काठमाडौं महानगरले मुख्य सडकमा दुई हजार बत्ती जडान गर्ने
काठमाडौं महानगरपालिकाले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ। यसका लागि बिहीबार महानगर, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र महानगरका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो। महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका हुन्। सहमतिपत्र अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की लगायतका क्षेत्रमा करीब रु.१७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य गरिनेछ।
हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले सङ्घीय राजधानी समेत रहेको काठमाडौं क्षेत्रलाई व्यवस्थित र उज्यालो राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अगाडि बढेको बताए। यस्तै, काठमाडौंका मेयर शाक्यले लामो समयको प्रयासपछि सहमति भएको भन्दै यस कार्यले शहरी सौन्दर्य बढाउन ठूलो सहयोग हुने बताए।
सहमतिपत्रमा महानगर क्षेत्रभित्रका मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा महानगर ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी रहने उल्लेख छ। त्यसैगरी, चालु आवमा प्राधिकरणको ४० प्रतिशत लगानीका लागि आवश्यक रकम महानगरले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ।