बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहर विसर्जन गर्न मिल्छः शहरी विकास मन्त्रालय
अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा आउनसक्ने शहरी विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो समय निर्माणले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो। केही समय कोरोनाभाइरस सङ्क्रमणका कारण काम हुन सकेको थिएन। त्यसपछि निर्माण कम्पनीको आलटाल गरेको भए पनि अहिले तीव्र गतिमा काम भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए।
उनका अनुसार ल्याण्डफिल साइट निर्माणअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ। दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही १५ मंसीरदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।
हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो। त्यहाँ करबि १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुँदैछ।
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २२ वैशाख २०७६ मा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग रु.३४ करोड ६८ लाख ७४ हजार ८९५ मा ठेक्का सम्झौता गरिएको थियो। बाँध निर्माणको जिम्मा शहरी विकास मन्त्रालय र फोहोर विजर्सनस्थलसम्म जाने बाटो निर्माणको जिम्मा सडक विभागलाई दिइएको छ।
१३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ। उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ।