उपप्राध्यापकमाथि आक्रमण गर्नेलाई कारबाही नभएको भन्दै प्रदर्शनमा उत्रिए विद्यार्थी
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण भएको ६३ दिन भइसक्दा समेत आक्रमणकारीलाई कारबाही नभएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन्।
मंगलबार विद्यार्थीहरूले उपप्रध्यापक चलाउनेलाई न्याय दिनुपर्ने भन्दै विश्वविद्यालय परिसरभित्रै नारा जुलुससहित प्रदर्शन गरेका हुन्। कीर्तिपुरस्थित विश्वविद्यालयभित्र नाराजुलुससहित विद्यार्थीले प्रदर्शन गरे।
उपप्राध्यपकमाथि भएको आक्रमणको निन्दा गर्दै विद्यार्थीहरूले दोषीलाई कारबाही गर्न प्रशासन उदासिन बनेकोप्रति आक्रोश पोखेका थिए।
प्रदर्शनपछि विद्यार्थीहरूले विश्वविद्यालयभित्र भय र त्रासको वातावरण रहेकाले प्राज्ञिक गरिमा बचाउन सहयोगका लागि नागरिक समाज, सञ्चारकर्मी र प्राज्ञिक समुदायलाई अपील जारी गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थी जगत विकले दोषीहरू खुलेआम हिंडिरहेकाले विश्वविद्यालयमा भय र त्रासको वातावरण कामय रहेको बताए। विद्यार्थीहरूले आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन्।