शेयर बजारमा ‘पहिरो’, १२३ अंकले घट्यो नेप्से
शेयर बजारमा आइतबार भारी गिरावाट आएको छ। शेयर बजार परिसूचक नेप्से १२३ अंकले घटेर १ हजार ९३२ अंकमा ओर्लिएको छ। ६ प्रतिशतले बजार घटेपछि कारोबार समयसीमा भन्दा अगाडि नै बजार बन्द भएको थियो।
बजार घटेपछि लगनीकर्ताहरूले आइतबार अर्बौं रकम गुमाएका छन्। लगानीकर्ताहरुको सम्पत्तिको मूल्य एकै दिन रु. १ खर्ब ६५ अर्ब ३२ करोड २३ लाखले घटेको छ । गत बिहीबार रु. २७ खर्ब ५५ अर्ब रहेको बजार पूँजीकरण आइतबार रु. २५ खर्ब ८९ अर्बमा ओर्लिएको हो । रू. ७ अर्ब २१ करोड मूल्यका शेयरको किनबेच भएको बजारमा १६९ वटा कम्पनीको शेयर मूल्य घटेको छ। जम्मा ४ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ। आइतबार सबै समूह ओरालो झरेका छन्। सबैभन्दा धेरै अन्य समूह ९.१३ प्रतिशत र जीवनबीमा समूह ८.२६ प्रतिशतले घटेको छ।
डिप्रोक्स लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, साञ्जेन जलविद्युत, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी लगायतका १८ कम्पनीको शेयरको मूल्य करीब १० प्रतिशतले घटेको छ।
शेयर बजारमा ठूलो गिरावट आउनुका पछाडि नेपाल राष्ट्र ब्यांकले गत बिहीबार सार्वजनिक गरेको मौद्रिक समीक्षालाई मानिएको छ। राष्ट्र ब्यांकले शेयर धितोमा दिने ऋण र ओभरड्राफ्टमा कडाई गर्ने संकेत गरेपछि लगानीकर्ताको आत्मविश्वास धर्मराएको थियो।
तीन महिना अगाडि राष्ट्र ब्यांकले शेयरको धितोमा ६५ प्रतिशतसम्म पाइने ऋणलाई ७० प्रतिशत पुर्याएको थियो। यस्तै, नेपाल धितोपत्र बोर्डले पनि शेयर बजारमा व्यापक वृद्धि भएपछि सचेत भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका थियो।
यसैबीच, शेयर बजारका लगनीकर्ताहरूले शेयर बजारलाई अस्थिर बनाउने गरी नीतिगत परिवर्तन नगर्न र हस्तक्षेप नगर्न अनुरोध गरेका छन्। लगानीकर्ताका विभिन्न संगठनले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका छन्। लगानीकर्ताहरूले राष्ट्र ब्यांकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीसँग भेटर पनि यस्तो आग्रह गरेका छन्।