यस वर्ष ‘भर्चुअल’ किम्फ, पाँच दिनमा ३० वटा फिल्म देखाइने
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौं संस्करण ‘भर्चुअल’ रूपमा आयोजना हुने भएको छ। यो वर्षको किम्फमा ३० वटा चलचित्र देखाइनेछ।
२५–२९ मंसीरमा हुने फेस्टिभलमा १५ मुलुकका १८ वटा चलचित्रहरू प्रदर्शनका लागि छानिएका हुन। त्यसबाहेक ‘नेपाल पानोरामा’ अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू देखाइनेछन्।
फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित ‘भर्चुअल’ अन्तरक्रिया र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा प्रदर्शन गरिने यी फिल्महरू भिमिओमा किम्फको वेबसाइटमार्फत हेर्न सकिनेछ।
अन्तर्राष्ट्रिय चलचित्रहरूमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रीडाकर्महरू समेटिएका छन् भने नेपाल पानोरामामा फेरि एकपटक प्रतिभाशाली युवा नेपाली सिनेकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ।
यसपटक किम्फको सन्देश ‘तमसोमा ज्योतिर्गमय’ र अंग्रेजीमा ‘अगेन्स्ट डिस्पेयर, टूवार्डस् होप’ भन्ने रहेको छ। अहिले कोरोनाको महाव्याधिले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येय यस नारामा प्रतिबिम्बित भएको छ।
किम्फ २०२० को उद्घघाटन विख्यात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्गस एन्ड अमुस्ट्याचु’को प्रदर्शनबाट हुनेछ। यस चलचित्रको पूरै छायांकन नेपालमै भएको थियो। उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनेछन्।
डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरूमाझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ। दिवङ्गत लेखक पिटर कार्थकको हिमाल किताबद्वारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवको अवसरमा गरिनेछ।
यसैगरी कोभिड–१९ र बन्दाबन्दीबारे बनाइएका विशेष डकुमेन्ट्रीहरूको प्रदर्शनपछि तिनबारे फिल्मका वास्तविक पात्र तथा कोभिड विशेषज्ञहरूमाझ छलफल र विमर्श गरिनेछ।
यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार एवं फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन्।
निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनोट गर्नेछ। अन्तर्राष्टिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ।
अन्तर्राष्ट्रिय खण्डतर्फ पहिलो, दोस्रो र तेस्रो हुने चलचित्रले क्रमशः रू. २ लाख, रू. १ लाख ५० हजार र रू.१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। उक्त पुरस्कार राशि क्रमशः नेपाल पर्वतारोहण संघ, हिमालयन इन्टरनेसनल माउन्टेन फिल्म अफ चाइना (हिम्फ) र स्वीट्जरल्यान्डका व्यवसायी उर्सला तथा फ्रेडी ओहल्यान्डद्वारा उपलब्ध गराइएको हो।
उत्कृष्ट ठहरिने नेपाली कथानक चलचित्र र उत्कृष्ट डकुमेन्ट्रीको पुरस्कार राशि क्रमशः रू. १ लाख र रू. ७५ हजार रहेको छ। पुरस्कार रकम क्रमशः मिला प्रोडक्सन्स तथा चलचित्र विकास बोर्डले उपलब्ध गराएको हो।
किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नामक विश्व संस्थाको सक्रिय सदस्य रहेको छ। यस संस्थामा २० वटा मुलुकका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरू सदस्य रहेका छन्। यस वर्ष धेरै मुलुकका माउन्टेन फिल्म फेस्टिभलहरूले कोभिड–१९ का कारण भर्चुअल फेस्टिभलहरू गरिरहेका छन्।
फेस्टिभलमा देखाइने चलचित्रहरूले यसअघि झै दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक विषयहरूतर्फ दर्शकहरूको ध्यान आकर्षित गर्ने आयोजक समितिले विश्वास लिएको फेस्टिभेल निर्देशक रम्यता लिम्बुले बताएकी छन्।