दृष्टिविहीनलाई ब्यांकिङ सेवा दिंदैनन् ब्यांकहरू, खाता खोल्न र कारोबार गर्नै मुश्किल
सरकार र ब्यांकिङ क्षेत्रले चलाएको ‘हरेक नेपालीको ब्यांक खाता’ अभियान र ब्यांकिङ पहुँच बढाइरहेको दाबीका बावजुद दृष्टिविहीनहरुलाई अधिकांश ठूला ब्यांकहरूले सहजै खाता खोल्न दिने गरेका छैनन्। खाता खोलिहाले पनि चेक र एटीएम कार्ड नै दिंदैनन्।
कास्कीका खोमराज शर्मा पूर्ण दृष्टिविहीन हुन्। दृष्टिविहीन भएकै कारण उनले ब्यांकमा खाता खोल्नदेखि चेक लिन, एटीएम कार्ड बनाउन र मोबाइल ब्यांकिङ सेवा लिन पटकपटक संघर्ष गर्नुपरेको अनुभव बटुलेका छन्।
पहिलो पटक ७/८ वर्ष अघि ब्यांकमा खाता खोल्दाको समय सम्झिंदै उनी भन्छन्, “खाता खोल्न गाह्रो, खाता खोल्दिए पनि चेक नदिने समस्या आजसम्म पनि उस्तै छ। खाता खोलेर एटीएम कार्ड र मोबाइल तथा इन्टरनेट ब्यांकिङ सेवा लिनु त हाम्रो लागि ठूलो युद्ध जित्नु सरह हो।”
मोबाइल र इन्टरनेट ब्यांकिङ सेवाका लागि जाँदा उनलाई धेरै वटा ब्यांकका कर्मचारीले ‘तपाईंलाई यो सेवा किन चाहियो र’ भन्ने प्रश्न सोधेका छन्। “ब्यांकका कर्मचारी र हाकिमहरुका अगाडि कम्प्युटर र मोबाइल चलाएर देखाएको छु, त्यो देखेपछि केही कर्मचारीले दृष्टिविहीनले पनि कम्प्युटर र मोबाइल चलाउँदा रहेछन् सम्म भने”, उनले भने।
“मेरो अधिकांश काम मोबाइल र कम्प्युटरबाटै हुन्छ, तर दृष्टिविहीनले मोबाइल ब्यांकिङ र इन्टरनेट ब्यांकिङ सेवा कसरी चलाउन सक्छन् र भन्ने सोच भएका ब्यांकर्स र उनीहरुका कर्मचारीहरु छन्।” - खोमराज शर्मा, सूचना प्रविधि विभाग संयोजक, नेपाल नेत्रहीन संघ
शर्मा नेपाल नेत्रहीन संघको सूचना प्रविधि विभाग संयोजक र राष्ट्रिय अपांग महासंघ, गण्डकी प्रदेशका अध्यक्ष हुन्। विशेष गरी दृष्टिविहीनहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम दिने तथा प्रविधिमा उनीहरुको पहुँच र प्रयोगबारे काम गर्दै आएका उनी ब्यांकले दृष्टिविहीनले प्रविधिको प्रयोग गर्न सक्छन् भन्नेबारे कल्पना समेत गर्न नसकेकोमा खिन्नता प्रकट गर्छन्।
उनी भन्छन्, “मेरो अधिकांश काम मोबाइल र कम्प्युटरबाटै हुन्छ, तर दृष्टिविहीनले मोबाइल ब्यांकिङ र इन्टरनेट ब्यांकिङ सेवा कसरी चलाउन सक्छन् र भन्ने सोच भएका ब्यांकर्स र उनीहरुका कर्मचारीहरु छन्।”
दृष्टिविहीन सरिता लामिछानेको अनुभव पनि शर्माको भन्दा फरक छैन। उनले आफ्नो र संस्थाको खाता खोल्न ७/८ वटा ब्यांक धाएकी छिन्। करीब दुई वर्ष अघि उनले राष्ट्रिय वाणिज्य ब्यांकको कीर्तिपुर शाखामा खाता खोलेकी उनले कारोबार गर्न अप्ठ्यारो पारेपछि जानै छोडिन्। ब्यांक अफ काठमाडौंमा त झगडा गरेर चेक र एटीएम लिएको उनी सुनाउँछिन्। “ब्यांंकहरुमा खाता खोल्न वा खाता खोलेर चेक, एटीएम कार्ड लगायत सेवा लिन जाँदा समस्या भएपछि ब्यांकर्स एसोसिएसनमा उजुरी गर्छु वा पत्रकार सम्मेलन गर्छु भनेपछि मात्र सेवा पाएकी छु”, उनी भन्छिन्।
लामिछानेले मोबाइल ब्यांकिङ र इन्टरनेट ब्यांकिङ सेवा लिन कतिपय ब्यांकमा त मोबाइल र कम्प्युटर चलाएर देखाउँदा पनि नपत्याएको तीतो अनुभव सँगालेकी छिन्।
नजिक भएका विभिन्न ब्यांकहरुले सहजै सेवा नदिएपछि ललितपुर महानगरपालिका १४ ताल्छीखेलमा भएको आफ्नो कार्यालयको ब्यांक खाता भक्तपुरको कौशलटारस्थित माछापुच्छ्रे ब्यांकमा खोलेको उनले बताइन्। उनी भन्छिन्, “नजिकका थुप्रै ब्यांकहरुले कारोबार गर्न नसकिने बताएपछि चिनेको मान्छे मार्फत कौशलटारमा सजिलो हुन्छ भन्ने थाहा पाएर त्यहाँ पुगेका हौं।”
‘सिइङ ह्याड्स’ नामक संस्थामा कार्यरत दृष्टिविहीन भीमा क्षेत्रीले एभरेस्ट ब्यांकको ठमेल शाखामा खाता खोलेकी छिन्। तर, उनलाई ब्यांकले चेक दिएको छैन। “१२/१३ वर्षदेखि कृषि विकास ब्यांककै खातामा कारोबार गर्छु, अफिसको तलब एभरेस्ट ब्यांकको खातामा पठाइने भएकाले मात्रै खोल्नुपरेको हो”, उनी भन्छिन्।
