदि नेपाल–सिक्किम सिमानामा छन्।
कञ्चनजङ्घा प्रमुखको दक्षिणी भागमा रहेका तालुङ (२३,०८० फिट), काब्रु (२४,०७४ फिट), राथोङ (२१,९१३ फिट) र कोक्ताङ (२०,१८५ फिट) टाकुराहरू पनि नेपाल–सिक्किम सिमानामा पर्दछन्। यालुङकाङ पश्चिमतर्फ हिमाली भेकमा रहेको काङबाचेन (२५,९९७ फिट), रम्थाङ (२१,९८२ फिट) र जन्नु (२५,९७४ फिट) चुलीहरू तमोरको मुहान च्यारच्यू र यालुङ खोलाहरूको माझ पर्दछन्।
नेपालमा हिउँचुलीहरू प्रशस्त छन् र यहाँ हिमालहरूको जम्काभेट पाइन्छ। नेपालीहरूका लागि हिमाल केवल धार्मिक गीतको प्रेरणा र हिउँको तगारो मात्र रहिआएको छ। हामी हिमाललाई हेरेर मक्ख हुन्छौं। मक्ख पर्छौं सन् १८९४ मा हर्कवीर थापा, करवीर बुढाथोकीले स्वीट्जरल्यान्डका पर्वतहरू आरोहण गरेको कथा सुनेर। हामी हाम्रो हिमाल विषयमा भने अनभिज्ञ छौं। यसैले यस लेखमा संकेत गरिएका हिमालको रूपरेखाको आधार पनि विदेशी पर्वतारोहण व्याख्याहरू नै हो।
हिमाल विशाल छ र अनौठो किसिमको राम्रो देखिन्छ तर हिमालको सौन्दर्यमा मात्र अलमलिनु वास्तविकता होइन। अर्काले सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ वा ‘जोमोलङमा’ नामकरण गरेमा त्यसको प्रत्युत्तर नाराले होइन विवेकको आधारमा दिनुपर्दछ। देशको हिमालको वास्तविकता विषयमा गहकिलो अध्ययनको ठूलो खाँचो छ।
-रमझम, वर्ष ४, अङ्क ३, असोज २०२५ (सन् १९६८)
(२३ सेप्टेम्बर २००६ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन विख्यात भूगोलविद् डा.गुरुङको यो लेख सन् २००६ मा हिमाल बुक्सद्वारा प्रकाशित पुस्तक ‘विषय विविध’बाट लिएका हौं। पुस्तकमा यो लेख ‘नेपालकाे हिमाल शीर्षकमा प्रकाशित छ ।)