आठ वर्षपछि सञ्चालनमा आयो जनकपुर विमानस्थलको टर्मिनल भवन
निर्माण शुरू भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरे। कार्यक्रममा मन्त्री भटटराईले जनकपुर विमानस्थलको विकासमा सरकार दृढ रहेको बताए।
त्यसका लागि तीन वटै तहका सरकारको बीचमा समन्वय र सहकार्य आवश्यक रहेको पनि उनले बताए। यस्तै, जनकपुरलाई आकर्षक धार्मिक पर्यटकीय नगरीको रूपमा विकास गर्न संघीय सरकार अग्रसर रहेको मन्त्री भट्टराईले बताए।
कार्यक्रममा प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण भएसँगै आवागमनमा सहज हुने र पर्यटकीय गतिविधि समेत बढ्ने बताए।
जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल राख्नुपर्ने बताए। यो विमानस्थलमा २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह हुँदै आएको थियो।
२०६९ सालदेखि निर्माण शुरू भएको नयाँ टर्मिनल भवन करीब ४५ करोड रूपैयाँ लागतमा निर्माण भएको हो। नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २५० यात्रु बस्न सक्ने क्षमता रहेको छ।