पर्यटक पर्खिएर बस्ने कि आकर्षित गर्ने ?
नेपालको पर्वतारोहण अन्तर्राष्ट्रिय समुदायलाई सधैं चासो र रुचिको विषय हो। यो वर्ष महामारीका बीच पनि कतार र बहराइनका राजकुमारले गरेको हिमाल आरोहणबाट सकारात्मक सन्देश प्रवाह भएको छ। तर, पर्वतीय पर्यटन फेरि उकास्न गर्नुपर्ने काम धेरै छ।
कतार र बहराइनका राजकुमारले गरेको हिमाल आरोहण उच्च कूटनीतिक स्तरको भएकाले निकै महत्व पाए। केही आरोही र मजदूरले काम पाए। यसबाट ठूलो राहत नभए पनि सकारात्मक चर्चा भयो। पर्वतीय पर्यटनमा यी सकारात्मक सूचक थिए।
अब सन् २०२१ मा पर्वतीय पर्यटनले केही गति लिने अपेक्षा छ। कोरोना महामारीले विश्व नै आक्रान्त भएको वेला पैसा कमाउने मूल उद्देश्य राख्नु हुँदैन। थोरै विदेशी आउँदा त्यसबाट धेरै लाभ लिने भन्ने वेला हुँदै होइन। बरु पर्यटनलाई चलायमान र पुनरुत्थान गर्दै सामान्य अवस्थासम्म फर्किनु पहिलो प्राथमिकता हो।
यो वेला सरकारले विदेशी आरोही आकर्षण गर्ने कार्यक्रम ल्याउनुपर्छ। नयाँ हिमालहरुको प्रवर्द्धन गर्नुपर्छ। आरोहणका लागि यसअघि खुला नभएका पर्वतका माध्यमबाट विदेशीलाई आकर्षण गर्न सकिन्छ।
यो महामारी नेपाल घुम्न आउन इच्छा भएका विदेशीसँग सीमित खर्च हुनसक्छ। सामान्य अवस्थाको जस्तो खर्च गर्ने क्षमता अब घुम्न निस्कनेहरुका लागि नहुनसक्छ। सबै पर्यटक पैसा भएर मात्रै घुम्न निस्कन्छन् भन्ने सोच्नुहुँदैन। त्यसैले नयाँ हिमालको आरोहणमा छूट दिंदा राम्रो सन्देश जान्छ।
नेपालमा आरोहण नभएका र खुला नभएका हिमाल थुप्रै छन्। पर्यटन विभागको तथ्यांक अनुसार हालसम्म ४१४ वटा हिमाल आरोहणका लागि खुला भए पनि धेरैजसो हिमालमा न्यून संख्यामा मात्र आरोही पुगेका छन्। सन् २०१९ सम्ममा खुला भएका तर, मानव पाइला नपरेका हिमालको संख्या नै ८५ छ।
अब यी खुलेका हिमालेको पनि प्रवर्द्धन गर्नुपर्छ। त्यसका लागि भिसामा छुटदेखि रोयल्टी छुटसम्म दिएर पर्यटक आकर्षण गर्न सकिन्छ। यहाँ आइपुगेपछि पर्यटकले गर्ने खर्च, अन्य क्षेत्रले पाउने लाभ र पर्यटन उद्योग चलायमान हुनुलाई नै सबैभन्दा पहिलो उपलब्धि मानिनुपर्छ।
पर्यटक आर्षिकत गर्ने कार्यक्रम आवश्यक
अन्नपूर्ण, खुम्बु वा अन्य कुनै क्षेत्रको प्रवर्द्धन गर्न वा नयाँ हिमालप्रति पर्यटक आकर्षित गर्न केन्द्र सरकारले मात्रै सबै काम गरेर पुग्दैन। अब सम्बन्धित क्षेत्रका स्थानीय तहको पनि साथ र सहयोग उत्तिकै महत्वपूर्ण हुन्छ। स्थानीय तहले पनि विभिन्न ‘अफर’ सहितका कार्यक्रम ल्याउन सक्छन्। अबको दुई वर्ष सामान्य अफर र कार्यक्रमले मात्र पनि यो क्षेत्रलाई टिकाउन सहयोग गर्छ।
विकसित देशले कोरोना विरुद्धको खोप बनाइसकेकाले अब पर्यटन गतिविधिमा पनि सकारात्मक प्रभाव पर्छ। तर, पर्यटकीय गतिविधि बढ्न समय लाग्छ। नेपालमा पर्यटक आउन लाग्ने समय विभिन्न क्षेत्रमा हुने झन्झटिलो प्रावधान, महँगो रोयल्टी र भिसा शुल्कले अझ लम्बिन सक्छ।
त्यसैले पर्यटक आकर्षित गर्न अहिले नै स्पष्ट योजना बनाउन जरुरी छ। त्यस्तो योजना कसरी बनाउने भन्ने पाठ अहिले आन्तरिक पर्यटक आकर्षित गर्न ल्याइएको कार्यक्रमबाट लिन सकिन्छ।
अहिले प्राथमिकतामा परेका आन्तरिक पर्यटकलाई टिकाइरहनुपर्छ। एक गन्तव्यबाट अर्कोमा पुग्ने आन्तरिक पर्यटकलाई वायुसेवादेखि होटल र अन्य पर्यटनका क्षेत्रले अफर दिएर आकर्षित गरिरहेका छन्। यसले आन्तरिक पर्यटनको प्रवद्र्धनमा सकारात्मक सन्देश दिइरहेको छ। तर, अपेक्षा अनुसारको चहलपहल हुनसकेको छैन।
