काठमाडौं महानगर प्रमुख शाक्यको स्वीकारोक्तिः अपेक्षा अनुसार काम गर्न सकेनौं
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन्।
समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको उनले बताएका छन्। “खानेपानी, ढल, सडक, बिजुली, इन्टरनेटको तार लगायतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलग अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन्”, प्रमुख शाक्यले भने।
तोकिएको निकायले काम नगर्ने तर, दोष महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए। महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृत्तिले चाहेर पनि धेरै काम गर्न नसकेको उनले बताए।
काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको शाक्यले दाबीले गरे। रानीपोखरीको बिचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए।