गौतम बुद्ध कपका लागि तीन टीमको घोषणा, उपकप्तान ऐरीसहित कुशल मल्ल र सन्दीप लामिछानेले नखेल्ने
बागमती प्रदेश क्रिकेट संघले चितवनमा आगामी २७ मंसीरदेखि हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताका लागि तीन टीम घोषणा गरेको छ।
घोषित तीन टीमलाई बागमती, राप्ती र नारायणी नाम दिइएको छ। बागमतीको कप्तानी राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। त्यसैगरी पारस खडका नारायणीको र विनोद भण्डारी भेरीको कप्तान छन्।
तीनवटै टिममा समान १४ खेलाडी छन्। धुमुर्स सुन्तली फाउन्डेसले चितवनको भरतपुरमा बनाइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा खेल हुन लागेको हो। नमूना मैदान भए पनि खेल्नका लागि उपयुक्त बनाइएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन्।
ज्ञानेन्द्र मल्लको टीममा सोमपाल कामी, ललित राजवंशी, रोहित पौडेल, पवन सर्राफ, प्रदीप ऐरी लगायत खेलाडी छन्। त्यसैगरी पारस खड्काको टीममा सुवास खकुरेल, करण केसी, आरिफ सेख, सन्दीप जोरा, राजु रिजाल लगायत छन्। विनोद भण्डारीको टीममा शरद भेषवाकर, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, अभिवनाश बोहोरा, आसिफ सेख लगायत खेलाडी छन्।
खेल एक दिवसीय स्वरुपमा हुने जनाइएको छ। उद्घाटन खेल २७ मंसिरमा बागमती र नारायणी खेल्नेछन्। यस्तै २८ मंसिरमा बागमती र राप्ती तथा २९ मंसिरमा राप्ती र नारायणीबीच खेल हुनेछ। लिग चरणका शीर्ष दुई टोलीले ३० मंसिरमा फाइनल खेल्नेछन्।
यो प्रतियोगितामा राष्ट्रिय टीमका उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्लको खेल भने देख्न पाइने छैन। बागमती प्रदेश क्रिकेट संघ अध्यक्ष राजु बस्न्यातका अनुसार दीपेन्द्र र कुशल घाइते भएका छन्। उनीहरुलाई फिजिओले केही समय आराम गर्न सुझाव दिएको बस्न्यातले बताए।
सन्दीप भने बाग ब्यास खेल्नका लागि अष्ट्रेलिया जाने तयारीमा छन्। उनी अर्को साता अस्ट्रेलिया जाँदैछन्। बिग लिगको १०औं संस्करण भने आजदेखि नै सुरु हुँदैछ। अष्ट्रेलिया प्रस्थान गर्नुअघि उनले पीसीआर जाँच लगायत अन्य तयारी गर्नुपर्नेछ।
प्रतियोगिताका लागि घोषित टोली र खेलाडीः