प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले 'समसामयिक राजनीतिका विषयमा छलफल गर्न' भन्दै सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार, बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको संकट चुलिएका बेला प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न लागेका हुन्।
नेकपामा शक्ति संघर्ष चुलिएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले गत असारमा संसदकाे बर्खे अधिवेशन हठात् अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। आउँदो १८ पुसभित्र संसद अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक बाध्यता छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस मात्र होइन, सत्तारुढ नेकपाभित्रै समेत संसद अधिवेशन बोलाउनुपर्ने माग भइरहेको छ।