कर्णालीमा राष्ट्रिय परिचयपत्र वितरण शुरू
कर्णाली प्रदेशमा राष्ट्रिय परिचयपत्र वितरण शुरू गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राष्ट्रिय परिचयपत्र वितरण शुरू गरिएको हो।
आइतबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा आफ्नो नाम समावेश गरेपछि सेवाको शुरूआत भएको छ।
नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त परिचयपत्रमा विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको शुरूआत गरेको हो।
सुर्खेत जिल्लामा पहिलो पटक लागू भएको तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बरसहितको राष्ट्रिय परिचयपत्रको सेवा शुरू गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटना, जन्म, मृत्यु, बसाइँसराई, विवाह, सम्बन्ध विच्छेदको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्नमा थप सहज हुने जनाइएको छ।