म्यानेचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, बार्सालाई हराउँदै युभेन्टस समूह विजेता
आरबी लेइपजिङसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।
गए राति भएको समूह ‘एच’ को खेलमा म्यानचेस्टर युनाइटेड आरबी लेइपजिङसँग ३-२ गोल अन्तरले पराजित भएको छ। पराजयसँग म्यानु समूहको तेस्रो स्थानमा धकेलिएर समूह चरणबाटै बाहिरिएको हो।
म्यानुले ६ खेलबाट नौ अंक बटुलेको छ। सो समूहमा पीएसजीको पनि नौ अंक नै छ र उसले पाँच खेल मात्र खेलेको छ। शीर्षस्थानको लेइपजिङको १२ अंक भएको छ।
म्यानचेस्टरलाई समूह चरणबाट बाहिर पठाउन लेइपजिङले दोस्रो मिनेटमा नै एन्जेलिनोको गोलबाट अग्रता लिएको थियो। एमाडोउ हैदराले १३औँ र जस्टिन क्लुभर्टले ६९औँ मिनेटमा गोल गर्दा म्यानु तीन गोलले पछि परेको थियो।
८०औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टी गोल गरेर म्यानुलाई खेलमा फर्काए। लगत्तै ८२औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै आशा जगाएका थिए। तर, थप गोल गर्न नसक्दा म्यानु निरास भएर घर फर्किनु परेको छ।
च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको अर्को खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गर्दै समूह ‘जी’ को शीर्ष स्थान ओगटेर अघिल्लो चरणमा प्रवेश गरेको छ।
दुवै टीमको १५ अंक पुगेको छ। यसअघि दुवै टीम अघिल्लो चरणमा पुगिसके पनि यो खेलले समूह विजेताको टुङ्गो लगाएको हो। यो सन् २०१६ यता समूह चरणमा बार्सिलोनाको पहिलो हार।
बार्सिलोनालाई उसको घरेलु मैदान नोउ क्याम्पमा नै पराजित गर्ने क्रममा रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरे। अर्को एक गोल वेस्टोन म्याककेन्नीले गरेका थिए।