आइसोलेसनमा सकारात्मक समाचारको 'अक्सिजन'
पत्रकारिता कर्मको दौरान पत्रकारले नकारात्मक समाचार मात्र लेख्छन् भन्ने गुनासो मैले धेरैबाट सुनेको छु। कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा थाहा पाएँ, सकारात्मक समाचारको बल असाध्यै ठूलो हुँदोरहेछ।
कोरोना संक्रमित धेरै जनाको अनुभव/अनुभूति सञ्चारमाध्यममा आइसकेका छन्। म आफैंले पनि गम्भीर बिरामी परेका धेरै व्यक्तिसँग कुरा गरेर तिनका भोगाइ लेखेको छु।
संक्रमितका ती कठिनाइका कथाव्यथा लेखिरहँदा कुनै दिन आफैं पनि संक्रमित भइने आशंका पाइलैपिच्छे थियो। कारण, बाहिरका भेटघाट र घुमफिरमा निस्किइरहनुपर्ने पत्रकारिता पेशामा जो थिएँ। महामारी फैलिएयता बुटवलमै बसेर रिपोर्टिङ गर्ने क्रममा समाचारको खोजीमा आसपासका धेरै ठाउँ चहारेको छु।
आखिरमा शंका गरे जस्तै संक्रमित भएँ। सावधानी अपनाउँदा अपनाउँदै कहाँनेर चुक भयो भन्ने हेक्का छैन।
संक्रमितहरूका फरक–फरक समस्या हुने रहेछ। कसैलाई गम्भीर समस्या देखिने र कसैलाई सामान्य लक्षण देखिएर निको भएको छ। कतिलाई लक्षण नै नदेखिने रहेछ। मलाई सामान्य लक्षण देखिएर केही अन्तरालमा संक्रमणमुक्त भएको छु।
संक्रमित भएर १५ दिनसम्म आइसोलेसनमा बस्दा एउटा पत्रकारका रूपमा फरक अनुभूति गरें। समाचार, सामाजिक सञ्जाल र साथीभाइसँगको कुराकानीबाट संक्रमितको मनोबल कसरी कमजोर हुँदोरहेछ भन्ने महसूस भयो। आफ्नो भोगाइका आधारमा तिनै कुरा यहाँ लेख्दैछु।
तिहारको भाइटीकाको दिन, शरीरमा अलि आलस्य महसूस भयो। साँझपख हल्का ज्वरो पनि आयो। तर, पहिले पनि त्यस्तो हुने गरेकाले सामान्य हो भन्ने लाग्यो। किनभने वर्षमा धेरै पटक ज्वरो आउने समस्या झेल्छु। एक गोली सिटामोल र एक/दुई दिन आराम गरेपछि सामान्य अवस्थामा फर्किन्थें।
तर, अहिले त कोरोना संक्रमण महामारीको बेला, कतै कोरोना त भएन भन्ने शंका मनको कुनामा रोपियो। यसैले घरमा सावधानी अपनाउनु नै उचित थियो, अलग कोठामा बस्न थालें।
साँझ सुत्ने वेला सिटामोल खाएँ। सिटामोल खाएपछि थोरै राहत मिल्यो र केही समय निदाउन सकें। बिहान ३ बजेबाट फेरि ज्वरो आयो। नाप्दा एक सय फरेनहाइट रहेछ। ज्वरो धेरै नभए पनि सुत्न गाह्रो भइरहेको थियो।
बिहान कोरोना परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल गएर स्वाब दिएँ। दिउँसो ४ बजे रिपोर्ट आयो, कोरोना पोजिटिभ!
