बन्दाबन्दीपछि इन्टरनेटको खपत ह्वात्तै बढ्यो, प्याकेजले लोभ्याउँदै डाटा प्रयोगकर्ता
बन्दाबन्दीपछि इन्टरनेट प्रयोकगर्ता ह्वात्तै बढेसँगै टेलिकम सेवा प्रदायक कम्पनीको मोबाइल डाटा प्रयोगकर्ता पनि बढेका छन्। डाटा प्रयोगकर्ताको संख्या स्थिर नभए पनि कम्पनीहरूले प्याकेज दिएर ग्राहक लोभ्याएका कारण मासिक सात लाखसम्म बढेका छन्।
कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले ११ चैतदेखि गरेको बन्दाबन्दीका कारण नेपालमा इन्टरनेट प्रयोगको समय र प्रयोगकर्ता दुवै बढेका छन्। बन्दाबन्दीको शुरुआतमा इन्टरनेट सुविधा पाएका प्रयोगकर्ताले नै लामो समय प्रयोग गर्थे। पछि विस्तारै नयाँ ग्राहक पनि थपिंदै गए। त्यसपछि इन्टरनेटबाटै कार्यालयको काम गर्नेको संख्या बढेपछि यसको प्रयोग झनै बढ्यो।
बन्दाबन्दी शुरु भएका दुई महीना गएको चैत र वैशाख घरैमा बसेका नेपालीले इन्टरनेटमै दिन बिताए। जेठदेखि विद्यालयहरुले अनलाइन कक्षा चलाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता बढ्दै गएको तथ्यांकले देखाउँछ। इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानका अध्यक्ष सुधीर पराजुली चैतदेखि निरन्तर इन्टरनेटको प्रयोग बढेको र हरेक सेवाप्रदायक कम्पनीका प्रयोगकर्ता पनि बढिरहेको बताउँछन्।
मंसीरदेखि भने इन्टरनेट प्रयोगकर्ता घट्न थालेका छन्। तर, इन्टरनेटको प्रयोगको समय भने कम नभएको पराजुली बताउँछन्। उनी भन्छन्, “इन्टरनेटबाट कार्यालयको काम गर्ने, अनलाइन मिटिङ, लाइभ भिडियो कल, टिकटकको प्रयोग, सिनेमा हेर्ने, यूट्यूब, गुगल तथा सामाजिक सञ्जालमा समय बिताउनेहरुका कारण हरेक महीना प्रयोग समय बढिरहेको छ। बन्दाबन्दीअगाडिको तुलनामा करीब ३० प्रतिशत प्रयोगकर्ता बढेका छन् भने इन्टरनेटको प्रयोग दोब्बर भन्दा बढी भएको अनुमान छ।”
बन्दाबन्दपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै ब्याण्डविथको खपत बढेको छ। आइस्पानका अनुसार बजारमा बलियो उपस्थिति देखाएको वर्ल्ड लिंककै ३५० जीबीपीएस र सुबिसुको १०० जीबीपीएस इन्टरनेट खपत भइरहेको छ। अन्य सेवाप्रदायको पनि इन्टरनेट खपत बढिरहेकाले हरेक महीना व्याण्डविथ खपत २५ प्रतिशतले बढ्दै गएको इन्टरेट व्यवसायी बताउँछन्।
इन्टरनेट खपतको तथ्यांक सम्बन्धित सेवाप्रदायकसँग नै हुन्छ। तर, प्रयोगकर्ताको तथ्यांक भने हरेक महीना नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउनुपर्छ। प्राधिकरणले यस्तो तीन महीनाअगाडिसम्मको तथ्यांक सार्वजनिक समेत गर्छ। उक्त तथ्यांकअनुसार मोबाइल डाटा प्रयोगकर्ता हरेक महीना घटबढ हुने गरे पनि ‘फिक्स्ड इन्टरनेट’ भने चैतदेखि लगातार बढिरहेको छ। यस्तो इन्टरनेट प्रयोगकर्ता साउनमा भने सात हजार ६७३ ले घट्न पुगेका छन्। अन्य महीना सेवाग्राही बढेको तथ्यांकले देखाउँछ।
प्राधिकरणको तथ्यांक अनुसार चैत २०७६ मा विभिन्न सेवाप्रदायकका ४२ लाख ४५ हजार ८५४ इन्टरनेट प्रयोगकर्ता थिए। यस्तो प्रयोगकर्ता वैशाख २०७७ मा दुई हजार ४३० ले बढेर ४२ लाख ४८ हजार २८४ पुगेका थिए। बन्दाबन्दी लम्बिदै गएकाले गएको जेठमा प्रयोगकर्ता ७६ हजारले बढेको देखिन्छ। त्यस्तै असारमा एक लाख ७३ हजारले बढेका छन्। साउनमा सात हजारले घटेको देखिएपनि फेरि भदौमा दुई लाख ८० हजार ९०४ ले बढेको छ। आइस्पानका अध्यक्ष पराजुली असारमा लकडाउन खुकुलो हुँदा ग्राहकले पर्ख र हेरको अवस्थामा बसेको हुँदा साउनमा प्रयोगकर्ता घटेको देखिएको हुनसक्ने बताउँछन्। साउनमा धेरैको नवीकरण गर्नुपर्ने हुनाले पनि प्रयोगकर्ता घटेको हुनसक्ने उनको भनाइ छ।
टेलिकमका डाटा प्रयोगकर्ता सात लाखसम्मले बढे
बन्दाबन्दीपछि मोबाइल इन्टरनेट प्रयोगकर्ता स्मार्ट टेलिकम र एनसेलको तुलनामा नेपाल टेलिकमका धेरै बढेका छन्। प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्ट चैत २०७६ देखि भदौ २०७७ सम्ममा हरेक महीना टेलिकमको मोबाइल डाटा प्रयोगकर्ता बढेको छ। टेलिकमको फाइबर टु दि होम, एडीएसएल, वाइम्याक्स, इभिडोसहितको इन्टरनेट भए पनि मोबाइल डाटालाई मात्रै विश्लेषण गर्दा प्रयोगकर्ता बढेको देखिएको हो।
टेलिकमका टेलिफोन प्रयोगकर्ता बढेसँगै मोबाइल डाटा पनि बढेको तथ्यांकले देखाउँछ। गएको चैतमा मात्र २३ हजार ३७२ डाटा प्रयोगकर्ता बढेपछि कुल ९३ लाख ९२ हजार ८२० प्रयोगकर्ता पुगेको थियो। वैशाखमा १३ हजार ७३५ प्रयोगकर्ता बढे। त्यसैगरी जेठमा १९ हजार ४८१ र असारमा ४४ हजार ६६ ले प्रयोगकर्ता बढे। त्यसैगरी साउनमा टेलिकमका मोबाइल डाटा प्रयोगकर्ता सात लाख ४८ हजार ६३२ ले बढेर एक करोड दुई लाख १८ हजार ७३४ पुगेको छ। तर, भदौमा भने प्रयोगकर्ता एक लाख ९१ हजार ३४७ ले घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी डाटा खपत कुन महीना कति बढ्यो भनेर सिस्टमबाटै हेर्नुपर्ने भए पनि प्याकेज दिएर ग्राहक आकर्षित गर्न थालेपछि भने औषत वृद्धिदर करीब दोब्बरसम्म पुगेको बताउँछन्। थ्रीजीबाट फोरजीमा जाने, नयाँ प्रयोगकर्ताले इन्टरनेट चलाउने र इन्टरनेटका ग्राहकले खपत बढाउने भएकाले डाटा प्रयोग स्वभाविक रूपमै बढ्ने तर्क जोशीको छ।
पछिल्लो समय मोबाइल डाटा प्रयोग बढाउन टेलिकमले प्याकेजतर्फ आकर्षित गर्दै फाइबर इन्टरनेटलाई पनि आक्रामक रूपमा विस्तार गरिरहेको छ। ल्याण्डलाइन फोनलाई फाइबरमा रूपान्तरण गर्न थालेपछि इन्टरनेटको गति राम्रो भएको टेलिकमको दाबी छ। एडीएसएलको तुलनामा यो गुणस्तरीय हुने हुँदा महामारीपछि इन्टरनेटको प्रयोग बढाउन फाइबर इन्टरनेटले सहयोग पुर्याएको टेलिकमले जनाएको छ। बन्दाबन्दीपछि प्रत्यक्ष भेटघाटलाई सीमित गरेर अनलाइनको प्रयोग गर्ने चलन बढेको छ। निजी क्षेत्रका कतिपय कार्यालय अझै ‘वर्क फ्रम होम’ मै छन्। विद्यालयको कक्षा अनलाइनबाटै भइरहेको छ। त्यसकारण सेवाग्राहीको इन्टरनेटप्रतिको आकर्षण बढेको देखिन्छ।
प्राधिकरणको तथ्यांक अनुसार एनसेलका डाटा प्रयोगकर्ता बन्दाबन्दी यता जेठमा ९४ हजार २३४ र असारमा एक लाख ६७ हजार २७३ ले बढेको देखिन्छ। तर, अरु महीना घटेको छ। चैत २०७६ मा ७५७४ प्रयोगकर्ता घटेर ६७ लाख ४१ हजार १५० झरेको छ। वैशाख २०७७ मा दुई लाख ९२ हजार १८९ प्रयोगकर्ता घटेका छन्। त्यस्तै गएको साउनमा ६२ हजार ७७२ र भदौमा एक लाख ३८ हजार ८७३ प्रयोगकर्ता घटेका छन्। भदौमा एनसेलका डाटा प्रयोगकर्ता ६५ लाख आठ हजार ७४३ थिए।
एनसेलको डाटा प्रयोग १२ करोड जीबी पुग्यो
एनसेलको डाटा प्रयोगकर्ता थपघट भइरहे पनि डाटा प्रयोग भने हरेक महीना बढिरहेको छ। त्यहीकारण एनसेलको डाटा सन् २०२० को नौ महीनामै उल्लेख्य रुपमा बढेको छ। एनसेलका अनुसार बन्दाबन्दीपछि मोबाइल डाटा प्रयोगकर्ता अस्वाभाविक रूपमै बढेको छ। एनसेलले जारी गरेको सन् २०२० को त्रैमासिक प्रतिवेदन अनुसार डाटा प्रयोग सन् २०२० को नौ महीनामा १२ करोड ३७ लाख जीबी पुगेको छ। सन् २०१९को एक वर्षमा जम्मा नौ करोड चार लाख जीबी मात्रै डाटा प्रयोग थियो।
एक्जिएटाले एनसेलको डाटा प्रयोगकर्तामा उल्लेख गरेको तथ्यांक अनुसार सन् २०१९ को पहिलो त्रैमासिक अर्थात १९ चैतसम्ममा प्रतिव्यक्ति मासिक एक हजार ३१२ एमबी मोबाइल डाटा प्रयोग भएको छ। जून २०२० (१६ असार २०७७) सम्ममा एक हजार ९३१ एमबी प्रति व्यक्ति डाटा खपत भएको छ। सेप्टेम्बर २०२० (१४ असोज २०७७) सम्ममा प्रतिव्यक्ति प्रति महीना दुई ३१२ एमबी डाटा प्रयोग भएको छ।
अहिले विभिन्न सेवाप्रदायबाट सेवा लिने टेलिफोन प्रयोगकर्ता तीन करोड ७६ लाख ४३ हजारमध्ये मोबाइलको हिस्सा ९८ प्रतिशत छ। बाँकी दुई प्रतिशत मात्रै फिक्सलाइन टेलिफोनको छ। यस्तै कुल इन्टरनेट प्रयोगकर्ता दुई करोड २८ लाख ७९ हजारमध्ये मोबाइल डाटा प्रयोगकर्ता ७४ प्रतिशत छन्। बाँकी २६ प्रतिशत मात्रै ताररहित र तारसहितको इन्टरनेट प्रयोगकर्ता छन्।
