नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय
कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय आजबाट खुलेका छन्।
सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि नगर तथा गाउँपालिकाहरुले विद्यालय खुलाएका हुन्। कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयमा पठनपाठन हुने जनाएका छन्।
जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएका छन्। बालबालिकाको पढाइ लामो समय अवरोध भएको भन्दै स्थानीय तहले विद्यालय खोल्न शिक्षा समितिलाई आग्रह गरेका थिए।
तिलागुफा नगरपालिकामा गएको १५ साउनसम्म विद्यालय खोलेको थियो। तर, नगरपालिकाभित्रै ठूलो संखयामा कोरोना सङ्क्रमित भेटिएपछि केही समय विद्यालय बन्द गरिएको थियो। मेयर रतनबहादुर शाहीले विद्यालय क्षेत्रमा पर्ने कसैलाई सामान्य ज्वरो आयो भने स्वास्थ्यकर्मी पठाउने, उपचार गर्ने र त्यो ठाउँका बालबालिकालाई विद्यालयमा आउन केही दिन रोक्ने योजना रहेको बताए। तर, विद्यालय बन्द नगर्ने उनको भनाइ छ।
रास्कोट नगरपालिकाले पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलेको नगर शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले बताए। “विद्यार्थीको पढाइ प्रभावित भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनेछ”, उनले भने, “नगरभरिका सबै विद्यालय खोल्न निर्देशन गरिएको छ।”