सगरमाथाको उँचाइ विवाद अन्त्य, आरोहणमा नेपाललाई घाटा हुन सक्ने
चीनले नेपालको तुलनामा कम उँचाइको मान्यता दिएकै कारण सगरमाथा आरोही नेपालतर्फबाटै आरोहण गर्न रुचाउने गरेका थिए। तर, अब उँचाइ समान भएपछि जहाँबाट छिटो र सहज हुन्छ उतै आरोही जाने हुँदा चीनको तुलनामा नेपालबाट हुने सगरमाथा आरोहण कम हुन सक्छ।
नेपाल र चीनबीचको सगरमाथाको उँचाइ सम्बन्धी लामो समयदेखिको विवाद अन्त्य भएको छ। नेपाल र चीनले संयुक्त रूपमा मापन गरेको उँचाइबाट सगरमाथा करीब एक मिटरले बढेर ८८४८.८६ मिटर भएको छ। चीनले पटक-पटक सगरमाथाको उँचाइ मापन गर्दै आएको भएपनि सन् २००५ देखि भने ८८४४.४३ मिटरलाई मान्यता दिँदै आएको छ।
सगरमाथाको उँचाइ मापन गर्ने क्रममा विभिन्न मुलुकले गरेको सर्वेक्षणपछि आ-आफ्नै दाबी पेश गर्ने गरेका थिए। सन् १९७५ मा चिनियाँ स्टेट ब्यूरो अफ सर्भेइङ एण्ड म्यापिङ (एसबीएसएम)ले नै सगरमाथाको उँचाइ ८८४८ मिटर भनेको भएपनि सो टोलीले पुनः सन् २००५ मा गरेको सर्वेक्षणबाट सगरमाथाको (चट्टानी उँचाइ) रक हाइट ८८४४.४३ मिटर भएको बताउँदै आएको थियो। चीनले यही उँचाइलाई कायम गराएको थियो। नेपालले भने सन् १९५४ मा भारतीय सर्वे विभागले गरेको मापनबाट आएको ८८४८ मिटरलाई मान्दै आएको थियो।
भारतीय सर्वे विभागका बीएल गुलातीको नेतृत्वको एक टोलीले सन् १९५२ देखि १९५४ सम्मको अवधिमा सगरमाथाको उचाइ मापन गरेको थियो। सोही टोलीले गरेको सर्वेक्षणबाट सार्वजनिक भएको सगरमाथाको ८८४८ मिटरको उँचाइलाई नेपाल सरकारले अहिलेसम्म मान्यता दिँदै आएको थियो। यही उँचाइलाई नेपाल, भारतसहित विश्वले नै मान्यता दिँदै आएकोमा अब भने नयाँ उँचाइ ८८४८.८६ ले संसारलाई नयाँ सन्देश भएको छ।
विभिन्न देशबाट पटकपटक मापन, फरक उँचाइ
सगरमाथाको उँचाइ नाप्ने कार्यमा विभिन्न देशले पटक-पटक मापन गरेका छन्। भारतले नै सन् १८४७ मा ८७७८ र सन् १८५० मा सगरमाथाको उँचाइ ८८४० मिटर भएको पनि उल्लेख गरेको थियो। चीनले आफैंले मापन गरेको आधारमा तिब्बतबाट सगरमाथा आरोहणमा जाने आरोहीलाई ४ मिटर कम अर्थात ८८४४.४३ मिटर उँचाइको प्रमाणपत्र दिने गरेको छ।
तिब्बतबाट सगरमाथा आरोहण गर्दा ४ मिटर कमको प्रमाण-पत्र आउने भए पनि नेपालतर्फको तुलनामा आरोहण सहज हुने भएकोले वार्षिक ६०० भन्दा बढी तिब्ततर्फबाटै आरोहणमा जान्छन्। उँचाइका हिसाबले भने तिब्बतबाट आरोणमा गएका आरोही पनि पुनः नेपालतर्फको मोहडाबाट सगरमाथा आरोहण गर्नमै लालायित हुन्छन्।
सर्वे अफ इण्डियाका अनुसार सन् १८८० र १९०२ मा दार्जिलिङबाट भएको प्रयासमा पनि सगरमाथाको उँचाइको अध्ययन गरिएको उल्लेख छ। कर्णेल बुर्राड नेतृत्वको टोलीले गरेको उक्त अध्यनमा सगरमाथाको उँचाइ ८८८२ मिटर भएको निष्कर्ष निकालेको थियो।
अमेरिकाको बोस्टन संग्राहलयका प्राध्यापक ब्रड वाशबर्नले सन् १९९९ मा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र राडार प्रविधि प्रयोग गरेर सगरमाथको उँचाइ ८८५० मिटर रहेको घोषणा गरे। यो उँचाइलाई समुद्र सतह गहिरिँदै जाँदा हिमालको उँचाइ बढेको भन्ने आधार लिइएको भएपनि यसलाई नेपालले मान्यता भने दिएन।
सन् १९६६ देखि सन् १९६८ मा चीनले आफ्नोतर्फबाट सगरमाथा मापनको काम अघि बढाएको थियो। त्यतिबेला पनि पहिलो पटकको सर्वेक्षण अनुसारकै उँचाइ ८८५० मिटर देखिएको बतायो। नापी विभागका अनुसार चीन र भारतले बेग्लाबेग्लै तथा अमेरिका र इटलीसँग संयुक्त रूपमा सगरमाथाको उँचाइ पटक-पटक नापेका छन्।
