‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ पुस्तक सार्वजनिक
‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ। महिला सुरक्षा दबाब समूहले प्रकाशन गरेको पुस्तक सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रम तथा भर्चुअल दुवै माध्यमबाट लेखकहरूबाटै लोकार्पण गरिएको छ।
कार्यक्रममा संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले पुस्तक ऐतिहासिक दस्तावेज भएको भन्दै तर केही तथ्य तथ्यांक र सन्दर्भ फरक परेको देखिएकाले अर्को संस्करणमा सुधारिएर आउनुपर्ने बताइन्।
यस्तै, नेपाली कांग्रसकी सचेतक पुष्पा भुसालले नेपालको महिलाहरूको बारेमा गहन अध्ययन गर्न चाहनेका लागि राम्रो स्रोत सामग्री भएको बताइन्।
जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले पनि राम्रो अध्ययन सामग्री भएको भन्दै केही त्रुटी सच्याएर र अद्यावधिक गरेर निश्चित समयमा यस्तो पुस्तक निरन्तर प्रकाशन हुनुपर्ने बताइन्।
महिला सुरक्षा दबाब समूहकी सल्लाहकार तथा उद्यमी अम्बिका श्रेष्ठले महिलाहरूको यो योगदान महिलाहरूले मात्रै होइन अझ धेरै पुरुषहरूले पढ्नैपर्ने बताइन्। महिलाहरूको इतिहास नलेखिने सन्दर्भमा यो पुस्तक ऐतिहासिक भएको उनको भनाइ छ।
कार्यक्रममा समूहका अध्यक्ष साबित्रा थापाले महिलाहरूले विभिन्न क्षेत्रमा दिएको ऐतिहासिक योगदान लिपिबद्ध नभएकै कारण आफूहरूले यो प्रयास गरेको बताइन्।
यो पुस्तक प्रकाशन हुन करीब डेढ वर्ष लागेको उनको भनाइ छ। महिलाहरूको योगदानको विभिन्न २५ वटा क्षेत्रको एक शताब्दीको इतिहास लेखिएको प्रकाशक महिला सुरक्षा दबाब समूहले जनाएको छ। ६५२ पृष्ठको यो पुस्तकमा महिला आन्दोलनको एक शताब्दीमा विभिन्न क्षेत्रमा महिलाहरूले गरेको संघर्ष र सहभागिताको अवस्थालाई समेटिएको छ। पुस्तक ४१ जना लेखकहरूले लेखेका हुन्।
महिला अधिकारका क्षेत्रमा कार्यरत ३ दर्जनभन्दा बढी संस्था आवद्ध महिला सुरक्षा दबाब समूह २८ वर्षदेखि महिला हिंसा अन्त्य तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको छ।