रोचक मोडतर्फ नेकपा : दाहालको ‘आरोप-पत्र’ र ओलीको ‘प्रत्यारोप-पत्र’ दुवै छलफलमा
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘आरोप-पत्र’ र अध्यक्ष केपी शर्मा ओलीको ‘प्रत्यारोप-पत्र’ले स्थायी कमिटीमा औपचारिक रूपमै प्रवेश पाएपछि नेकपाको संकट उत्कर्षमा पुगेको र अब एउटा निष्कर्षमा पुग्ने आकलन गर्न थालिएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सँघारमा पुगेको चर्चा मत्थर नहुँदै आइतबारदेखि नेकपाको स्थायी कमिटी बैठक शुरू भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा शुरू भएको पहिलो दिनको बैठकमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन्। बैठकमा उपस्थित नभए पनि उनले बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरूलाई सम्बोधन गरेर एउटा पत्र पठाए। पत्रमा उनले नेकपाको केन्द्रीय सचिवालय हुँदै स्थायी कमिटीसम्म आइपुगेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको ‘आरोप-पत्र’माथि छलफल हुन नसक्ने र त्यस्तो छलफलमा आफू सहभागी नहुने उल्लेख गरेका छन्।
ओलीको अनुपस्थितिमा बसेको आइतबारको स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयमा पेश भएका र त्यहाँबाट स्थायी कमिटीसम्म आइपुगेका अध्यक्षद्वय ओली र दाहालका प्रस्ताव, उनीहरूबीच आदानप्रदान भएका र उनीहरूले सचिवालय सदस्यलाई सम्बोधन गरेर पठाएका पत्रहरू स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि वितरण गरेको छ। सोही बैठकले आउँदो २५ मंसीरका लागि तय भएको केन्द्रीय कमिटी बैठक ५ पुसमा सार्ने निर्णय गरेको छ। त्यस्तै स्थायी कमिटी बैठक २८ मंसीरसम्मका लागि स्थगित गरेको छ।
प्रधानमन्त्री ओलीले १३ मंसीरको सचिवालय बैठकमा दाहालको प्रस्तावलाई ‘खारेज गरेको’ घोषणा गरेका थिए। त्यसयता उनले दाहालको प्रस्तावमाथि पार्टीका कुनै कमिटीमा छलफल हुन नसक्ने बताउँदै आएका छन्। ओलीको यस्तो अडानकैबीच आइतबारको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई दुवै प्रस्ताव वितरण गरिएपछि अब यी दुवै प्रस्ताव नेकपामा छलफल र बहसका अजेण्डा बनेका छन्।
गत २८ कात्तिकमा बसेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष दाहालले एकल रूपमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावपछि नेकपामा शक्ति संघर्ष झन् चुलिएको थियो। दाहालको १९ पृष्ठ लामो प्रस्तावको जवाफमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दोब्बर अर्थात् ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेपछि नेकपामा ओली र दाहालले नेतृत्व गरेका दुई समूहबीच लिखित रूपमै आरोप र प्रत्यारोपको शृंखला चुलिन पुगेको छ। र, आइतबारको स्थायी कमिटी बैठकपछि दाहालको ‘आरोप–पत्र’ र त्यसमै आधारित ओलीको ‘प्रत्यारोप–पत्र’ले अब औपचारिक रूपमै नेकपाको स्थायी कमिटीमा प्रवेश पाएका छन्। अहिले अध्ययनका लागि वितरीत यिनै प्रस्तावमाथि स्थायी कमिटी सदस्यहरूले बैठकमा धारणा राख्नेछन्।
प्रधानमन्त्री ओलीले १३ मंसीरको सचिवालय बैठकमा दाहालको प्रस्तावलाई ‘खारेज गरेको’ घोषणा गरेका थिए। त्यसयता उनले दाहालको प्रस्तावमाथि पार्टीका कुनै कमिटीमा छलफल हुन नसक्ने बताउँदै आएका छन्। ओलीको यस्तो अडानकै बीच आइतबारको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई दुवै प्रस्ताव वितरण गरिएपछि अब यी दुवै प्रस्ताव नेकपामा छलफल र बहसका अजेण्डा बनेका छन्।
के हुन्छन् अब दुवै प्रस्ताव ?
कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको दुवै अध्यक्षका प्रस्तावलाई छलफलमा लैजानुपर्ने अडानका कारण सचिवालयले यी दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो।
दाहाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्य वेदुराम भुसाल कसैको प्रस्ताव व्यक्तिगत रूपमा खारेज गर्ने अधिकार कसैलाई पनि नभएको, विधानमै नभएको व्यवस्थालाई अध्यक्ष ओलीले व्यक्तिगत रूपमा प्रयोग गर्नुको कुनै अर्थ नभएको टिप्पणी गर्छन्। “खारेज गर्ने, स्वीकार्ने वा परिमार्जन गर्ने भन्ने निर्णय कमिटीले गर्छ, पार्टीले गर्छ। व्यक्तिगत रूपमा खारेज गर्ने अधिकार उहाँलाई कसले दियो?” भुसालले भने, “अभियोगपत्र हो भनेर सचिवालयका साथीहरूलाई ‘कन्भिन्स’ गराएर त्यहीँबाट फिर्ता लिन लगाएको भए हुन्थ्यो नि! अभियोगपत्र पनि भन्ने, जवाफ पनि दिंदै जाने? अब कमिटीमा आएको छ। जे निर्णय गर्छ कमिटीले नै गर्छ।”
भुसालले पार्टीभित्र विधानविपरीत कामको शुरूआत अध्यक्ष ओलीले नै गरेको टिप्पणी गर्दै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दाखेरी नै ओलीले विधानविरीत काम गरेको आरोप लगाए। उनले भने, “सहमतिको भावनालाई तोड्ने काम सबभन्दा पहिले केपी कमरेडले नै गर्नुभएको हो। आफूअनुकूल भएन भनेर अहिले आरोपपत्र भन्न मिल्दैन। दुवै प्रस्ताव स्थायी कमिटीमा आएका छन्, अब लोकतान्त्रिक प्रक्रियाबाट छलफल, बहस र निर्णय हुन्छ।”
भुसालले बैठकको माग गर्दा पत्र लेखेर, दाहालको प्रस्तावमाथि जवाफ लेखेर र आइतबारको बैठकमा अनुपस्थित हुने पत्र पठाएर ओली आफैं फस्दै गएको टिप्पणी पनि गरे।
अध्यक्ष ओलीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ भने दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा प्रवेश भए पनि ती दुवै प्रस्ताव सन्दर्भ सामग्रीका रूपमा मात्र प्रयोग हुने दाबी गर्छन्। अध्यक्ष ओली र दाहाल दुवैका प्रस्ताव बैठकका औपचारिक अजेण्डा नबनेको उनको भनाइ छ।
“प्रचण्ड कमरेडको आरोपपत्र र केपी कमरेडको जवाफ दुवै स्थायी कमिटीको अजेण्डा होइनन्, आजको बैठकले एक मात्र अजेण्डा ‘पार्टीको आन्तरिक समस्याबारे’ पास गरेको छ” नेम्वाङले भने, “पार्टीको आन्तरिक समस्याबारे अध्ययन गर्नुपर्ने थुप्रै दस्तावेजहरू हुन सक्छन्। त्यसैले यी प्रस्तावहरू अब सन्दर्भ सामग्रीसम्म हुन्छन्। अध्यक्ष प्रचण्डले नै स्थायी कमिटीले नयाँ अजेण्डा बनाउन सक्छ भन्नुभएको छ।”
नेम्वाङले दुवै अध्यक्षका प्रस्तावबाहेक अन्य थुप्रै विषयमा पनि छलफल हुन सक्ने बताए। सचिवालयबाट अजेण्डा नआएकाले स्थायी कमिटीले नै अजेण्डा तय गरेको उनले बताए। “पार्टीको आन्तरिक समस्याबारे भनेपछि यसमा मात्र छलफल हुन्छ भन्ने होइन, अन्य थुप्रै विषयमा छलफल हुन्छ”, उनले भने।
