नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा शुरू, अध्यक्ष ओली अनुपस्थित
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा शुरू भएको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन्।
स्थायी कमिटीको बैठक यसअघि नै आज दिउँसो १ बजेका लागि तय थियो। अध्यक्ष ओलीलाई आधा घण्टा भन्दा बढी समय पर्खिएका नेताहरूले उनी नआएपछि बैठक शुरू गरेका हुन्। बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा चलिरहेको छ।
आजको बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश गरेका राजनीतिक प्रस्ताव छलफलका लागि स्थायी कमिटीमा पेश गरिनेछ।
राजनीतिक प्रस्तावसँगै अध्यक्ष दाहाललगायत पाँच नेताले ओलीलाई यसअघि बैठक आह्वान गर्दै बुझाएको पत्र, त्यसमा ओलीले दिएको जवाफलगायतका दस्तावेज समेत स्थायी कमिटी सदस्यहरूलाई बाँडिनेछ।
शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीको सहमतिबिनै दस्तावेज स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो। ओलीले मौखिक असहमति जनाए पनि लिखित असहमति भने जनाएका थिएनन्। उनले दाहालले पेश गरेको ‘आरोपपत्र’ फिर्ता नभएसम्म बैठक बस्न नसक्ने बताएका थिए।
यसैबीच, नेकपा पार्टी मुख्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली धुम्बाराही क्षेत्रमा तैनाथ छ।
सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ लगेका छन्। यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले ‘सुरक्षा थ्रेट’ भन्दै अन्तिम समयमा बालुवाटार नै बोलाएका थिए।