बेलायतमा ९० वर्षीया महिलाले लिइन् फाइजरको पहिलो कोभिड–१९ खोप
बेलायतकी ९० वर्षीया मार्गरेट किनान फाइजरले बनाएको कोभिड–१९ खोप लिने पहिलो व्यक्ति भएकी छिन्।
फाइजर र बायोनटेकले उत्पादन गरेको कोभिड खोप पहिलो खेपमा आठ लाख डोज दिइनेछ। अर्को हप्ताबाट दिन शुरु गरिने खोप उद्घाटन भने मंगलबारै गरिएको छ। अर्को हप्ता ९१ वर्ष पुग्ने किननले खोप लिएपछि भनिन्, “जन्मदिन पूर्व दिइएको उत्तम उपहार।”
खोप लिने पहिलो व्यक्ति हुन पाउनु सम्मानयोग्य विषय भएको भन्दै उनले अब आफूले परिवार र साथीहरुसँग नयाँ वर्ष मनाउन पाउने बताइन्। उनले भनेकी छिन्, “म सबैलाई यो खोप लिन आग्रह गर्छु। यदि मैले ९० वर्षको उमेरमा लिएँ भने सबैले लिन सक्छन्।”
यो खोप डिसेम्बर अन्त्यसम्ममा ४० लाख डोज उत्पादन गर्ने लक्ष छ। बेलायतले पहिलो चरणमा ८० वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी तथा जोखिममा रहेकालाई खोप दिने योजना बनाएको छ।
गत साता नियामक निकायले अनुमति प्रदान गरेर औपचारिक रुपमा यो खोप लगाउने बेलायत पहिलो देश हो। बेलायतका स्वास्थ्य सचिव म्याट हान्कोकले भनेका छन्, “हामीले लामो बाटो तय गर्नुछ तर, अब बाटो स्पष्ट भएको छ।”
यो खोप लगाउन बाध्यकारी बनाइएको छैन। अहिले आठ लाख डोज मात्र तयारी अवस्थामा छ। तर, अर्को वर्षसम्ममा बेलायतमा सबैका लागि उपलब्ध हुनसक्ने बताइएको छ।