मानसिक रुपमा तयार भइसकेकाले सहज रुपमा लिएँ। सामान्य ज्वरो बाहेक कुनै पनि समस्या थिएन। सिटामोल खाएपछि ज्वरो पनि घट्थ्यो, फेरि ६ घण्टापछि ज्वरो आउँथ्यो। तीन दिनसम्म यस्तै भयो।
संक्रमण देखिएपछि भैरहवाका बद्री गौतमलाई फोन गरें, जसले कोरोना निको पार्ने औषधि बनाएको दाबी गरिरहेका थिए। आफैं गाडी हाँकेर औषधि ल्याएँ।
अर्को दिन बिहान कोरोना हस्पिटल बुटवलका डा. सुदर्शन थापा, शुक्रराज सरुवा रोग ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला र जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेलाई लक्षणका बारेमा बताएँ। डा. बास्तोलाले लक्षणका बारेमा सोध्नुभयो र समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउँदै खानेकुरामा ध्यान दिन आग्रह गर्नुभयो। अन्य चिकित्सकहरुको सल्लाह पनि त्यस्तै थियो।
चिकित्सकहरुले भने जस्तै गरें। मेरो सिटी भ्यालु थोरै (१४) भएकाले त्यसको असर बढी हुने भन्दै घरपरिवारले कर गरेपछि तेस्रो दिन अस्पताल पुगेर एक्सरे गरें। रिपोर्ट सामान्य आयो। उक्त रिपोर्ट डा. बास्तोला र डा. थापालाई भाइबरमा पठाउँदा दुवै जनाबाट ठीक छ भन्ने प्रतिक्रिया आयो, अलि ढुक्क लाग्यो।
तेस्रो दिनपछि ज्वरो थिएन, रुघाले नाक ठप्प बनायो। रुघा लागे पनि सिंगान बगेन, भित्रभित्र अप्ठेरो भने बनाइरह्यो। छैटौं दिनपछि घाँटी दुख्न पनि शुरु भयो। नुनपानीले कुल्ला गर्दा र सन्चोको प्रयोगसहित दिनको दुई पटक तातोपानीको बाफ लिंदा आठौं दिनदेखि रुघा र घाँटी दुखाइ पनि विस्तारै कम भयो।
आत्मबल जोगाउने प्रयास
संक्रमित भएर आइसोलेसनमा बसेपछि आफूलाई सामान्य राख्ने प्रयास शुरुदेखि नै गरें। कुनै बाहिरी प्रभाव आफूमा पर्न नदिन सजग बनें। त्यस क्रममा मोबाइलमा रहेका फेसबूक र ट्वीटरका एप हटाएँ। समाचार पनि नहेर्ने भनेर अनलाइन पोर्टल हेर्न बन्द गरें। यसो गर्नुको कारण, अनलाइन पोर्टलमा आउने कोरोनाबाट भएका मृत्युका समाचार र फेसबूकमा आउने श्रद्धाञ्जलीको पोष्टबाट आफूलाई टाढा राख्नु थियो।
नकारात्मक समाचारले मनमा कुरा खेल्ने, आत्तिने, अप्ठेरो महसूस हुने अवस्था मेरो रह्यो। सायद संक्रमण भएको पाँचौं दिनमा हुनुपर्छ, त्यस्तै अप्ठेरो महसूस भयो।
साँझपख कोठामा थिएँ, चिटचिट पसिना आयो। सास फेर्न गाह्रो भए जस्तो भयो। बार्दलीमा खुला ठाउँमा बसें, अलि सहज महसूस भयो। अक्सिजन लेभल ९७ थियो। सोचाइकै कारण त्यस्तो भएको हो भन्ने लाग्यो।
आइसोलेसन बसाइमा मन भुलाउन सक्दो प्रयास गरें। त्यस क्रममा यात्रा, वातावरण एवं जलवायु, विभिन्न कम्युनिष्ट मुलुकमा भएका आन्दोलन सम्बन्धी वृत्तचित्र हेरें। लोकसंगीत, सकारात्मक प्रवचन सुनें। चिकित्सकको सल्लाह बमोजिम घाम तापें।
