सगरमाथाको उँचाइ सार्वजनिक ‘टेलिभिजन लाइभ’बाट, मंगलबार पौने २ बजे संसारलाई जानकारी दिइने
सर्वोच्च शिखर सगरमाथाको उँचाइ २३ मंसीर (भोलि मंगलबार) मा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर सार्वजनिक गरिने भएको छ। संसारलाई भोलि पौने २ बजे सर्वोच्च शिखर सगरमाथाको उँचाइको जानकारी दिइने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए।
ढकालले भने ‘‘नेपाल र चीनले गरेको मापनबाट आएको नयाँ उँचाइलाई संयुक्त रूपमा एकैपटक सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। नेपाल टेलिभिजनबाट हुने प्रत्यक्ष प्रसारणमार्फत पहिलो पटक नेपाल आफैंले मापन गरेको सगरमाथाको उँचाइ सार्वजनिक हुँदैछ।’’
संसारलाई एकैपटक जानकारी दिने उद्देश्यले भर्चुअल रूपमा कार्यक्रम गर्ने र टेलिभिजनमार्फत सार्वजनिक गरिने ढकालले बताए। ढकालका अनुसार उँचाइ सार्वजनिक कार्यक्रम लगत्तै सोही स्थानमा मापन कार्यमा संलग्न कर्मचारी तथा पदाधिकारी, योगदानकर्तासहितलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ।
विभागका सूचना अधिकारी ढकालका अनुसार टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने र कोभिड महामारीका कारण धेरै सञ्चारकर्मीलाई प्रत्यक्ष उपस्थिति हुन दिइने छैन। करीब ४० देखि ५० जना सञ्चारमाध्यमका प्रतिनिधिलाई कार्यक्रमस्थलभित्रैको एउटा बैठक हलमार्फत टेलिभिजनमा प्रत्यक्ष हेर्ने सुविधा भने दिइनेछ।
उक्त कार्यक्रममा प्रत्यक्ष संवाद वा प्रश्न गर्ने व्यवस्था समेत नभएको नापी विभागले जानकारी दिएको छ। विभागका अनुसार कार्यक्रम साढे एकदेखि शुरू हुने भए पनि सगरमाथाको उँचाइ सार्वजनिक गर्ने कार्यक्रम भने करीब पौने २ बजेलाई तय भएको छ।
हाल कायम ८८४८* मिटरको सगरमाथाको उँचाइमा वि.सं २०७२ को भूकम्प र समुद्री सतहमा भएको फेरबदलले परिवर्तन आएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि सन् १९५४ मा सर्वे अफ इण्डियाले गरेको मापनलाई मान्यता दिइँदै आएको छ।
सगरमाथाको उँचाइ आफैंले मापन गर्न नेपाल सरकारले नै २०७५/७६ देखि पहल गरेको थियो। यसका लागि सरकारी टोलीले विभिन्न विधिबाट सगरमाथाको चुचुरोमा नै पुगेर उँचाइ मापन गरेका छन्। उक्त मापनबाट निस्किएको परिणामलाई भोलि सार्वजनिक गरिने कार्यक्रम छ।
*सच्याइएको।