च्याम्पियन्स लिगमा यसकारण रोकियो पीएसजी र इस्तानबुलबीच चलिरहेको खेल
च्याम्पियनस लिग अन्तर्गत गए राति फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र टर्कीको इस्तानबुल बेसाकसेहिरबीच खेल भइरहेको थियो। तर, फोर्थ अफिसियलले रंगभेदी शब्द प्रयोग गरेको आरोप लागेपछि १४औँ मिनेटमा नै खेल अवरुद्ध भएको छ।
फोर्थ अफिसियल सेबास्टियन कोल्टेस्कुले अवे खेलका लागि फ्रान्स पुगेको इस्तानबुलका सहायक प्रशिक्षक पिएरे वेबोलाई रंगभेदी शब्द प्रयोग गरेको आरोप लागेको थियो। सवालजवाफमा उत्रिएका वेबोलाई टचलाइनछेउमा रेफ्रीले रातो कार्ड पनि देखाएका थिए। वेबो क्यामरुनको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्।
त्यसपछि इस्तानबुलका सबै खेलाडी प्रतिवाद गर्न टचलाइनमा पुगेका थिए। उनीहरुसँग पीएसजीका खेलाडी पनि टच लाइन पुगेका थिए। दुवै टीमका खेलाडी केही बेर टचलाइनमा उभिएर ड्रेसिङ रुम गएका थिए।
यसरी खेल सुरु भएको १४ मिनेटमा नै रोकिन पुगेको थियो। उक्त खेल आज खेलाउने युईएफएले जनाएको छ। खेल १४ मिनेटबाट शुरु हुनेछ र नयाँ अफिसियलहरुले खेलाउनेछन्। १४ मिनेटसम्म खेलमा कुनै गोल भएको छैन।
उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै युईएफएले अनुसन्धान गर्ने भएको छ। खेलकूदमा समर्थकले रंगभेदी व्यवहार गर्दासमेत क्लब र देशलाई कारबाही हुन्छ। तर, अफिसियलमाथि नै आरोप लागेपछि युईएफएले जाँच गर्ने जनाएको हो।
यो समूहबाट हिजोको खेलमा म्यानचेस्टर युनाइटेड आरबी लेइपजिङसँग पराजित भएर बाहिरिएपछि पीएसजी दोस्रो चरणमा पुगिसकेको छ। इस्तानबुल पनि पाँच खेलबाट तीन अंकसहित समूह चरणबाटै बाहिरिइसकेको छ।