नेपालको फिफा वरियता यथावत, बांग्लादेश दुई स्थान झर्यो
नेपालको फुटबल वरियता यथावत रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ।
नेपालले एक महीनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन। बांग्लादेशबाहेक अन्य दक्षिण एशियाका सबै देशको वरियता यथावत रहेको छ।
बांग्लादेश फिफा वरियतामा दुई स्थान झरेको छ। गत साता बांग्लादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो। दक्षिण एशियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बांग्लादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ।
फुटबलको विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ।