वल्ड पावर लिफ्टिङ च्याम्पियनसिपमा नेपाललाई तीन स्वर्ण र एक रजत पदक
भारतमा भएको वल्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ।
वल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही ५ देखि ८ डिसेम्बरसम्म भएको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जिते। यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जितेको एशियन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिए।
सिनियरतर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गरे। प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागी थिए। सहभागी पाँच खेलाडीमा चार पोखराका र एक सुर्खेतका थिए।
प्रतियोगितामा सहभागी हुन जानुअघि नेपाल पावर लिफ्टिङ एशोसिएशनले पोखरामा पत्रकार सम्मेलन गरेर कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो। एशोसिएशनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ।