नौ महीनापछि खुल्यो चिडियाखाना (तस्वीरहरू)
कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि बन्द भएको ललितपुरको जावलाखेलस्थित् सदर चिडियाखाना ९ महीनापछि खुलेको छ। ७ चैतदेखि बन्द भएको चिडियाखाना बिहीबारदेखि खुलेको हो।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी चिडियाखाना सञ्चालनमा ल्याइएको हो।
चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ। प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ। अनलामार्फत् पनि टिकट लिन सक्ने व्यवस्था गरिएको छ।
भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश गर्न दिने व्यवस्थ गरिएको छ। चिडियाखानाभित्र बढीमा डेढ घण्टामात्र बस्न पाइनेछ।
चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड समेत तयार गरिएको छ।चिडियाखाना अवलोकनमा विदेशीका लागि रू. ७५०, सार्क राष्ट्रका नागरिकका लागि रू. ५००, नेपालीलाई रू. १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रू. ९० शुल्क निर्धारण गरिएको छ।
चिडियाखाना यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुल्नेछ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन्।
थप तस्वीरहरू: