हुम्लामा फेरि देखियो कोरोना, ११ सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि
केही दिनअघि कोरोनामुक्त घोषणा गरिएको उच्च हिमाली जिल्ला हुम्लामा फेरि संक्रमित भेटिएका छन्। त्यहाँका ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ।
गएको १८ मंसीरमा सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टे«सिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये ११ जनालाई संक्रमण भएको पत्ता लागेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए।
सङ्क्रमित ११ जना नै सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरमा ‘होम आइसोलेसन’मा बसेका छन्। यो सँगै हुम्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७८ पुगेको छ। अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या भने ११ मात्र छ। ६७ जना निको भइसकेका छन्।
केही दिनअगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा सङ्क्रमण पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ। स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा सङ्क्रमणको जोखिम बढेको छ।