विज्ञहरू भन्छन्- ‘एन्टिजिन परीक्षण पीसीआरको विकल्प हुन सक्दैन’
एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका छन्। एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोनाभाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रूपमा प्रयोग गर्न नहुने विज्ञहरूले बताएका हुन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तीर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर, एन्टिजिनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने बताए। त्यसकारण एन्टिजिनबाट गलत रिपोर्ट समेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने उनको भनाइ छ।
एन्टिजिन टेस्ट गर्दा कहिलेकाहीँ कोभिड–१९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताए।
“पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन। पीसीआर भनेको हाइली एडभान्स टेक्नोलोजी हो। पीसीआर कोभिड छ भनेर पकका गर्र्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो। तर, यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन”, उनले भने।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रूपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताए। अहिले प्रयोगमा आएका एन्टिजेन टेष्टहरू कुनैपनि आधकारिक निकायबाट प्रमाणित भइसकेको छैन। अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि आपतकालीन स्वीकृत मात्रै दिएको बन्जाराले बताए।
अहिले सबैठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रूपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित ग¥यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न सकिने बन्जाराले बताए।
सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरू भएको थियो। तर, सर्वसाधरण परीक्षणका लागि नआएको भन्दै हाल यो परीक्षण स्थगित गरिएको छ।