स्वयम्भु क्षेत्रलाई संरक्षण गरेरै चक्रपथ विस्तार गर्छौंः मन्त्री नेम्वाङ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भु क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताएका छन्।
स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरूसँग उनले मंगलबार भेट गरी स्वयम्भु क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताएका हुन्।
मन्त्री नेम्वाङले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचीको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्रभित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताए।
हजार बुद्धसहित बोधि चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ हरेको पनि मन्त्री नेम्वाङ्ले स्पष्ट पारे।
भत्काउने भन्दा बनाउने ढंगले सकारात्मक रूपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको पनि उनले बताए। प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विश्वस्त हुन उनले आग्रह गरे।
छलफलमा स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजना अनुसार स्वयम्भुको महत्वपूर्ण भाग बौद्धकलासहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्धसहितको बोधि चैत्य रहेको क्षेत्र भत्काइनुपर्ने भएकाले विरोध गरिएको बताए।
यसबाट स्वयम्भु क्षेत्र विश्व सम्पदाको सूचीबाट समेत हटने जोखिम हुने भएकाले त्यसको संरक्षण गर्न मन्त्री नेम्वाङसमक्ष आव्हान गरिएको बताए।सरकारले चक्रपथ विस्तारको दोस्रो अभियान अन्तर्गत कलंकीदेखि महाराजगञ्ज हुँदै धोवीखोला सम्मको सडक क्षेत्र विस्तार गर्दैछ।
चक्रपथ विस्तार गर्दा स्वयम्भुको पछाडीपट्टि रहेको हजार बुद्धसहितको बोधि चैत्य हटाइनुपर्ने भएपछि काठामाडौं महानगरपालिकाले त्यसको प्रक्रिया समेत अगाडि बढाइसकेको छ।
त्यसपछि स्वयम्भु क्षेत्रका सरोकारवालाहरूले मन्त्री नेम्वाङलाई भेटी उक्त क्षेत्रलाई जोगाई सडक निर्माण गर्नुपर्ने माग गरेका हुन्।