ल्याण्डमार्क सामूहिक बलात्कार घटनाः मुख्य अभियुक्तलाई पाँच वर्ष कैदको फैसला सदर
उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र पीडितलाई रु.७ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै फैसला सदर गरेको हो।
पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले हिजो काठमाडौँ जिल्ला अदालतले गरेको फैसला सदर गरेको हो। काठमाडौँ जिल्ला अदालतले २७ कात्तिक २०७६ मा उक्त फैसला गरेको थियो।
दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा ७ माघ २०७५ मा शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए। उक्त घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २१ कात्तिक २०७६ मा मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई रु.७ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध २५ भदौ २०७७ मा उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो। सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको हो।