कृषि विकास ब्यांकमा ल्याप्चे नै लगाएर खाता खोलेकी उनले चेक पाएकी छिन्। पछिल्लो समय उनले हस्ताक्षर गर्ने तालिम समेत लिएकी छिन्। दृष्टिविहीन महिलाहरुको सशक्तिकरणमा काम गर्ने संस्था ‘प्रयत्न नेपाल’ ले केही वर्ष यता हस्ताक्षर गर्न सिकाउने गरी तालिम नै दिने गरेको छ।
तर दृष्टिविहीनहरुको अनुभवमा ब्यांकहरुमा अझै पनि उनीहरुको हस्ताक्षर नमानेर ल्याप्चे नै लगाउन लगाइन्छ। ल्याप्चे लगाएर खाता खोलेपछि पनि खातामा पैसा राख्न र झिक्न जाँदा अन्य व्यक्ति लिएर आउन भन्दै ब्यांकहरुले फर्काइदिने गरेको उनीहरूको गुनासो छ।
अधिकारकर्मी शर्माका अनुसार, नेपालको एटीएम मेशिनमा दृष्टिविहीनहरुले पैसा निकाल्न खोज्दा सबै प्रक्रिया आवाजमा आउँदैन। “मेरो खाता भएको ५/६ वटा ब्यांकको एटीएम मेशिन त्यस्तै पाएको छु। त्यसैले एटीएमबाट पैसा निकाल्न अरु साथी लिएर जानुपर्छ”, उनी भन्छन्।
“राष्ट्र ब्यांकको नीतिले कसैलाई कहीं पनि विभेद गरेको छैन। ब्यांक खाता खोल्न भर्नुपर्ने फाराम भरेर र आवश्यक कागजात दिएपछि खाता खोल्दिनुपर्छ र खाता खोलेपछि खातावालले लिन चाहेको सेवामा पनि विभेद गर्नुहुँदैन।” - नारायणप्रसाद पौडेल, सहप्रवक्ता, नेपाल राष्ट्र ब्यांक
नेपाल राष्ट्र ब्यांकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल ब्यांक तथा वित्तीय संस्थाहरूले दृष्टिविहीन भनेर सेवा नदिने, अप्ठ्यारो पार्ने वा थप कागजपत्र खोज्ने जस्ता फरक व्यवहार गर्नै नहुने बताउँछन्। उनी भन्छन्, “राष्ट्र ब्यांकको नीतिले कसैलाई कहीं पनि विभेद गरेको छैन। ब्यांक खाता खोल्न भर्नुपर्ने फाराम भरेर र आवश्यक कागजात दिएपछि खाता खोल्दिनुपर्छ र खाता खोलेपछि खातावालले लिन चाहेको सेवामा पनि विभेद गर्नुहुँदैन।”
ब्यांकिङ सेवामा भोग्नुपरेको समस्याबारे दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिहरुका लागि काम गर्ने अधिकारकर्मीहरुले ब्यांकर्स एसोसिएसनदेखि राष्ट्र ब्यांकका उच्च अधिकारीहरुसँग पनि छलफल गरेका छन्। तर, त्यसपछि पनि व्यवहारमा सुधार नदेखिएको उनीहरुको अनुभव छ। राष्ट्र ब्यांकका सहप्रवक्ता पोखरेलले यसबारेमा आफूहरुले बुझ्ने बताउँदै समस्या भएमा राष्ट्र ब्यांकको गुनासो शाखामा सम्पर्क गर्न आग्रह गरेका छन्।
दृष्टिविहीनहरुका अनुसार, ब्यांकमा पैसा राख्न वा झिक्न जाँदा हरेक पटक नागरिकताको फोटोकपी र सक्कल दुवै लैजानुपर्छ। साथै, अर्को आँखा देख्ने कोही व्यक्तिलाई पनि सँगै लिएर जानुपर्छ।
शर्मा र लामिछाने आफूहरूले वर्षौंदेखि अरुलाई सशक्तिकरण र आत्मनिर्भरताको लागि सिकाउँदै आए पनि आफूहरू नै ब्यांकमा जाँदा अर्को मान्छे लिएर जानुपर्ने विडम्बना रहेको बताउँछन्। नागरिकता सधैं बोक्नुपर्ने र ब्यांकमा जाँदा साथमा अरु लिएर जानुपर्दा आफ्नो गोपनीयता र स्वतन्त्रता बाँकी नरहने उनीहरूको भनाइ छ।
संविधान, महासन्धि र ऐन विपरीत
नेपालको संविधानको धारा १८ को समानताको हक छ भने अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि ‘सीआरपीडी महासन्धि २००६’ को धारा ९ मा सबै संरचना पहुँचयुक्त हुनुपर्ने उल्लेख छ। यो महासन्धिमा नेपाल सरकारले पनि हस्ताक्षर गरिसकेको छ।
त्यस्तै, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ ले पनि सबै सेवा र संरचना सबै प्रकारका अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त हुनुपर्छ भनेको छ। तर, संविधान, महासन्धि र ऐन नियमावली विपरीत दृष्टिविहीनहरुले विभिन्न ठाउँका साथै ब्यांक तथा वित्तीय संस्थाहरुमा विभेदपूर्ण व्यवहार भोग्नुरेको छ।