त्यसैले आन्तरिक पर्यटकलाई दिएको प्रथमिकता र सुविधा अब विदेशीलाई पनि दिनुपर्छ। विदेशी पर्यटक प्राथमिकताको क्षेत्रमा त परेकै छन्, अब अहिलेको अवस्थासँग तुलना गरेर सो अनुसारको रणनीति भने गराउनुपर्छ।
आर्थिक समस्यामा आरोही
आरोहण गतिविधि ठप्प भएकाले पर्यटन मजदूर र आरोही बिलखबन्दमा परेका छन्। मजदूर र आरोही लगातार दुई सिजन बेरोजगार हुनुपर्दा दैनिकी चलाउन समस्या परेको छ। त्यसैले सरकारले राहत दिएर पर्यटन मजदूरलाई पलायन हुनबाट जोगाउनुपर्छ। सगरमाथा आरोही संघले पटकपटक राहतको माग गरे पनि सरकारले सुनिरहेको चाहिं छैन्।
पर्यटन मन्त्री र मन्त्रालयका पदाधिकारीले सकारात्मक कुरा गरे पनि राहत दिने वा कुनै न कुनै माध्यमबाट सहयोग गर्ने अवस्था भने बनेको छैन। पर्यटन बोर्डले मजदूर कल्याणकारी कोषमा भएको रकम परिचालन गर्ने भनेको छ। तर, अहिलेसम्म कुनै सकारात्मक पहल हुनसकेको छैन। यसको अर्थ सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको पर्यटन र यसका मजदूरको जीवनयापन सहज बनाउन कुनै प्रयास नै भएको छैन।
नेपालमा वसन्त र शरद ऋतु आरोहणको सिजन हो। यो समयमा नै आरोही र पर्वतीय पर्यटनका मजदुरले काम पाउने हुन्। तर, यी सिजनमा पर्यटक नै नभएपछि आर्थिक कारोबार हुन सकेन। प्रत्यक्ष बेरोजगार भएका आरोहीको संख्या मात्र करीब पाँच हजार छ। कतिपय आरोही काम हुँदा पर्वतीय गतिविधिमा गाइडको रूपमा जाने र अरु बेला घरमै हुन्छन्। यो वर्ष भने वर्षैभरि घरैमा भए।
अहिले पर्वतीय पर्यटनको क्षेत्र अझै लामो समय तङ्ग्रिदैन कि भन्ने आशंका छ। विदेशी पर्यटकले यस अघि सन् २०२० को लागि गरेका बुकिङ सबै रद्द गरेर सन् २०२१ का लागि सारेका छन्। अवस्था सहज भए तीमध्ये धेरै पर्यटक पक्कै आउँछन्। तर, उनीहरुलाई आकर्षित गर्न भने जरुरी छ।
मजदूरको हितमा काम गर्न सकिएन
आरोहीको हितका विषयमा अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनेयरिङ फेडेरेसन (युआईएए), युनियन अफ एसियन अल्पाइन एशोसिएसन (यूएएए) सहितका संस्थासँग समन्वय गर्न खोजिएको थियो। तर, धेरैजसो संस्था यो समयमा समस्यामा नै रहेकोले हामीले चाहे जस्तो समन्वय र सहकार्य गरेर मजदूरको हितमा काम गर्न सकिएन। तर, प्रयास भने भइरहेको छ।
पहिलोपटक सगरमाथाको मापन आफैं मापन गरेर उँचाइ सार्वजनिक गरिएको छ। यसले पर्वतीय पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ। अहिलेसम्म नेपालबाट आरोहण गर्दा बढी र चीनबाट आरोहण गर्दा कम उँचाइको प्रमाणपत्र दिने गरिएको थियो। तिब्बतको तुलनामा नेपालमा आरोही घट्छ कि भन्ने चिन्ता गरिएको भए पनि नेपालले गर्ने सहजता र समन्वयमा भर पर्छ।
सरकारले आरोहीलाई नेपालबाट आरोहण गर्न प्रोत्साहन गर्नुपर्छ। नेपालबाट गरिने आरोहण तिब्बतको तुलनामा बढी साहसिक छ। विदेशीले यसअघि पनि नेपालबाट आरोहण गर्न महत्व दिने गरेका थिए। प्रायः वसन्त ऋतुमा सगरमाथा आरोहीको भीड लाग्ने गरेको छ। यसलाई पनि सहजीकरण गर्नु आवश्यक छ।
(सगरमाथा आरोही संघ अध्यक्ष तथा नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्ष शेर्पासँगको कुराकानीमा आधारित)