निरञ्जन कुँवरको ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक
लेखक निरञ्जन कुँवरको अङ्ग्रेजी पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ सार्वजनिक गरिएको छ। जुममार्फत शनिबार पुस्तकको भर्चुअल विमोचन गरिएको हो।
पुस्तकमा लेखक कँुवरले लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध र रूढिवादी नेपाली समाजमा आफ्नो स्वअस्तित्वको खोज गर्ने प्रयास गरेका छन्। एउटा नेपाली ‘गे’ले लेखेको सम्भवतः पहिलो संस्मरण हो, यो पुस्तक।
कार्यक्रममा लेखिका मञ्जुश्री थापाले असाध्यै राम्रोसँग लेखिएको, लयात्मक र मन छुने पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ रहेको बताइन्। “यो महत्वपूर्ण पुस्तक हो। यसले लैङ्गिक अल्पसङ्ख्यकलाई आफ्नो लैंगिकता र पहिचानबारे बोल्ने भाषा दिएको छ”, उनले भनिन्।
क्वयेर पहिचानलाई व्याख्या गर्ने भाषाको खोज भइरहेको समयमा संस्मरण लेखन एउटा सिर्जनात्मक हस्तक्षेप नै रहेको उनको भनाइ छ। उनले थपिन्, “यो पुस्तक राजनीतिक भाषण होइन। यो त आफ्नो वरिपरिका मानिसभन्दा पृथक् भएर नेपाल जस्तो ठाउँमा हुर्कनु कति गाह्रो, कति डरलाग्दो हुन्छ भनेर देखाउन लेखिएको निजात्मक अनुभव हो।’
पुस्तकमाथि टिप्पणी गर्दै अर्का वक्ता ब्लगर लेक्स लिम्बुले भने, “सन् २०१८ मा निरञ्जन कुँवरले यो पुस्तक लेख्दैछु भनेर सुनाउँदा औधी खुशी भएको थिएँ। हामीलाई चाहिएका नै यस्ता कुराहरू हुन्। त्यो पनि धेरै सङ्ख्यामा।”
युवा वयस्कताको शुरूआति समयमै नेपाली गे पुरुषका रूपमा आफ्ना अनुभवबारे लेख्ने प्रेरणा आफूलाई मिलेको लेखक कुँवरले बताए। पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो।