खाद्य कम्पनी नेपालगञ्जद्वारा समर्थन मूल्यमा धान खरीद शुरू
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरीद कार्य शुरू गरेको छ। कम्पनीले किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा धान खरीद गर्न शुरू गरेको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगञ्जले कुपन प्रणालीबाट धान खरीद गर्ने व्यवस्था गरेपछि किसानहरूले सजिलै धान बिक्री गर्न पाएका छन्। कुपन अनुसार आफ्नो पालो परेको दिन प्रतिकुपन ५० क्वीन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाका कारण किसानहरू दैनिक रूपमा आफ्नो कुपन अनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयसम्म पुग्ने गर्छन्। कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरणसहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको बताए।
कुपन प्रणाली लागू गर्दा धान लिएर बिक्रीका लागि लाइन लाग्नुपर्ने स्थितिको समेत अन्त्य भएको छ। कुपन प्रणालीबाट धान खरीद भएपछि सहज भएको कृषकहरूले बताएका छन्। कुपन प्रणाली लागु गरेपछि कुपन वितरणमा भने भीड लाग्ने गरेको छ।
कुपन लिनका लागि किसानले लालपुर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको छ। यसबाट अधियाँ बटियामा खेति गर्ने किसानले कुपन पाउन सकेका छैनन्। त्यसैले विचौलियाहरूले चलखेल गरिरहेको गुनासो पनि किसानहरूको छ।
स्थानीय किसान सिराज अहमदले ५० क्विन्टल धान बिक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताए।
कम्पनीको मुख्य शाखा कार्यालय नेपालगञ्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्वीन्टल मोटा र मध्यम धान खरीद गर्ने लक्ष्य राखेको छ। सरकारले मोटा धान प्रतिक्वीन्टल २ हजार ७३५ रूपैयाँ र मध्यम धानको २ हजार ८८५ रूपैयाँ समर्थन मूल्य तोकेको छ।