कार्यकर्तालाई कांग्रेसको आह्वान : २९ मंसीरको विरोध प्रदर्शनमा सहभागी हुनुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ मंसीरमा गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ।कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ मंसीरमा हुने प्रदर्शनको तयारी बारे छलफल गर्दै सबै नेता, कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो।
बैठक सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको थियो। बैठकपछि पत्रकारहरूसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए।
“२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको छ। ७७ वटै जिल्लामा गर्ने हो। काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौं। सल्लाह त्यही भएको छ”, पौडेलले भने।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता पौडेलमाथि १७ मंसीरमा तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए।
“कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन। नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरू नपाएर छटपटीरहेको बेलामा सरकार र सत्तारूढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ”, शर्माले भने, “त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं। प्रदर्शन गर्दैगर्दाखेरी आजको बैठकले विशेष रूपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपील गरेको छ।”
प्रवक्ता शर्माले सरकार बनेपछि बढिरहेको भ्रटाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताए। उनले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेको समेत बताए। यस्तै, बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको प्रवक्ता शर्माले बताए।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन केन्द्रित भएको बताए।
“हाम्रो २९ गते देशैभरी, ७७ वटै जिल्लामा विरोध कार्यक्रम हुन्छ। त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृत्ति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ त्यसलाई केन्द्रित गरेर हुनेछ। यो प्रारम्भ मात्रै हो”, महतले भने।
२९ मंसीरको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको नेता महतले बताए।