केही सकारात्मक खालका समाचार भए मेसेन्जरमा पठाइदिन श्रीमतीलाई भनेको थिएँ। यस्तो वेला सकारात्मक समाचारले धेरै उत्साह दिने रहेछ। चित्रबहादुर केसी निको भएर अस्पतालबाट डिस्चार्ज भएको, कोरोना विरुद्धको खोपले सफलता पाएको लगायत समाचारले छुट्टै उत्साह दिएको थियो।
फिल्ड रिपोर्टिङमा जाँदा होस् वा विभिन्न कार्यक्रम र भेटघाटमा, पत्रकारले नकारात्मक समाचार मात्र लेख्छन् भन्ने गुनासो धेरैबाट सुन्ने गरेको छु। कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा थाहा पाएँ, सकारात्मक समाचारको बल।
सकारात्मक समाचार र सुखद कुराले संक्रमितलाई आत्मबल र ऊर्जाको अक्सिजन दिने रहेछ। मेरो अनुभवमा, सकारात्मक र उत्प्रेरणा जगाउने कुराले संक्रमितको ५० प्रतिशत रोग आफैं निको हुन्छ।
यस्तो वेला धेरै मानिस संक्रमितलाई सिकाउन तम्सिने सल्लाहकार र विज्ञ बन्न खोज्दा रहेछन्। त्यसैले आइसोलेसनमा बस्दा सम्बन्धित चिकित्सक बाहेक अन्य मानिससँग सम्पर्क नगरेकै राम्रो। सम्पर्क गर्दा एउटा न एउटा कुरा भन्छ, र त्यसकै कारण तनाव हुन्छ।
एकदिन एक साथीलाई संक्रमण भएको कुरा सुनाए। उनले कति सजिलै भनिदिए, “यो कोरोना पनि केही भन्नै नसकिने, नचिताएका मान्छे पनि भटाभट मरेका छन्।” उनले सजिलै बोलेको कुराले नमज्जा लाग्यो।
एकजना अर्का मित्रले सोधे, “सिटी भ्यालु कति छ ?” भनें, “१४ ।” उनी विज्ञको अवतारमा देखिए, “तपाईंलाई त जटिल समस्या देखिनुपर्ने हो, सामान्य हुनुहुन्छ त!”
यस्तो कुराले एकदमै हतोत्साहित बनाउँदो रहेछ। धेरै जनासँग सम्पर्क गर्दिनँ भन्दाभन्दै पनि केही साथीभाइसँग हुने कुराकानीले तनाव दिने।
संक्रमित भएको नवौं दिन थियो, सिटी भ्यालुबारे सेतोपाटीमा प्रकाशित सरुवा रोग विशेषज्ञ डा. अनूप सुवेदीको अन्तर्वार्ताको लिंक मेसेन्जरमा आयो। उनको त्यो अन्तर्वार्ता सुनेपछि भने सिटी भ्यालु केही होइन रै’छ भन्ने लाग्यो। आत्मबल बढ्यो। डाक्टरहरुले नवौं दिनसम्म समस्या देखिन सक्छ भनेका थिए, त्यसले पनि मनको एउटा कुनामा डर थियो।
चिकित्सकहरुका भनाइमा रोग प्रतिरोधी क्षमता कम भएका मानिसलाई कोरोनाको गम्भीर असर हुन्छ। कतिपय चिनजानका साथीभाइलाई पनि संक्रमणले गम्भीर असर गरेको छ।
कोरोना लाग्नुपूर्व खानपानमा पुर्याएको ध्यान तथा नियमित शारीरिक अभ्यास र संक्रमित भएपछि पनि खानेकुरामा ध्यान दिएको हुनाले नै १५ दिनमै कुनै जटिल समस्याविना संक्रमणमुक्त हुन सकें कि भन्ने लाग्छ। अर्कातिर, एक न एक दिन कोरोनाबाट संक्रमित भइन्छ भन्ने मानसिक रुपमा तयार नै थिएँ।
कोरोना रिपोर्ट नेगेटिभ आएको छैटौं दिन भइसकेको छ। तर, स्वास्थ्य अवस्था पहिले जस्तो अझै छैन। शारीरिक शिथिलता र आलस्य छँदैछ। काममा जाँगर छैन। तर, आफूलाई नियमिततातिर फर्काउने प्रयास गरिरहेको छु।