शेयर बजारमा एकै दिन लगानीकर्ताको रू. १ खर्ब ६५ अर्ब ३२ करोड गुम्यो
शेयर बजारमा लगानीकर्ताले आइतबार एकै दिनमा रू. १ खर्ब ६५ अर्ब ३२ करोड २३ लाख गुमाएका छन्। बजारमा व्यापक गिरावट आएपछि लगानीकर्ताहरूको सम्पत्तिको मूल्य एकै दिनमा ह्वात्तै तल ओर्लिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, सूचिकृत कम्पनीहरूको शेयरको कुल मूल्य (बजार पूँजीकरण) रू. २५ खर्ब ८९ अर्ब ७४ करोडमा झरेको छ। गत बिहीबार बजार पूँजीकरण रू. २७ खर्ब ५५ अर्ब ६ करोड पुगेको थियो। एकै दिनमा लगानीकर्ताको सम्पत्तिको मूल्य यति धेरैले घटेको यो पहिलो पटक हो।
शेयर बजार परिसूचक नेप्से आइतबार ६ प्रतिशतले ओरालो झरेको थियो। गत बिहीबार अहिलेसम्मकै उच्च विन्दु २ हजार ५५ अंक नाघेको नेप्से परिसूचक १ हजार ९३२ विन्दुमा ओर्लिएको छ। आइतबार कारोबार भएका कम्पनीका शेयरमध्ये ४ वटाको मूल्य मात्रै बढेको छ। १६९ कम्पनीको शेयर मूल्य घटेको छ।
नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत शेयर धितोमा दिने कर्जा र ओभरड्राफ्टको नीतिमा कडाई गर्ने संकेत दिएपछि लगानीकर्ताको विश्वास धर्मराएर बजार ओरालो झरेको अनुमान गरिएको छ।