अर्काको नाममा लोकसेवाको परीक्षा दिइरहेका आठ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा लोकसेवा आयोगले लिएको परीक्षा दिइरहेका आठ जनालाई पक्राउ गरेको छ। प्रहरीको प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा सामेल नक्कली परीक्षार्थीलाई बुधबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेखका कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकाका २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेखका रणबहादुर रावललको स्थानमा परीक्षा दिने सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की छन्। त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेखका चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेखका २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।
भेरी नगरपालिका–१० जाजरकोटका धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पनि पक्राउ गरिएको छ।
प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ। यही २० मङ्सिरदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परिसकेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।