शिक्षकको गोली हानी हत्या
मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेमा मंगलबार बिहान स्थानीय एक शिक्षकलाई अपरिचित समूहले गोली हानी हत्या गरेको छ।
स्थानीय सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र श्रेष्ठको बिहान ७ बजे एक समूहले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा भूमिगत विप्लव समूहको पार्टीेको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ।
श्रेष्ठको हत्यापछि उनका आफन्तले प्रहरीलाई फोन गरेर जानकारी दिएका थिए। गाडी नचल्ने दुर्गम पहाडी गाउँ भएकाले प्रहरी घटनास्थलमा पुगिसकेको छैन। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले आफूहरु त्यसतर्फ पैदल जाँदै गरेको बताए।
आफन्तको उपचारमा विराटनगर आएका मिक्लाजुङ गाउँपालिका १ का वडा सदस्य प्रवीण लाहरुङ राईले घटनाबारे एक्कासी सुनेको र घटना कसरी र किन भयो थाहा नभएको बताए। उनका अनुसार, शिक्षक श्रेष्ठको हत्या भएपछि गाउँ शोकमा छ।