पीएम कप छनौट खेलका लागि काठमाडौँको कप्तान सन्जम रेग्मी, तीन राष्ट्रिय खेलाडी समावेश
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको छनौट खेलका लागि पूर्व राष्ट्रिय खेलाडी सन्जम रेग्मीको कप्तानीमा काठमाडौँ जिल्लाको टीम घोषणा गरिएको छ।
काठमाडौँं जिल्ला क्रिकेट सङ्घले आइतबार सार्वजनिक गरेको १४ सदस्यीय टीमका कप्तान रेग्मीसहित तीन खेलाडीले राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्। जसमा राष्ट्रिय टीमका ओपनर सुवास खकुरेल र इशान पाण्डे पनि छन्। उपकप्तानको जिम्मेवारी भने विभत्सु थापालाई दिइएको छ।
टीमका अन्य खेलाडीमा नरेश चन्द, रविन जोशी, रजत तिमिल्सिना, विपिनविक्रम शाही, सुमन उदय, जितेन्द्रसिंह ठकुरी, एरियो पौडेल, चन्द्रकुमार बुढा, कौशल रुपाखेती र युवराज खत्री छन्। यीमध्ये रविन जोशी, सुमन उदय र जितेन्द्रसिंह ठकुरी राष्ट्रिय प्रतियोगिता तथा फ्रेन्चाइज लिगहरु खेलिसकेका खेलाडी हुन्। वैकल्पिक खेलाडीमा अजय कौशिला, प्रदिपकुमार विक र राम चौधरी छन्।
काठमाडौँ जिल्ला क्रिकेट संघले अस्मिना कर्माचार्यको कप्तानीमा महिला टीमको पनि घोषणा गरेको छ। महिला टीमको उपकप्तानमा सुमन खतिवडा छिन्। अन्य खेलाडीमा कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, विन्दा कटवाल, कर्माश्री लामा, स्मृता राई, रेनुका बस्नेत, करिश्मा गुरुङ, विपासा शाही, सृजना पुन, एनी पोखरेल र खुसी डङ्गोेल छन्। वैकल्पिक खेलाडीमा सुवेक्षा थापा मगर, माधवी चौधरी र विपना बम छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी ११ पुसदेखि प्रधानमन्त्री कप क्रिकेट आयोजना गर्दैछ। क्यानले ११ मंसीरसम्म जिल्लाको टोली छनोट तथा ७ पुससम्म प्रदेशको टोली छनोट सम्पन्न गर्न निर्देशन दिएको थियो। प्रधानमन्त्री कपमा सात प्रदेश र तीन विभागीयसहित १० टोलीले प्रतिश्पर्धा गर्नेछन्।