सगरमाथाको उँचाइ नाप्न भएको आधिकारिक प्रयास नै सात पटक भन्दा बढी भइसकेको भएपनि फरक-फरक उँचाइका कारण हाल विश्वले मानेको उचाइ भने ८८४८ मात्रै भएको नापी विभागका अधिकारी बताउँछन्। अब भने नयाँ उँचाइ आएको र यो नै आधिकारिक भएको विभागको भनाइ छ।
नेपालतर्फको आरोहण कम हुन सक्ने
समान उँचाइ भएको कारण अब सगरमाथाको आरोहणमा नेपालतर्फको आकर्षण भने कम हुन सक्ने पर्वतीय पर्यटन विज्ञ तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउँछन्। शेर्पा भन्छन्, ‘‘तिब्बततर्फबाट हुने आरोहण सस्तो, छिटो र सजिलो भएको हुँदा नेपालालाई घाटा हुन सक्छ।’’
तिब्बततर्फबाट आरोहण गर्दा कम्तिमा नेपालको तुलनामा १० दिनसम्म छिटो हुन्छ भने तिब्बतले आधारशिविरसम्म नै गाडी पुर्याएको र रोयल्टी पनि नेपालको तुलनामा सस्तो भएको हुँदा नेपाल आउने अन्तर्राष्ट्रिय सगरमाथा आरोही चीनतर्फ जान सक्ने बुझाइ शेर्पाको छ।
चीनतर्फबाट सगरमाथा चढेका आरोही उँचाइकै कारण नेपालतर्फ आउने गरेका थिए। सगरमाथाको उँचाइ नेपाल र चीनबीच फरक हुँदा सगारमाथा आरोहणको प्रमाण-पत्र पनि दुवै मोहडाबाट आरोहण हुँदा फरक-फरक उँचाइ उल्लेख हुने गरेको थियो। नेपालतर्फबाट ८८४८ मिटर र चीनतर्फबाट आरोहण गरेको प्रमाणपत्रमा सगरमाथाको उचाइ ८८४४.४३ मिटर उल्लेख हुन्थ्यो।
अब समान रूपमा उँचाइको प्रमाणपत्र पाउने भएपनि आरोहीले सहजता पनि हेर्न सक्ने शेर्पा बताउँछन् नेपालतर्फबाट वार्षिक ५०० जना सगरमाथा आरोहणमा जाने गरेका छन् भने चीनबाट करीब ६०० जनाले आरोहण गर्ने गरेका छन्।
परम्परागतदेखि आधुनिक विधिसम्मबाट आधिकारिक उँचाइ
नेपालले गरेको मापन प्रणालीका आधारमा उँचाइ कायम गर्ने र उँचाइसम्बन्धी विवादलाई निरुपण गर्न नेपालले आफैं सगरमाथाको उँचाइ सार्वजनिक गरेको हो। नेपालले ८ जेठ २०७६ मा नापी विभागका प्रमुख नापी आधिकृत खिमलाल गौतम संयोजकत्वको एक टालीले सगरमाथा आरोहण गरेरै सगरमाथाको उँचाइ मापन गरेको हो। सोही टोलीले गरेको मापनबाट निस्किएको परिणामलाई मंगलबार सार्वजनिक गरेको नापी विभागको भनाइ छ।
नापी विभागका निर्देशक तथा सूचना अधिकारी दामोदर ढकाल भन्छन्, ‘‘सर्वेक्षण टोलीले विभिन्न प्रकारका मापन विधिबाट ल्याएको तथ्यांकलाई प्रशोधन गरेर उँचाइ निकालिएको हो।’’ विभागका अनुसार तथ्यांक संकलनमा परम्परागतदेखि आधुनिकसम्मका विधि प्रयोग गरेर उँचाइ मापन गरिएको हो। नापी विभागका अनुसार परिशुद्ध समतलन र त्रिकोणमितिय समतलनका दुई नापी विधि प्रयोग भएको छ।
यसबाहेक ग्लोबल न्याभिगेशन स्याटेलाइट सिस्टम (जीएनएसएस), गुरुत्वाकर्षण र जीनएसएस, ग्राउन्ड पेनिट्रेटिङ राडार (जीपीआर), क्लाइमेटोलोजिकल डाटासहितका विधि प्रयोग गरेर सगरमाथाको उँचाइ मापन भएको हो। यी विधिहरूमा पनि सबैभन्दा उपयुक्त एवं तथ्यांकमा आएका आधारमा उत्कृष्ट पद्धतिलाई अवलम्बन गरिएकोले पनि वास्तविक उँचाइ पहिलोपटक नेपालले नै सार्वजनिक गरेको विभागको भनाइ छ।
मंगलबार नेपाल र चीनको संयुक्त टोलीबाट सगरमाथाको नयाँ उँचाइ घोषणा गरिएको हो।
२५ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमण हुँदा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा सगरमाथाको उँचाइ घोषणा गरिने उल्लेख भएको थियो। दुई देशबीचको सहमति र मित्रताको प्रतीककै कारण सगरमाथाको उँचाइ संयुक्त रूपमा घोषणा भएको नापी विभागले बताएकाे छ।