ओली र दाहालबीच बालुवाटारमा एक घण्टा छलफल
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा छलफल भएको छ। उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। नेकपाभित्र दुवै अध्यक्षको शक्ति संघर्ष चलिरहेका बेला उनीहरूको भेटवार्ता भएको हो।
“उहाँ (दाहाल) आउनुभएको थियो। दुई जनाबीच एक घण्टा कुराकानी भयो। तर, मिडियामा भन्ने गरिको कुनै निष्कर्ष आएको छैन”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
यसअघि दुई अध्यक्षबीच सचिवालय बैठक बस्नुअघि २० मंसीरमा बालुवाटारमै संवाद भएको थियो। त्यसअघि २५ कात्तिकदेखि उनीहरूबीच कुनै संवाद भएको थिएन।
बुधबारको भेटमा स्थायी कमिटी बैठक र पार्टीभित्रको संकट समाधानका विषयमा दुई अध्यक्षबीच कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
“स्थायी कमिटी बैठक, पार्टीभित्रको समस्यालगायतका विषयमा सामान्य कुराकानी भयो”, सापकोटाले भने।
२१ मंसीरदेखि नेकपाको स्थायी कमिटी बैठक शुरू भएको थियो। बैठक २८ मंसीरमा बस्ने गरी त्यसै दिन स्थगित गरिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। तर, उनले आफू बैठकमा नआउनुको कारण खुलाउँदै स्थायी कमिटीलाई पत्र लेखेका थिए।
उनले अध्यक्ष दाहालले आफूविरुद्ध पेश गरेको ‘अभियोग–पत्र’मा छलफल हुन नसक्ने र त्यस्ता छलफलमा आफू सहभागी नहुने बताएका थिए।
त्यो दिनको बैठकमा दुवै अध्यक्षका प्रस्ताव र पत्रलगायतका दस्तावेज सदस्यहरूलाई बाँडिएको थियो। पार्टीको आन्तरिक समस्याबारे अजेण्डा तय गरिएको थियो।
यसबीचमा पार्टीभित्रको संकट समाधानका लागि नेताहरूबीच औपचारिक, अनौपचारिक संवाद जारी राख्ने विषयमा बैठकमा छलफल भएको थियो। सोही अनुसार अध्यक्ष दाहाल बुधबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।