भन्सार छलीको शंकामा ७८ बोरा कपडा बरामद
भन्सार छलीको आशंकामा प्रहरीले विराटनगर-७ मेनरोडको एक पसलबाट ७८ बोरा कपडा बरामद गरेको छ। ह्वाइट हाउस नामको रेडिमेड कपडा पसलमा छापा मारेर प्रहरीले ३ हजार २८३ थान शर्टसहित ३ हजार ३४१ थान कपडा बरामद गरेको हो।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले कपडाको बजार मूल्य बुझेर मूल्यांकन गरी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने बताए।
स्रोतका अनुसार, पसलमा छापा मार्नुपूर्व प्रहरीले भन्सार छलीका सामान खरीद हुने गरेको पत्ता लगाउन अपरिचित व्यक्ति परिचालन गरेको थियो। ९ थान भारतमा उत्पादित कपडा झोलामा राखेर एक व्यक्ति पसलमा बिक्री गर्न पसेका थिए। लगत्तै सादा पोशाकका प्रहरीले छापा मारेको बताइएको छ।
प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार, बरामद गरिएको कपडाको अनुमानित बजार मूल्य रू. ३३ लाख ४२ हजार रहेको छ। सबै कपडा भन्सार छलीको भएकाले भण्डारण गरेको ठाउँबाट नियन्त्रणमा लिइएको उनले बताए। कपडासँगै पसले तरुण साहलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको थियो। साहलाई भने छाडिएको छ।
पसलेका दाजु बरुणकुमार साहले ९ थान बिल बिनाको कपडाका लागि प्रहरीले गोदाममा भएको सबै भारतीय कपडा लगेको बताए। साहले एक वर्ष भन्दा पहिले भन्सार कर बुझाएर ल्याएको कपडापनि प्रहरीले लगेको जानकारी दिए। उनले भन्सारको प्रज्ञापनपत्रसहित प्रहरीमा प्रमाण पेश गरेको दाबी गरेका छन्।
कोरोनाको महामारीका कारण सीमा बन्द गरिएकाले सीमापारी जोगवनीबाट कपडा तस्करी गरेर विराटनगर ल्याइने गरिएको छ। सीमापारी जोगवनी बजारमा नेपालको तुलनामा भारतीय कपडा सस्तो हुने भएकाले यताका उपभोक्ता त्यसतर्फ जाँदै आएकोमा सीमा बन्द भएपछि खरीदका लागि जोगवनी जानेको संख्या न्यून छ।
मुख्य नाका बन्द भएपनि खेतबारीबाट कारोबारीले भन्सार छलीका सामान ओसार पसार गर्दै आएका छन्। नेपाल भारत सीमामा मानिसको आवत जावतपनि बन्द गरिएको छ। खुल्ला नाकाबाट तस्करी हुने गरेकाले सीमामा निगरानी कडा पारिएको एसपी खड्काले बताए।