पर्यटन चलायमान पार्न ‘जाऔं है पोखरा' अभियान
सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले बुधबारदेखि ‘जाऔं है पोखरा' अभियान शुरु गरेको छ।
कोभिड–१९ को महामारीले थलिएको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सङ्घले बुधबारदेखि चार दिनसम्म भ्रमण कार्यक्रम सञ्चालन गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायी लगायतसरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ। पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ।
सङ्घले १८ वर्षदेखि सो अभियान शुरु गर्दै आएको छ। कोरोना संक्रमण महामारीले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले बताए।
अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकारको सहभागिता रहनेछ। कोरोना सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले अभियानलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।