अर्का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले दुवै अध्यक्षका प्रस्ताव मात्र छलफलका लागि पर्याप्त नरहेको र स्थायी कमिटीमा अरु धेरै विषयमा छलफल हुने बताए। “अध्यक्षद्वयका प्रस्तावहरू कति सकारात्मक कति नकारात्मक भन्ने पार्टीले मात्र होइन, नेपाली जनताले मूल्यांकन गर्ने कुरा पनि हो। यसको विषयमा चर्चा, छलफल, अध्ययन नगर्ने भन्ने हुँदैन” रायमाझीले भने, “रेफ्रेन्सका रूपमा यसमा पनि छलफल त होला तर, यीभन्दा अन्य महत्वपूर्ण विषयमा छलफल गर्न जरुरी छ।
पार्टीभित्र ओली र दाहाल मात्र नभएर धेरै नेता/कार्यकर्ता रहेको, उनीहरूका पनि विचार सुन्नुपर्ने र जनताको भावनासमेत समेटेर अघि बढ्नुपर्ने रायमाझी बताउँछन्। “विचार, राजनीति, योजना, कार्यक्रम, विधि, प्रक्रिया, मापदण्ड, विकास, समृद्धि, कोरोना महामारी, बाढीपहिरो लगायतका विषयलाई केन्द्रविन्दुमा राखेर छलफल गर्छौं”, रायमाझीले थपे।
“पार्टीभित्र सुखद संकेत देखा परेका छन्। आजको बैठकमा पनि अध्यक्ष कमरेड प्रचण्डले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार छु। मलाई अध्यक्षमा कुनै मोह छैन, त्याग गर्न तयार छु भन्नुभयो। अब स्थायी कमिटीले पार्टीलाई सकारात्मक दिशातर्फ लैजान्छ।”
-सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य, नेकपा।
नेकपा संकट निष्कर्षतर्फ !
नेताहरूले स्थायी कमिटीको बैठकसँगै पार्टीभित्रको संकट एउटा निचोडतर्फ उन्मुख रहेको बताएका छन्। स्थायी कमिटी सदस्य रायमाझीले आइतबारको बैठकले सकारात्मक संकेत गरेको बताए।
“पहिले पार्टीभित्र फुटको खतरा ७० प्रतिशत र मिलनको सम्भावना ३० प्रतिशत थियो। अब ७० प्रतिशत मिलनको सम्भावना भयो, खतरा ३० प्रतिशत मात्रै छ। त्यो पनि छलफल र सम्वादका माध्यमबाट स्थायी कमिटीले समाधान निकाल्छ”, उनले भने।
उनले नेकपालाई कसैले फुटाउन नसक्ने, कसैले पार्टी छाड्न नसक्ने र कसैको इच्छाले पनि नेकपा नफुट्ने दाबी गरे। “यो पार्टी मात्र नभएर आन्दोलन हो। कसैलाई केही लाग्यो भनेर यो तलमाथि हुँदैन” उनले भने, “बहस, छलफल हुन्छन्। तरंग हुन्छ। तर, अन्ततः निष्कर्ष सकारात्मक नै निस्कन्छ।”
स्थायी कमिटी सदस्य नेम्वाङले पनि आइतबारको स्थायी कमिटी बैठकले महत्वपूर्ण निर्णय गरेको र अब २८ मंसीरदेखि शुरू हुने बैठकमा पार्टीको आन्तरिक समस्याको बारेमा महत्वपूर्ण छलफल हुने बताए।
“पार्टीभित्र सुखद संकेत देखा परेका छन्। आजको बैठकमा पनि अध्यक्ष कमरेड प्रचण्डले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार छु। मलाई अध्यक्षमा कुनै मोह छैन, त्याग गर्न तयार छु भन्नुभयो”, नेम्वाङले भने, “अब स्थायी कमिटीले पार्टीलाई सकारात्मक दिशातर्फ लैजान्छ।”
अर्का स्थायी कमिटी सदस्य भुसालले पनि सकेसम्म दुवै अध्यक्षका प्रस्तावलाई सचिवालयभन्दा तल नल्याएको भए राम्रो हुने बताए। “सचिवालयका अरु सदस्यको मन जितेर सचिवालयमै समाधान गरेको भए राम्रो हुन्थ्यो। कमिटीमा आइसकेपछि अब कमिटीको विषय भयो। अब कमिटीले निर्णय गर्ने हो। सबैले आ–आफ्ना धारणा राखेपछि सकारात्मक नै निर्णय होला भन्ने विश्वास गरौं”, उनले भने।