प्रधानमन्त्री ओलीले भने- ‘देशमा हत्या हिंसाको कालखण्ड फर्काउन खोजिँदैछ’
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिस भइरहेको बताएका छन्। काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवास गृहको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताए।
पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गरे। मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताए।
“यस्तै खालको विकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ। अब फेरि त्यतैतिर फर्काउन खोजिएको छ। त्यस्ता समूह कमाउने होइन, सम्पत्ति दिएन भनेर हत्या गर्ने प्रवृत्तिमा लागेका छन्”, प्रधानमन्त्री ओलीले भने, “अहिले पंखा चलाएर आँधी ल्याउन खोजिरहेका छन्, त्यस्तो प्रवृतिलाई सफल हुन दिन्नौं।”
आफू नेतृत्वको सरकारले यस्ता गतिविवधि हुन नदिने तर्फ सचेत रहेको समेत उनले दाबी गरे।
प्रधानमन्त्री ओलीले देशमा अहिले राजनीतिक समस्या निम्त्याउन खोजिएको पनि बताए। राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएपनि सफल नहुने प्रधानन्त्रीको भनाइ छ।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको उल्लेख गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रूपैयाँ सहयोग गरिन्।