डाटा प्रयोगको ग्राफ वार्षिक रूपमा नै उकालो लाग्दै गएको एनसेलले जनाएको छ। सन् २०१५ मा एनसेलको प्रयोगकर्ताले मोबाइल डाटा प्रति महीना १०६ एमबी प्रयोग गर्थे। सन् २०१६ मा १७७ एमबी, सन् २०१८ मा ७०२ एमबी र सन् २०१९ मा प्रतिव्यक्ति प्रतिमहीना ९६३ एमबी डाटा प्रयोग भएको छ। सन् २०२० को नौ महीनामा एक हजार ८५२ एमबी प्रतिव्यक्ति प्रतिमहीना डाटा खपत भइरहेको छ।
स्मार्टको तथ्यांक स्थिर
बन्दाबन्दीपछि पनि उल्लेख्य रुपमा ग्राहक तथा डाटा प्रयोग बढाउन नसकेको दूरसञ्चार कम्पनीको रुपमा स्मार्ट देखिएको छ। टेलिकम र एनसेलपछिको तेस्रो प्रतिस्पर्धी कम्पनी भए पनि यसको डाटा प्रयोगकर्ता एक लाख ८२ हजार ५४५ मात्रै छन्। बन्दाबन्दीपछि अन्य सेवा प्रदायकका डाटा प्रयोगकर्ता उल्लेख रुपमा बढेको देखिए पनि स्मार्ट टेलिकमको डाटा प्रयोगकर्ता भने चैत २०७६ देखि असार २०७७ सम्ममा हरेक महीना घटेको मात्रै देखिन्छ। साउनमा २० हजार ६०३ प्रयोगकर्ता बढेको र भदौमा स्थिर रहेको देखिन्छ।
निष्क्रिय प्रयोगकर्ताले तथ्यांक थपघट
दूरसञ्चार प्राधिकरणले निष्क्रिय प्रयोगकर्ताका कारण हरेक महीनामा सार्वजनिक हुने संख्या घटबढ हुने जनाएको छ। प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सबै सेवाप्रदायकले ६ महीना प्रयोग नभएको सिमलाई निष्क्रिय बनाउँछन्। त्यस्ता सिम एक वर्षमा खारेजै गर्नुपर्ने व्यवस्था छ। प्रयोग नभएका सीमकार्ड एक वर्षपछि नयाँ प्रयोगकर्तालाई उपयोग गर्न दिने व्यवस्था छ।
यही व्यवस्थाका कारण कुनै महीना टेलिफोन प्रयोगकर्ता बढ्ने र कुनै महीना घट्ने हुन्छ। टेलिफोन प्रयोगकर्ता बढ्दा डाटा प्रयोगकर्ता पनि बढ्ने र घट्दा घट्ने देखिएको छ। त्यस्तै ग्राहकको रुचिमा डाटा प्रयोग हुने भएकाले कुनै महीना बढ्ने र कुनै महीना घट्ने गरेको अर्याल बताउँछन्। हाल टेलिफोन प्रयोगकर्तामा सबैभन्दा बढी हिस्सा मोबाइलको छ।
अहिले विभिन्न सेवाप्रदायबाट सेवा लिने टेलिफोन प्रयोगकर्ता तीन करोड ७६ लाख ४३ हजारमध्ये मोबाइलको हिस्सा ९८ प्रतिशत छ। बाँकी दुई प्रतिशत मात्रै फिक्सलाइन टेलिफोनको छ। यस्तै कुल इन्टरनेट प्रयोगकर्ता दुई करोड २८ लाख ७९ हजारमध्ये मोबाइल डाटा प्रयोगकर्ता ७४ प्रतिशत छन्। बाँकी २६ प्रतिशत मात्रै ताररहित र तारसहितको इन्टरनेट प्रयोगकर्ता छन्।